आसन्न स्थानीय तहको निर्वाचन र पीत पत्रकारिताको प्रभाव

0
596

नेपालमा आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको छ । जति निर्वाचन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ । पार्टीहरूले संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । दलहरूले यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि जनतालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेचिलो अवस्थामा सञ्चार क्षेत्रको निष्पक्ष, स्वतन्त्र र विश्वासिलो भूमिका आवश्यक हुन्छ । यथार्थलाई बंग्याएर, गलत कुरालाई फूलबुट्टा भरेर सही सावित गरेर र तथ्यलाई तोडमरोड गरेर जनतालाई झुक्याउनु गलत मात्र होइन, अन्तिममा ध्वंशात्मक पनि हुन्छ । नगरेको विकास निर्माणका कामलाई गरेको भन्ने थोरै कामलाई धेरै देखाउने वा विपक्षीले गरेका कामलाई थोरै देखाउन राजनीतिक दलहरूले प्रयत्न गर्न सक्छन् । यस्तो अवस्थामा पत्रकारिता क्षेत्र बहकिनु हुँदैन ।

कुनै दल वा कुनै उम्मेदवारको बहकाव वा आर्थिक प्रलोभनमा परी अन्धसमर्थकको रूपमा सञ्चारकर्मीले आफूलाई प्रस्तुत गर्नुहुँदैन । तत्काललाई कसैलाई वा कुनै दललाई त्यसबाट फाइदा होला वा बेफाइदा होला, तर सञ्चारकर्मीको विश्वसनीयता माथि सधैँका लागि प्रश्न उठ्छ । दशकौं खर्चेर कमाएको विश्वास र इमान्दारिता केही दिनमा सकिन पनि सक्छ । सञ्चारकर्मीले बुझ्नुपर्छ– पीत पत्रकारिता झुठको खेती गर्ने पत्रकारिता हो । यो टिकाउभन्दा बिकाउ पत्रकारिता हो । पीत पत्रकारिताले जसरी पनि अखबार बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचारको सहयोग लिन्छ जसमा तथ्य कम र कथ्य बढी हुन्छ । पाठकका आँखालाई आकर्षित पार्नेगरी रचिएका समाचारका शीर्षक र सस्ता तस्वीरहरूको प्रयोगले पाठक भ्रमित हुन जान्छन् । यसभित्र आँखालाई आकर्षित गर्ने खालका सामग्रीमा ठूला अक्षर, उत्तेजक अभिव्यक्ति, रङ्गीन तस्वीर र चित्रहरूको प्रस्तुति पर्दछन् । समाचारमा परिचय नखुल्ने अज्ञात स्रोतहरूको प्रयोग र सथ्य–तथ्य सामग्रीभन्दा आँखा लोभ्याउने साजसज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाइयुक्त सूचना सम्प्रेषण जस्ता प्रवृत्ति पीत पत्रकारिताका खास विशेषताहरू हुन् ।

सबैभन्दा सरल वाक्यमा भन्ने हो भने अखबारको बिक्री बढाएर पैसा कमाउने होडबाजीका लागि पत्रकारहरूले जे–जस्ता पासाहरूको प्रयोग गर्छन् ती सबै कृत्यहरू पीत पत्रकारिताभित्र पर्छन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषणभन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको बाहुल्य रहन्छ । नेपाली पत्रकारिताको सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रबद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमूना हुन् ।

यसखालको पत्रकारिता कसैले नियतबस गरोस् वा नजानेर गरोस्, त्यो पत्रकार पीतपत्रकारिताको हिमायती ठहर्छ । यस्ता प्रवृत्तिले स्वच्छ र व्यावसायिक पत्रकारिता पेशाको प्रबद्र्धन हुन दिँदैन । यस्तो पत्रकारिताले समाजमा उठेका समस्याहरूलाई समाधान दिँदैन, बरु समाधानको यात्रामा व्यवधान पु¥याउँछ । देश र दुनियाँलाई अग्रगतिको बाटोमा डो¥याउनुको साटो खतिको खाल्डोमा धकेल्छ । पीत पत्रकारिताको विकास अस्वस्थ प्रतिष्पर्धाबाट हुन्छ । यस्तो होडबाजी गैरव्यावसायिक, अस्वस्थ र आफ्नै अस्तित्वका लागि घातक हुन्छ । जसरी पनि धन आर्जन गर्ने प्रतिष्पर्धामा यस्तो विकृतिको जन्म हुन्छ, जसले पत्रकारितामा कहिल्यै नमर्ने भाइरस भएर सताइरहन्छ ।

पत्रकारहरू र सञ्चार क्षेत्र आचारसंहितामा बाँधिएका हुन्छन् । पीत पत्रकारिता निच पत्रकारिता हो, यसले आचारसंहिताको पालना गर्ने कल्पना पनि गर्दैन । यसले नागरिकलाई गलत समाचारबाट हायल कायल बनाउँछ । यसले समाजसेवी, राजनेता र असल व्यक्तित्वलाई हिलो छ्याप्ने गर्छ । निम्नस्तरका टिप्पणी, कपोलकल्पित भिडियो संवाद, आधारहीन र तथ्यहीन समाचारका साथै अति नै तुच्छ प्रकृतिका शब्द चयनले यस्तो पत्रकारिता बदनाम भएको छ । विषवमन गर्नकै लागि पीत पत्रकारिताको जन्म भएको हो, जसले प्रस्तुत गर्ने निरन्तरका निराधार र बिना प्रमाणका झुठ समाचारले गर्दा नै सञ्चार जगतको नागरिकसँगको हार्दिकतापूर्ण सम्बन्ध समाप्त हुन्छ । व्यक्तिको नैसर्गिक स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार सञ्चार जगतलाई हुन्न । अखबारको बिक्री बढाएर पैसा कमाउने होडबाजीका लागि पत्रकारहरूले जेजस्ता पासाहरूको प्रयोग गर्छन् ती सबै कृत्यहरू पीत पत्रकारिताभित्र पर्छन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषणभन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको बाहुल्य रहन्छ ।

