स्थानीय तहको निर्वाचन आउन करिब एक सातामात्र बाँकी रहेको छ । यो अवधिमा राजनीतिक दलहरुका उम्मेदवार मत माग्दै घरदैलो तथा विभिन्न कार्यक्रमका साथ मतदाताकोमा पुग्ने क्रम चलिरहेको छ । यसक्रममा उम्मेदवारहरुले विकासका लागि विभिन्न आधारहरु प्रस्तुत गर्दै प्रतिबद्धता जनाउनेक्रम पनि बढिरहेको छ ।
पछिल्लो समय अधिकांश पुरान र परिपक्क नेताले जनतासामु चुनावको बेला जे बाचा गर्थे पु¥याएर छोड्थे । तर, आजकाल भने राजनीति ढाँटको खेती बनेको भन्दै मतदाताले आक्रोश पोख्ने गरेका छन् । राजनीतिक दलहरुले निर्माण गरेका घोषणापत्रहरु कागजी खोस्टामा मात्रै परिणत हुन थालेपछि उनीहरुका झुटा एजेण्डा जनताले पत्याउन छाडेका हुन् ।
बोलीको टुंगो नभएको र जनतालाई आफ्नो पक्षमा तान्न स्थानीय चुनावको मुखमा आकर्षक र उत्तेजित गीत तथा म्युजिकको सहारा लिएर टोल–टोलमा नाचगान चलाउन थालेका छन् । रमाइलो नाचगानका कारण बच्चादेखि वृद्धसम्म पनि भोट माग्ने टोलीको लर्कोमा हिँड्दा माहोल तात्तिएको जस्तो देखिने गरेको छ । वास्तवमा नेतालाई जिताउनभन्दा पनि ठूलो आवाजमा बजेको संगीतबाट मनोरञ्जन लिनेको संख्या बढ्ने गरेको छ ।
जनतालाई दिने आश्वाशन र आफ्नो क्षेत्रलाई कसरी विकसित बनाउने भन्ने भावी योजनाहरुको कुरा त परै छाडौं, भोट माग्न टोल–बस्तीमा गएर हल्का नाच्न जान्नेहरु पनि उम्मेदवार हुने चाहना गर्दै मच्ची–मच्ची नाचगान गरेकै भरमा जनप्रतिनिधि बन्ने होडबाजीमा उत्रिएका छन् ।
गीत–संगीतलाई संसारमा अत्यन्तै महत्वपूर्ण र मनोरञ्जनको साथीको रुपमा मानिएको छ । तर, यो भन्दा राजनीति फरक पाटो हो । तैपनि पछिल्लो समयमा संगीतलाई नेता र नेतृत्वले काँधमा बोक्न थालेका छन् । अहिले राजनीतिमा गीत–संगीत पनि फेसन बनेको छ । वास्तवमा चुनावी समयमा मात्रै कलाकारलाई सम्मान गर्ने र अन्य समयमा भने कला, साहित्य, संगीत तथा मिडिया समेत राजनीतिको आँखामा बादल लाग्ने गरेको छ । चुनावको मुखमा यतिबेला कलाकार र मिडियाकर्मी सबैलाई खाँचो पर्नुले नेताभित्र दर्बिलो क्षमताको अभाव भएको महशुस गर्न सकिन्छ । यसको साथमा गाउँ–घरमा एकदिन छिरेर बुढापाकको गाला सुमसुम्याको र नमस्कार गरेको तस्वीर सामाजिक सञ्जालमा हालेर धेरै समाजसेवी नेता भएको नक्कली प्रमाण पनि सार्वजनिक गर्न भ्याइ–नभ्याइ छ उनीहरुलाई ।
विगतका दिनहरुमा भोट माग्न जाँदा पार्टीको नीति, सिद्धान्त, विचार र पार्टीले गर्ने दुरदर्शी कामबारे जनताका माझमा नेताले स्पष्ट विचार पु¥याउँथे, तर आजभोलि नेताको भाषणामा दम छैन । झुटो भाषणलाई जनताले पत्याउन छोडीसके त्यसैले विकल्पको रुपमा प्रतिस्पर्धाको संगीत सृजनामा निक्कै लगानी गर्न शुरु गरेका छन् । नेताले भाषण गर्दा के बोल्ने हो आफैंलाई थाह हुँदैन । एक–अर्कालाई गालीगलौज गर्नु र जनतालाई ढाँटढुंट पार्ने कोशिस गर्नु अपरिपक्व राजनीतिको पराकाष्ठा हो ।
जनताबाट मत माग्दै गाउँघर घुमेर बोलेका कुरा पूरा गर्नुको सट्टामा आफ्नो जीविकोपार्जन गर्ने र मुख पड्काएकै भरमा लाखौं आम्दानी गर्ने परिपाटी बनेको भन्दै कतिपयको आलोचना हुने गरेको छ । राजनीतिलाई बिना लगानीको मुख्य पेशा बनाएकाले उनीहरुको चुनावी भाषण सुन्न जनता भेला हुन छाडेका छन् । मान्छे भेला नभए कार्यक्रम खल्लो बन्न थालेको बुझेपछि प्रतिस्पर्धामा राजनीतिक दलहरुले आफ्नो पार्टीको आकर्षक म्युजिक भिडियो र गीत बनाउन थालेका हुन् । टोल–टोलमा कान छेड्ने गरी गीत बजाएर जनता आकर्षण गर्न खोज्नु भनेको दलहरु अब एजेण्डाविहीनको अवस्थामा पुगेको जनताले आँकलन गर्न थालेका छन् । त्यसैले विभिन्न दल र तिनका नेताले भोट माग्ने आधार सारहीन बनेको छ ।
जसरी सांगीतिक मनोरञ्जनको माध्यमले जनताको मत लिएर चुनाव जित्छन्,त्यसरी नै सामाजिक पद धारण गरेपछि जनप्रतिनिधिले सरकारी बजेट र हरेक क्रियाकलापको दुरुपयोग गर्दै मनोरञ्जनमा नै कार्यकाल बिताउने गरेको समेत आरोप खेपेका छन् । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने झैं जनतालाई सेवा गर्ने प्रतिबद्धता कता हो कता परिवारवाद र अगुवा–पछुवालाई पालनपोषण गर्न अग्रसर देखिन्छन् ।
स्थानीय स्तरका नेताहरु पनि पार्टीले तयार गरेको घोषणापत्र घोकेर भाषण मार्फत प्रस्तुत गर्छन् । तर, यस विषयमा उनीहरु नै अलमल्ल देखिन्छन् । जुन किसिमले परिपक्व भएर घोषणापत्र प्रस्तुत गर्न सक्दैनन् । उनीहरुले पछि गर्ने गतिविधि पनि त्यस्तै हचुवामा हुने गरेको छ । यसरी जनताको विश्वास नपाई नेता बन्ने र संगीतले जनता लट्याएर भोट जित्ने प्रवृत्ति हावी हुँदै जाने हो भने पछिल्ला दिनमा बौद्धिक स्तरका नेता र जनताको मर्म बुझेर काम गर्ने सच्चा देशभक्त नेताहरु ओझेलमा नपर्लान् भन्न सकिन्न ।