झापा,
नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येको झापाको पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको सुरुङगा गाविस र त्यहीसँग जोडिएको घैलाडुब्बा गाविसलाई मिलाएर स्थानीय तहको पुनर्संरचनाका क्रममा २०७१ साल बैशाख २५ गतेको नेपाल सरकारको निर्णय अनुसार कनकाई नगरपालिका बनेको हो । नेपालको पूर्वी क्षेत्रको प्रसिद्ध धार्मिक महत्त्व बोकेको कनकाई नदीको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार २५,५५७ पुरुष र २७,५३१ महिला गरी हाल ५३,०८८ जनसंख्या रहेको यो नगर ७९.१ वर्ग किमिमा फैलिएको छ । यो नेपालकै पहिलो विद्युत चुहावटमुक्त र बन्द निषेधित नगरपालिका हो । 


लामो समयसम्म जनप्रतिनिधि विहीन अवस्थामा कर्मचारी प्रशासनद्वारा सञ्चालन भइरहेको हुनाले स्थानीय विकास र रोजगारीको अवसर निर्माणमा जनस्तरको चासो र स्थानीय सरकारको तालमेलमा ठूलो खाडल परिसकेको अवस्थामा २०७४ साल असार २१ गते निर्वाचित जनप्रतिनिधिहरूले कनकाई नगरको नेतृत्व सम्हाल्न सुरु गरेपछि विकास निर्माणले गति लिन सकेको हो । २०७० सालमा दोस्रो पटक निर्वाचित संविधानसभाले २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गरेपछि प्रथम पटक निर्वाचित भएको राजेन्द्रकुमार पोखरेल नेतृत्वको स्थानीय सरकारले नियम, विनियम, नजीरहरूको अभावमा शून्यताको अवस्थाबाट काम शुरु गर्नुपरेको थियो । जनअपेक्षा धेरै थियो, तर उपलब्ध न्यून आर्थिक स्रोत साधनको जगमा काम गर्न अप्ठेरो थियो । जनताको आशा अनुरूप जनप्रतिनिधिहरूलाई काम गर्न सहज नभएको, तर नयाँ नीति, कानुन र कार्यविधि बनाउँदै विकास निर्माणलाई अघि बढाइएको कनकाई नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक नबलकिशोर दत्तले बताए । उनले भने, ‘प्रतिकुल अवस्थामा पनि हामी जनप्रतिनिधिले कार्यसम्पादन गर्दै नगरलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याएका छौं । वित्तीय अनुशासन, राजश्व परिचालन र पूर्वाधार विकासमा लगानीको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेका छौं ।’ उत्कृष्ट कार्यसम्पादन गरे वापत कनकाई नगरपालिकाले नेपाल नगरपालिका संघबाट उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिक साधारणसभाको अवसरमा देशका उत्कृष्ट तीन वटा नगरपालिका मध्ये कनकाई नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै पुरस्कृत गरिएको छ । नेपाल नगरपालिका संघले गरेको मुल्याङ्कनको आधारमा कनकाईलाई उत्कृष्ट नगरपालिकाका रूपमा ठह¥याइको थियो ।
कृषिमा उन्नति पुरानै शैलीले मात्र उन्नति सम्भव छैन भनी कृषि क्षेत्रमा आमूल परिवर्तनका लागि कनकाई नगरले काम अघि बढाएको छ । युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालेको हो । यसका लागि हरेक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाउने कार्यलार्ई अगाडि बढाएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । नगरपालिकाले आलु, मकै, गहुँ, धान, कोदो, फापर, फलफूल तथा तरकारी, माछा, मौरी तथा पशुपक्षीपालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने भएको हो । यस नगरका युवा स्रोतसाधनको अभावका कारण आफ्नो खेतीयोग्य जमिनलाई बाँझो राखेर खाडी मुलुकमा आफ्नो श्रम बेच्न बाध्य भएको यथार्थलाई मध्यनजर गर्दै युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख पोखरेलले बताए । पोखरेलले भने, ‘स्वदेशमै आत्मनिर्भर हुनसक्ने एक मात्र विकल्प कृषि क्षेत्र नै हो, त्यसैले कृषि क्षेत्रको विकास एवं विस्तारका लागि कृषकसँगको साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छ ।’

