कनकाईः करोडौंका भौतिक निर्माण सम्पन्न

0
622

विनोद पाण्डे,
चारपाने।

झापाको कनकाई नगरपालिकामा एकै दिन २ घण्टाको समय अवधिभित्र चारवटा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार विहान ८ः३०देखि १०ः३० बजेको समयमा नगरपालिकाको प्रशासनिक भवन, विद्युतीय कर भुक्तानी सेवा, खुल्ला व्यायामशालाको उद्घाटन र कनकाई बन्द निषेधित अंकित प्रतिमा अनावरण गरिएको हो । कनकाई नगरपालिकाको दुई तले प्रशासनिक भवन, विद्युतीय कर भुक्तानी सेवा, सुरुङ्गा बजारमा निर्माण गरिएको बन्द निषेधित स्तम्भ, खुल्ला व्यायामशालाको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका छन् ।

प्रशासनिक भवन उद्घाटन कार्यक्रममा नगरपालिकाको भवनको लागि ६ कठ्ठा १० धुर जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने दाताहरुमा कनकाई–१ निवासी मातृकाप्रसाद, अञ्जना, उमाप्रसाद, सीतादेवी, भवानीशंकर, दीपा, हेमन्त, शान्ता, प्रशान्त, आरजु, रेनुशंकर, गंगा, कोमल, ऋचा, पारस, सन्जना सिटौला रहेका छन् ।

त्यसैगरी २ कठ्ठा जग्गा दान गर्ने स्थानीय ओली परिवारका दाताहरु शरदकुमार, मेनुका, शान्ता, झलेन्द्रकुमार, उर्मिला, शिला, दिव्या ओलीलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । दाताहरुलाई नगरप्रमुख पोखरेल, उप–प्रमुख मञ्जु प्रसाईं, कार्यकारी प्रमुख मोहनप्रसाद न्यौपानेलगायतले सम्मान गरेका थिए ।

त्यसैगरी मेयर पोखरेलले नगरपालिकाले शुरु गरेको स्मार्ट सेवा अन्तर्गत विद्युतीय कर भुक्तानी सेवाको पनि शुभारम्भ भएको घोषणा गरेका थिए । आगामी दिनमा नगरका दैनिक कामकाज पूर्ण प्रविधिमैत्री बन्नुपर्नेमा पोखरेलले जोड दिए । ५ वटा विभिन्न एप प्रयोग गर्न सकिने विद्युतीय कर भूक्तानी सेवा नेपालमै पहिलोपटक स्थानीय सरकारले प्रयोगमा ल्याउने कनकाई नगरपालिका पहिलो बनेको पालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले दावी गरेका छन् ।

विभिन्न कालखण्डमा राजनीतिक आन्दोल, हड्तालको चपेटामा देश नै परेको बेला झापाको सुरुङ्गामा भने स्थानीय नागरिक र दलका नेताको एकता र समझदारीमा सुरुङ्गा बजारलाई बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणाका कारण सुरुङ्गाको परिचय देशव्यापी बन्न पुगेको छ । बन्द निषेधित क्षेत्र कनकाईको परिचय बनेकोले आगामी दिनमा पनि अभियानलार्ई निरन्तरता दिने र इतिहास राख्ने उद्देश्यले सुरुङ्गा बजार पश्चिम बस बिसौनी दक्षिणमा कनकाई बन्द निषेधित क्षेत्रको संकेत स्वरुप एउटै ढुङ्गाको ६ फिट भन्दा अग्लो स्तम्भ बनाइएको छ । विगत दुई बर्षदेखि बनाउन शुरु गरिएको स्तम्भ तयार भएकाले नगर प्रमुखले अनावरण गरेका थिए । त्यसैगरी स्तम्भ परिसरमा खुल्ला व्यायामशालाको पनि नगर प्रमुख पोखरेलले उद्घाटन गरेका छन् ।

स्तम्भ र व्यायामशाला निर्माणको लागि नगरपालिकाले छुट्टै समिति बनाएको थियो । उक्त समितिको अध्यक्षमा मौसम श्रेष्ठ, सचिव नमिता बस्नेत काफ्ले, कोषाध्यक्ष राधिका ओली कडरिया, सदस्यहरुमा अर्जुनकुमार बिमली, मिलन खरेल, ऋषि राई र गणेशप्रसाद पोखरेल रहेका थिए ।

बन्द निषेधित स्तम्भको परिकल्पना र कलाकारिता स्थानीय मूर्तिकार हिम्मत नेम्वाङ्ले गरेका हुन् । प्रतिमा राख्नको लागि इञ्जिनियरिङको काम इञ्जिनियर विशाल थेवेले गरेका हुन् । विभिन्न श्रोत, आन्तरिक श्रोतबाट नगरपालिकाको प्रशासनिक भवनमा ८ करोड २६ लाख २० हजार, खुल्ला व्यायामशालामा १० लाख र बन्द निषेधित प्रतिमाको फाउण्डेशनसहित १२ लाख ३१ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

नगरपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा जग्गादाताहरुको तर्फबाट लक्ष्मीप्रसाद ओली, राप्रपा कनकाई नगर सचिव भूपेन्द्र दाहाल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, विवेकशील साझा पार्टीका कनकाई नगर अध्यक्ष भीम अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नगरका प्रवक्ता गोविन्द पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here