छविराज ढकाल / पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज शनिबार निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक गरेको छ ।
नगर कार्यालय परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आयोजित बैठकमा आगामी बैशाख-३० गते हुन गईरहेको स्थानीय तहको चुनावमा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न- गराउन सबै राजनीतिक दलहरुको सहयोग पुर्याउन अनुरोध गरिएको थियो ।
धाधलीरहित तवरले निर्वाचन सम्पन्न गर्नका निम्ति राजनीतिक दलहरु र तिनका उम्मेदवारहरूले पालना गर्नु पर्ने आवश्यक आचारसंहिता बारेमा समेत जानकारी गराईएको थियो ।बैठकमा आउँदो बैशाख -११ र १२ गते हुने उम्मेदवारी मनोनयन दर्ताका लागि २ दिनको समयावधि उपलब्ध गराइएको निर्वाचन समितिका निर्वाचन अधिकृत खगेन्द्र सुवेदीले बताउनुभयो ।
पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा र भयरहित वातावरणमा निर्वाचन सम्पन्न पथरीशनिश्चरे नगरपालिकाका लागि खटाइएका निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अध्यक्षतामा भएको बैठकमा नगरमा अस्तित्वमा रहेका १० बढी दलमध्यें ८ वटा दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
श्रम कार्यालय विराटनगरबाट आउनु भएका मुख्य निर्वाचन अधिकृत खगेन्द्र सुवेदी र सहायक निर्वाचन अधिकृत पुन्यप्रसाद पौडेल समेतको उपस्थितिमा भएको बैठकमा मुख्यतः राजनीतिक दलहरुका प्रतिनिधिहरुसित निर्वाचन कार्यक्रम संचालन- संपादन गर्न, उम्मेदवारी प्रकृयालाई अघि बढाउनका साथै निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने बारेमा वृहत छलफल भएको प्रमुख अधिकृत खगेन्द्र सुवेदीले बताउनुभयो।
उक्त अवसरमा नगर प्रमुख दिलीपकुमार राई, एमाले नगर कमिटीका अध्यक्ष रमेश दहाल, कांग्रेसका नगर सभापति रूपनारायण भट्टराई, माओवादी केन्द्रका नगर उपाध्यक्ष प्रेम ढकाल, नेकपा- एकीकृत समाजवादीका नगर कमिटीका सचिव देवेन्द्र वनेम, जसपा- नेपालका नगर अध्यक्ष फिपराज बेघा, मंगोल नेशनल अर्गानाईजेसनका वुनम राई , राप्रपा नेपालका ज्ञानेन्द्र भट्टराई , नेपाली काँग्रेसका नगर उपसभापति सन्तोष कार्की , एमाले नगर कमिटीका सचिव भीम राई, माओवादीका चेचन दहाल , लगायतका विभिन्न दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


