नगरका सबै वडामा खेतीयोग्य जमिनको माटो परीक्षण गरी अघिल्ला वर्षदेखि नै कृषि चुन, कृषिजन्य विभिन्न किसिमका औजार, बीउबिजनसमेत कनकाईका कृषक समूहलाई वितरण गर्दै आएको बताइएको छ । त्यस्तै पशु स्वास्थ्य बीमा, प्राङ्गारिक कृषि उत्पादनमा जोड, उत्पादन भएका कृषिजन्य सामग्रीको बजारीकरणका लागि समेत कार्यक्रम अघि बढाएको नगरप्रमुख पोखरेलले प्रष्ट पारे । बजारमा बिक्री हुन नसकेका कृषकका उत्पादनलाई उचित मूल्य निर्धारण गरेर नगरपालिकाले नै खरिद गर्ने गरी कार्ययोजनासमेत निर्माण गरेको बताइएको छ । नगरपालिकाले कनकाई–१ मा ६० टनसम्म सामग्री अटाउने शीतघर (कोल्डस्टोर) सञ्चालनमा ल्याएको छ । यस किसिमका शीतघरलाई क्रमिक रूपले अन्य वडामा समेत सञ्चालनमा ल्याउने योजना रहेको नगर प्रमुख पोखरेलले बताए । त्यस्तै बेरोजगार युवालाई स्वरोजगार बनाउने काममा बिनाधितो ऋण लगानी गरी बैंक तथा वित्तीय संस्थासँगको सहकार्यका लागि नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरिएको छ । नगरको विभिन्न वडामा रहेका कृषि समूह, व्यावसायिक तरकारी खेती गर्ने साथै सामूहिक खेती गर्ने कृषक र टोल विकास समितिबाट प्रतिनिधित्व गरेर आउने विभिन्न वडाका कृषक समूहलाई अनुदानमा विभिन्न सुविधा दिइएको छ ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफू चढ्ने गरेको गाडी समेत प्रहरीलाई प्रदान गरेका छन् । देशका अन्य पालिकाहरुमा नगरप्रमुख, उपप्रमुख र वार्ड अध्यक्षहरुले महँगो मूल्यका गाडी सुविधा लिइरहेको समाचार आइरहेको बेला कनकाई नगरका मेयर पोखरेलले भने आफूले चढ्ने गाडी नै प्रहरीलाई दिएका छन् । मेयर पोखरेलले नगरको गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकम समेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए ।
कनकाई नगरपालिकाले कनकाई घाटमा विद्युत् शवदाह गृह निर्माण गर्न पहल शुरु गरेको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पु¥याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगर उपप्रमुख मञ्जु प्रसाईंले बताइन् । कनकाई घाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै नगरपालिकाका तर्फबाट पहिलो चरणमा १० रुपैयाँ लाख उपलब्ध गराउने र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन नगरपालिकाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
शिक्षा क्षेत्रमा कनकाई नगरपालिकाले कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने कार्ययोजना अघि सारेको छ । नगरलाई शैक्षिक गन्तव्य बनाउन र सेवाक्षेत्रभित्रका विद्यार्थीहरूलाई नगरभित्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न अभिभावक, शिक्षक, शिक्षासेवी, बुद्धिजीवी, जनप्रतिनिधि सबै सरोकारवालाले योजनाबद्ध रुपमा क्रियाशील बनाउन नगरले विशेष कार्ययोजना अघि बढाएको छ ।
६ कठ्ठा १० धुर जग्गामा यो पाँच वर्षमा नगरपालिकाको २ तले प्रशासनिक भवन निर्माण गरिएको छ भने विद्युतीय कर भुक्तानी सेवा, र कनकाई बन्द निषेधित अंकित प्रतिमा अनावरण गरिएको छ । विभिन्न कालखण्डमा राजनीतिक आन्दोलन र हड्तालको चरम चपेटामा देश नै परेको बेला झापाको सुरुङ्गामा भने स्थानीय नागरिक र दलका नेताको एकता र समझदारीमा कनकाई नगरलाई बन्द निषेधित क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणाका कारण कनकाई नगरको परिचय देशव्यापी बन्न पुगेको छ । बन्द निषेधित क्षेत्र कनकाईको एक परिचय बनेकोले आगामी दिनमा पनि यो बन्द निषेधित अभियानलार्ई निरन्तरता दिने र इतिहास राख्ने उदेश्यले बन्द निषेधित क्षेत्रको सांकेतिक एउटै ढुङगाको ६ फिट भन्दा अग्लो स्तम्भ बनाइएको छ । विभिन्न बाह्य तथा आन्तरिक स्रोतबाट नगरपालिकाको प्रशासनिक भवनमा ८ करोड २६ लाख २० हजार, खुल्ला व्यामशालामा १० लाख र बन्द निषेधित प्रतिमाको फाउण्डेशनसहित १२ लाख ३१ हजार रुपैंया बजेट खर्च भएको कनकाई नगरपालिकाका लेखा कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।
