संगीता उप्रेती,
सुरुङ्गा ।

कनकाई नगरपालिकामा जनमतका हिसाबले तेस्रो शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कनकाई नगरपालिका प्रमुखका लागि तीन जना आकांक्षी देखिएका छन् ।
आगामी २०७९ बैशाख ३०मा हुने तय भएको चुनावका लागि राप्रपाबाट मेयर पदमा केशवप्रसाद ओझा, ज्योतिकुमार उप्रेती र भूपेन्द्र दाहालले दावी गरेका छन् ।
ओझा विद्यार्थीकालदेखि नै पञ्चायत समर्थकका रूपमा क्रियाशील भई राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्ला नेता हुँदै हाल राप्रपाका जिल्ला अध्यक्षको रूपमा क्रियाशील छन् । तीन दशक बढी शिक्षण पेशामा रहँदा एक उत्तम प्रधानाध्यापकको भूमिका निर्वाह गरेका ओझा कनकाई नगर र जिल्लाकै प्रभावशाली राप्रपा नेता मानिन्छन् । उनले लामो समयसम्म कनकाई–८ लक्ष्मीपुरस्थित हिमाली माविमा प्रधानाध्यापकको रुपमा नेतृत्व सम्हालेका थिए । ओेझा व्यवहारकुशल, राजनीतिमा प्रतिकूल परिस्थितिका बीच पनि काम गर्ने उनको बानी छ ।
उप्रेती २०६४ सालदेखि राप्रपा अभियानमा सामेल भएका हुन् । उनी कनकाई खेलकुद प्रतिष्ठान (कासा) का संस्थापक अध्यक्ष, ज्ञानज्योति युवा क्लबका अध्यक्ष लगायतका जिम्मेवारीमा रही समाजसेवाको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन् । हाल उनी कनकाई नगरको अध्यक्षको रूपमा क्रियाशील छन् ।
त्यस्तै गणित र अर्थशास्त्रमा स्नातक दाहाल पञ्चायत राजनीतिमा कनकाई क्षेत्रमा अग्रणी मानिने नेता स्व. विष्णुप्रसाद दाहालका छोरा हुन् । डेढ दशकभन्दा बढी दुबईको बहुर्राष्ट्रिय कम्पनीमा कामको अनुभव संगालिसकेका दाहालले कामको सिलसिलामा आधा दर्जनभन्दा बढी मुलुकको भ्रमण गरिसकेका छन् । कनकाई नगरमा युवाहरूमाझ राम्रो छवि बनाएका दाहाल आफ्नै मातृभूमिको सेवा गर्ने उद्देश्य बोकी स्वदेश फर्केपछि पूर्णकालीन भएर राजनीतिमा होमिएका छन् ।
उनी राप्रपाको संगठन विस्तारमा अहोरात्र खटिरहेका छन् । राप्रपा कनकाईबाट आगामी निर्वाचनमा सम्भव भएसम्म ४७ वटै पदमा उम्मेदवारी दिने र वैकल्पिक शक्तिको रूपमा पार्टीलाई स्थापित गर्ने कनकाई नगर सचिव दाहालले बताए । हाल राप्रपाप्रति जनताको अपार समर्थन बढिरहेको र राप्रपामा राजेन्द्र लिङ्देनको नेतृत्व आएपछि जनतामा विश्वास जागृत भएको उनले बताए ।





























