अर्जुनधारा ।

झापाको अर्जुनधारा–२स्थित लाप्चेटारमा नवनिर्मित् अमरदिल स्मृति धाम तथा आश्रमको शनिबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।
जोसमनी धर्मगुरु खबरबहादुर समाल मगर “अमरदिल”को स्मृतिमा गुरु अमरदिलको परिवारबाट निर्माण गरिएको उक्त आश्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।
गुरु अमरदिलका छोराहरु भेषराज, छत्र, राजु र महेश समाल मगरको संयुक्त लगानी ३२ लाख रुपैयाँको लागतमा दुई कठ्ठा जग्गामा नवनिर्मित् आश्रममा गुरु अमरदिलको समाधिस्थलसँगै शिवपार्वती, गणेश, सरस्वती, बुद्ध, नन्दीलगायतको मूर्तिहरु रहेका छन् ।
आश्रम उद्घाटन समारोहका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख गुरु सुवालदिप समाल मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा गुरु अमरदिलको पूर्ण कदको शालिकको अनावरण तथा जोसमनी धर्म सम्बन्धी पुस्तक “जोसमनी दर्पण”को पनि विमोचन गरिएको थियो ।

ध्यान गरेको अवस्थामा रहेको गुरु अमरदिलको शालिकको प्रमुख अतिथि रानाले अनावरण गरेका थिए । यता “जोसमनी दर्पण” पुस्तकको कार्यक्रमका विशेष अतिथि प्रदेश नं.१का कृषि मन्त्री झलकसिंह दर्लामीले विमोचन गरेका थिए ।
त्यसैगरी कार्यक्रममा विशेष पूजाअर्चनासँगै यज्ञ आदि कार्य सम्पन्न भएको आश्रम उद्घाटन समारोहका सदस्य शिव समाल मगरले जानकारी दिए । गुरुका सुपुत्र एवम् उद्घाटन समारोहका सदस्य राजु समाल मगरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य शिव समाल मगरले गरेका थिए ।
जोसमनी धर्मावलम्वीहरुको आखडा अर्थात्(मुख्य धार्मिक तीर्थस्थल) छिमेकी जिल्ला इलामको माई नगरपालिका–५स्थित सानो बर्दुपछी अर्जुनधाराको लाप्चेटारमा पनि आश्रमसहितको धाम निर्माण हुनु सकारात्मक भएको स्थानीय रुपनारायण समाल मगरले बताए ।






