कनकाई नगरपालिकामा नगर प्रमुख पोखरेलकै पहलमा देशकै पहिलो मजदुरको सहकारी खुलेको छ । मजदुरलाई साह्रोगाह्रो पर्दा मद्दत गर्ने तथा मजदुरको सीप विकास तथा छोराछोरीको उच्च शिक्षा लगायातको काम गर्नका लागि मजदुर मात्रैको सहकारी कनकाई श्रमिक बहुउद्देश्यीय सहकारी लिमिटेड खुलेको हो । सहकारीका लागि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले १ बर्षको सेवा सुविधा वापतको रकम ३ लाख १६ हजार रुपैँया र नगरपालिकाबाट मजदुरका लागि थप २२ लाख रुपैँया समेत मजदुर हित कोषलाई प्रदान भएको छ ।
चुनावताका नगरलाई सूचनाप्रविधिमैत्री बनाउने प्रतिबद्धता गरे अनुरुप विद्युतीय हाजिरीलाई क्रमशः सरकारी र गैरसरकारी संस्थामा लागू गरिएको र हाल कनकाई नगरका धेरैजसो निजी तथा संस्थागत विद्यालयहरूले ईहाजिरी लागू गरिसकेका छन् । शिक्षकको कार्यसम्पादनको मूल्यांकनमा शुद्धता, कागजविहीन हाजिरी पद्धति र समय गणनामा वैज्ञानिकता विद्युतीय हाजिरीका फाइदाहरु रहेका छन् । विगतको तुलनामा विद्यालयका कर्मचारी, शिक्षक तथा प्रधानाध्यापकहरुमा समयको पालना र व्यवस्थापनमा बढी जागरुकता र नियमिततामा वृद्धि भएको स्वयम् प्रधानाध्यापकहरुकै अनुभव रहेको छ । यो अवधिमा कनकाई नगरपालिकाको सूरुको अवस्थामा नगरमा नियम कानुन सामान्य अवस्थामा रहेकोमा कनकाई नगरपालिकाको कार्य सम्पादन चुस्त दुरुस्त बनाउन कानुन तथा कार्यविधि निर्माण गरेको छ । यो अवधिमा ऐन ११ वटा, कार्यविधि, २७, निर्देशिका ३, नियमावली २, कार्यादेश १ र आचार संहिता १ गरी गरी जम्मा ४५ वटा नियम कानुन निर्माण गरेको कनकाई नगर कार्यपालिका सदस्य सुनिता खरेलले जानकारी दिइन् ।
यसै गरी नगरले सुकुम्बासी तथा अव्यवस्थित वसोवासको व्यवस्थापन गर्न तथ्याङ्क सङ्कलन गरी नाप नक्सा समेत अन्तिम चरणमा रहेको नगर परिषद् सदस्य बलराम राई (प्रताप) ले जानकारी दिए । भौतिक पूर्वाधार विकासतर्फ ३९.५ कि.मी कालो पत्रे सडक बनाइएको छ । १० कि.मी. सडकमा ब्लक बिछ्याउने कार्य गरिएको छ र उच्च स्तरीय ग्राभेल गरी हिले तथा धुले सडकलाई विस्थापित गरिएको छ मेयर पोखरेलले जानकारी दिए । उज्यालो नगरीको कार्यक्रम अन्तरगत सडक बत्तीको लागि स्मार्टलाईट तथा मासलाईट सञ्चालन गरी आवश्यक पोल, तार र ट्रान्फरमरको वितरण तथा व्यवस्थापन गरिएको छ । यसका लागि समाजसेवी श्यामसुन्दर ओलीको विशेष भूमिका रहेको छ । कनकाई माई, सुरुङ्गा, सन्काहा, बिरिङ, घाग्रा, बाघे खोलामा तटवन्धन निर्माण, अधिकांश स्थानमा पुल, कल्र्भट, कजवे, ३ वटा झालुङ्गे पुलको निर्माण गरिएको छ । नगरपालिकाको प्रशासनिक भवनको निर्माण गरी सचालनमा रहेको साथै७ वटा वडा कार्यालय भवन तथा आधारभुत स्वास्थ्य केन्द्रको निमार्ण गरिएको छ । हाल हेफर नेपाल, अभियान नेपाल तथा कनकाई नगरपालिका वीच भएको सम्झौता अनुसार कृषि तथा पशुपक्षी परियोजना सञ्चालनमा छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ९७४ युवाहरू लाभान्वित भएका छन् । वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा पनि राम्रो काम भएको छ । कनकाई विर्ता अर्जुन नविकरणीय ऊर्जाद्वारा फोहोर सङ्कलनबाट ग्याँस उत्पादन गरी पाईपलाईनबाट १२ सय घरधुरीलाई ग्याँस तथा प्रांगारिक मल उत्पादन कार्य अन्तिम चरणमा रहेको छ ।
पाँच वर्षे कार्यकालमा गरिएका विकास निर्माण, स्वास्थ्य, शिक्षा, पूर्वाधार, खानेपानी, खेलकुद, लक्षितवर्ग, कृषि तथा पशुपक्षी, उद्यमशीलता, वातावरण तथा जैविक विविधता, धार्मिक तथा पर्यापर्यटन आदि क्षेत्रमा कार्य सम्पादनका आधारमा कनकाई नगर क्रमशः विकासको बाटोमा अग्रसर भएको मान्न सकिन्छ । कनकाई नगरलाई सुन्दर, शान्त, सभ्य र समृद्ध बनाउन अनुशासित भएर एकमना एकता र उत्साहका साथ अघि बढ्ने जनप्रतिनिधिहरूको साझा प्रतिबद्धता रहेको छ । कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद लगायतलाई हेर्दा कनकाई नगरका जनप्रतिनिधिहरू सफल भएको मान्न सकिन्छ ।
प्रस्तुति ः तीर्थराज खरेल