नेपाली सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रबद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमूना हुन् । यस खालको पत्रकारिता कसैले नियतवस गरोस् वा नजानेर गरोस्, त्यो पत्रकार पीतपत्रकारिताको हिमायती ठहर्छ । यस्ता प्रवृत्तिले स्वच्छ र व्यावसायिक पत्रकारिता पेशाको प्रबद्र्धन हुन दिँदैन ।

पीत पत्रकारिताले समाजमा उठेका समस्याहरूलाई समाधान दिँदैन, बरु समाधानको यात्रामा व्यवधान पु¥याउँछ । देश र दुनियाँलाई अग्रगतिको बाटोमा डो¥याउनुको साटो खतिको खाल्डोमा धकेल्छ । तथ्यगत समाचार सम्प्रेषणभन्दा पनि सनसनी मच्चाउनका लागि सस्ता सामग्रीहरूको खुराक पस्कने कुरा सर्वथा गलत हो । कुनै घटनाको सत्यता जाँच्नभन्दा जतिसक्दो चाँडो समाचार ब्रेक गर्ने, वास्तविकतालाई बढाइ–चढाइ गरेर रोचक बनाउने र पेसालाई भन्दा पैसालाई प्राथमिकता दिने प्रवृत्ति गलत हो । अहिले पनि संसारभर पीत पत्रकारिको बोलबाला छ । पत्रकारिता पेशालाई हतियार बनाएर यस्ता कु–कर्महरूको मतियार बन्न रुचाउने जति सबै पीत पत्रकार हुन् । उनीहरूले गर्ने पेशा पीत पत्रकारिता हो । त्यस्तो पत्रकारिता साँच्चै पहेंलो अर्थात् शिशिर ऋतुमा रुखबाट झर्न लागेका पातहरू जस्तै पलायनकारी हुँदोरहेछ । त्यसको प्रमाण नेपाली सञ्चारजगतमा सयौं पाइन्छन् ।

पीत पत्रकारिताको अभ्यासले तिनका पाठक, स्रोता तथा दर्शकहरूमा विचलन पैदा गर्दछ र त्यसको असर समाजमा देखा पर्दछ । पीत पत्रकारिताले रेडियो, टीभी र अखबारहरू अपराध र अपसंस्कृतिको बाहक बन्न थाल्दछन् । सञ्चार क्षेत्र पक्षपाती, हावादारी र असत्यको पक्षधर बन्न थालेपछि तिनको औचित्य माथि प्रश्न उठ्छ । अखबार बहुसंख्यक जनताको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न आकर्षक र सनसनीपूर्ण प्रस्तुतीकरणको सहारा लिन आवश्यक छैन । अप्रिय बाटो हिँडेर केही समयलाई लोकप्रिय बन्न सकिन्छ । तर, दीर्घकालीन रूपमा पीत पत्रकारिताको बाटोले पत्रकार र सञ्चार जगतलाई पतन नै गराउँछ । त्यसप्रकारका गतिविधिहरूमाथि पूरै नियन्त्रण हुनुपर्छ र त्यसका लागि उनीहरूमाथि आवश्यक र कडा सजाय हुनुपर्छ भन्नेमा सबैको स्पष्ट र दृढ मत छ ।

नेपालमा पत्रपत्रिकाहरूको अनुशासनहीन कार्यविधि माथि नियन्त्रण गर्नका लागि प्रेस काउन्सिलको पनि स्थापना गरिएको छ, तर त्यसले पनि नेपालको पत्रकारिता जगतमा देखापर्ने पीत पत्रकारितामाथि पूरै नियन्त्रण गर्न सकेको देखिन्न । यो गम्भीर दुःख र चिन्ताको कुरा हो । सनसनी मच्चाउने सामग्रीको सहारा लिएर मात्र पत्रकार स्थापित हुनसक्छ भन्नु गलत हो । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै जाति भन्ने नेपाली उखानै छ । तसर्थ, नेपाली पत्रकारिता जगतले पीत पत्रकारिताको महारोगबाट जोगिन बेलैमा सचेत हुन जरुरी छ । निर्वाचनका बेलामा त झन पीत पत्रकारिताको महाजालबाट जोगिन जरुरी छ । प्रेसको स्वतन्त्रताको अर्थ झूटा र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नका लागि छुट हुनुपर्दछ भन्ने होइन । निराधार र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर मात्र पत्रकारिता हुन सक्छ भनी मान्ने गलत धारणाबाट पत्रकारिता जगतलाई जोगाउँदै त्यसप्रकारको अमर्यादित व्यवहारबाट सञ्चार जगतलाई बचाउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here