मतदाताको सजगता अपरिहार्य

१९ बैशाख २०७९, सोमबार मा प्रकाशित

स्थानीय तहको निर्वाचनको चटारो उम्मेदवारभन्दा कार्यकर्तालाई बढी देखिन थालेको छ । निर्वाचन सम्बन्धी माइकिङ, सडक नृत्य, प्रदर्शन तथा नाराबाजीले सडक, टोल, गौंडा र चोकहरु गुञ्जायमान भइरहेका छन् । कसले बढी भीड जम्मा गर्ने उसले जित्ने मानसिकताले हुन थालेको भीडभाड र त्यसले उत्पन्न गर्ने असरको हिसाब गर्ने हाम्रो सामथ्र्य नै नभएका कारण प्रदुषणजन्य क्षतिको अनुमान गर्नै कठीन छ । चर्को स्वरमा बजाइने चुनावी गीत र आचारसंहिता उल्लंघन गर्दै गुडाइने उम्मेदवारको प्रचार–प्रसार गर्ने सवारीले उत्पन्न गर्ने असर बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरुमा देखिन थालेको छ । मनोनयन दर्ता गरेका सबै नै निर्वाचन जित्ने मानसिकतामा एकातिर धन, काम र समय खर्च गरिरहेका छन् भने अर्कातिर जसरी पनि चुनाव जित्ने मानसिकता बोकेर पैसा खर्च गर्न थाल्नेहरु पनि छन् ।


यसअघि जनप्रतिनिधि भइसकेकाहरु विगतका कर्मद्वारा मतदाता समक्ष परिचित छन् । तिनले फेरि विश्वास जित्न प्रदर्शन गर्नैपर्दैन र तिजो नयाँ अनुहार छन् तिनले घोषणापत्र मार्फत मतदातालाई आकर्षित गर्नुपर्नेछ । तर, यदि मतदाता सचेत हुने हो भने उम्मेदवारले मत माग्नै पर्दैन । त्यसका लागि मतदाता शिक्षा प्रभावकारी बनाइनु पर्दछ । मतदाता शिक्षा निर्वाचन आयोग र ठूला राजनीतिक दलहरुको समन्वयमा शिक्षा निर्वाचन आयोग र ठूला राजनीतिक दलहरुको समन्वयमा खासगरी ग्रामीम क्षेत्रमा व्यापक गरिनुपर्दछ । अहिले देखिन थालेको चुनावी गतिविधिले न मतदातामा जिम्मेवारीबोध हुन्छ न त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहीत र मर्यादित बनाउन सकिन्छ । यसरी हुने निर्वाचनले जनअपेक्षा त पूरा गर्दैन गर्दैन राष्ट्रको समृद्धि पनि सम्भव हुँदैन ।

नेपालको राजनीतिमा पछिल्लो समय सत्तामोहले आदर्श, निष्ठा, सिद्धान्त र विचारलाई विस्थापन गर्दै लगेको छ । सत्ता प्राप्तिकै लागि अपवित्र गठजोर गर्न तयार हुने परिस्थितिले प्रजातन्त्रलाई पनि बलियो बनाउँदैन । देश त्यसै पनि आर्थिकरुपले संकटतर्फ उन्मुख भएको भन्दै विज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् । त्यसमाथि निर्वाचनमा गरिने अपारदर्शी र चुनाव जित्नैका लागि गरिने फिजुल खर्चले मूल्य वृद्धि समेत गराउने छ । निर्वाचनमा गरेको लगानी उठाउन जित्ने जनप्रतिनिधिले अवैध बाटो समाउने आशंका एकातिर त्यतिकै बलियो छ भने जनप्रतिनिधि र तिनको सुविधाका नाममा हुने राज्यकोषको दोहनले असफल राष्ट्र बनाउने चिन्ता पनि छ । यस्तोमा मतदाता नै सचेत भएर मतदानको प्रक्रिया सामेल हुनु सबैभन्दा सुरक्षित अवतरण हुनसक्छ, सुशासन, भ्रष्टाचारमुक्त र आर्थिक समृद्धिको यात्राको । त्यसतर्फ मतदाता नै गम्भीर पनि बनिनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here