सामुहिक सचेतना चाहियो

0
403

मुलुक अहिले निर्वाचनमय हुन थालेको छ । स्थानीय तहको निर्वाचन आउन अब तीन हप्ता मात्र बाँकी रहँदा सबै राजनीतिक दलहरुसँगै निर्वाचन आयोगले पनि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम पूरा गरिसकेको छ । निर्वाचन सम्बन्धी गतिविधि र कार्यक्रम अब प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भएको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । यतिखेर राजनीतिक दलहरु उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारीमा छन् । यस्तो बेला आयोगले सार्वजनिक गरेको आचारसंहिता कार्यान्वयनमा छ÷छैन त्यसको अनुगमन पनि त्यत्तिकै जरुरी छ । देशैभर एकैदिन हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृत नियुक्त भइसकेका छन् भने यही बिहीबारदेखि निर्वाचन कार्यालय सञ्चालन हुँदैछन् ।

निर्वाचनको मूल उद्देश्य मतदाताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु हो । त्यसका लागि स्वतन्त्र वातावरण चाहिन्छ । मतदानका लागि दवाव, प्रभाव, भय र प्रलोभन दिइनुहुन्न । तर, उम्मेदवार प्रभावकै लागि विभिन्न उपाय गर्न पछि पर्दैनन् । सिद्धान्तले, कार्यक्रमले, योजना र प्रतिबद्धताले मतदातालाई आकर्षित गर्न पाइन्छ, तर तडकभडक देखाएर र अनुचित प्रभावको सहारामा मतदातालाई आफ्नो पक्षमा पार्ने अनैतिक क्रियाकलाप गर्न पाइँदैन । हामीकहाँ राजनीतिमा इमान्दारी, आदर्श, निष्ठा र नैतिकता स्खलनको क्रममा छ । पैसाको खोलो बगाएर चुनाव जित्ने दाउमा दल र नेताहरु लाग्ने गरेका छन् । यस्तो अनैतिक कार्यलाई रोक्ने भनेको आचारसंहिताले हो, जसको अनुमगन सरोकारवाला सबैले गर्नुपर्छ ।

भड्किलो प्रदर्शन, तामझाम र आर्थिक लाभको मोहमा मतदातालाई पार्ने उम्मेदवारहरुसँग सचेत रहनु पर्दछ । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहीत बनाउन आयोग मात्रै होइन राजनीतिक दलहरु, नेताहरु, नागरिक समाज र आम मतदाता सचेत हुनै पर्दछ । उम्मेदवारले एकअर्कालाई मर्यादा बिर्सिएर गर्ने टिप्पणी, आलोचना र हिलो छ्याप्ने गलत संस्कारका विरुद्ध आयोगले कडा कारवाही गर्नुपर्छ । आचारसंहिता पालना नगर्नेहरुका विरुद्ध उम्मेदवारी रद्द गर्नेसम्मको तयारी गरेको आयोगलाई यो निर्वाचनले आउने प्रदेश र संसदीय निर्वाचनको लागि समेत सहज वातावरण बनाउने छ । तर, त्यसका लागि सामुहिक इच्छाशक्ति, जागरुकता र इमान्दारिता चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here