बिर्तामोड, असोज २३ । लागू औषध ओसार पसारमा संलग्न रहेको ठूलो गिरोहलाई प्रहरीले झापाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुई भारतीय नागरिक सहित ६ जना रहेका छन् । उनीहरुलाई लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाले लागू औषध सहित पक्राउ गरेको हो । लागू औषध सहितपक्राउ पर्नेमा भारत राजस्थान निवासी २० वर्षीय राहुलकुमार अग्रवाल र अरुणाचल भारतकै करम मोसिन रहेका छन् ।
उनीहरुलाई प्रहरीले काँकरभिट्टाबाट भारतीय नम्वरको मोटरसाइकलमा लागू औषध लिएर नेपाल आउँदै गर्दा पक्राउ गरेको थियो । त्यस्तै, लागू औषध ओसारपसारमा संलग्न रहेका मोरङ लेटाङ – ४ निवासी विशाल थापा, दमक – ११ का २५ वर्षीय प्रकाश राई, सोही ठाउँ निवासी १७ वर्षीय पुरण सुब्बा र बिर्तामोड नगरपालिका – ६ निवासी अफताफ आलमलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागू औषध ओसारपसार नियन्त्रण व्यूरो काँकरभिट्टाका प्रमुख धनप्रसाद शिवाकोटीको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लुपिजेसिक, डाइजापम, फिनारागम, ब्राउन सुगर, नाइट्रोजन चक्की, गाँजा बरामद गरेको छ । पक्राउ गरिएका ६ जनालाई नै प्रहरीले लागू औषध ओसारपसार ऐन अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कार्वाही शुरु गरेको लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाका प्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।