बाह्रदशीः कांग्रेस कि एमाले ? : यस्ता छन् गठबन्धन दलका प्रतिबद्धता

२१ बैशाख २०७९, बुधबार मा प्रकाशित

सुरेन्द्र भण्डारी,
झापा।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बाह्रदशी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको थियो ।

अध्यक्षमा खड्गप्रसाद राजवंशी र उपाध्यक्षमा रत्नाकुमारी राजवंशीले जित हासिल गर्दै पालिकाको नेतृत्व सम्हालेका थिए । सातवटा वडामध्ये मित्रप्रसाद भट्टराईले वडा नम्वर–७मा जित हासिल गरेका थिए भने वडा नम्वर ४मा समिम मियाँले माओवादी केन्द्रकातर्फबाट वडाध्यक्ष जितेका थिए । गाउँपालिकाका बाँकी पाँच वटा वडा १, २, ३, ५ र ६मा क्रमशः शम्भुसिंह राजवंशी, यादव मिश्र, वीरेन्द्र प्रसाद राजवंशी, भुपेन्द्र कटुवाल र रत्नप्रकाश योङ्हाङले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट जितेका थिए ।

गाउँपालिका अध्यक्षमा राजवंशीले एमालेका उम्मेदवार लक्ष्मण पाठकलाई ४२८को झिनो मतान्तरले पछि पारेका थिए । कांग्रेसकातर्फबाट उम्मेदवार बनेका राजवंशीले ५५३९ मत प्राप्त गर्दै विजयी हुँदा एमालेकातर्फबाट उम्मेदवार बनेका पाठकले ५१११ मात प्राप्त गरेका थिए ।

२०६८को जनगणना अनुसार बाह्रदशी गाउँपालिकाको जनसंख्या ३९ हजार ६ सय २२ रहेको थियो । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले २०७४मा भएको निर्वाचनमा १७९५ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रकातर्फबाट देवी ओझा उम्मेदवार बनेका थिए । यता राप्रपाले १४१४ मत प्राप्त गरेको थियो ।

वैशाख ३०मा हुने स्थानीय तह निर्वाचनका लागि यो पटक सत्तारुढ गठबन्धन दलमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले यो पालिकामा चुनावी तालमेल गरेका छन् । नेकपा एमालेसंग प्रतिष्पर्धामा उत्रिएको गठबन्धनले नेपाली कांग्रेसका तर्फबाट राजवंशीलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले शंकरप्रसाद सेढार्इँलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यता ६ वटा वडामा नेपाली कांग्रेसले वडाध्यक्षको उम्मेदवारी दिएको छ भने माओवादी केन्द्रका तर्फबाट वडा नम्वर ४मा पुनः समिम मियाँले उम्मेदवारी दिएका छन् ।

प्रतिगमनबिरुद्ध आन्दोलनमा रहेको गठवन्धनले यो पालिकामा एमालेलाई पाखा लगाउन कसरत गरिरहेको छ भने नेकपा एमाले गुमेको विरासत फर्काउन भरमग्दुर प्रयास गरिरहेको छ । नेकपा एमालेले देवेन्द्र चम्लागाँईलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

यता राप्रपाले यो पालिकामा छुट्टै उम्मेदवार खडा गरेको छ । अघिल्लो निर्वाचनमा समेत राप्रपा एक्लै चुनावी मैदानमा थियो । चुनावको मिति नजिकिएसँगै गठबन्धन दल र नेकपा एमालेका नेता तथा कार्यकर्ता अहिले मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । आफ्ना प्रतिवद्धता–पत्रसहित गठबन्धन दल र नेकपा एमालेका उम्मेदवार र स्वतन्त्रसहित अन्य दलका उम्मेदवार मतदाता फकाउन व्यस्त छन् ।

यता राप्रपासहित अन्य दलले समेत यो पालिकामा अध्यक्षसहितका पदमा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यो पालिकामा स्वतन्त्र सहित नौ जनाको अध्यक्षमा उम्मेदवारी रहेको छ । १० जनाले अध्यक्षको दावी गर्दै उम्मेदवारी दिए पनि विवेकशील साझा पार्टीका भुपिन कटुवालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

गठबन्धनको चुनाव जित्ने यस्तो छ बटमलाइन

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार यो गाउँपालिकामा २५,८२६ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या १३,०७४ रहेको छ भने महिला मतदाताको संख्या १२,७५२ रहेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणाम र माओवादी केन्द्रको समेत मत जोडेर गठबन्धनले आफूहरुको जित सुनिश्चित भएको दावी गरिरहेको छ ।

यता नेकपा एमाले फुटका कारण पनि नेकपा एकीकृत (समाजवादी) को मत गठबन्धनलाई आउने गठबन्धन दलले दावी गरेको छ । आदिवासी समुदायको बाहुल्य रहेको यो गाउँपालिकामा आदिवासी समुदायकैतर्फबाट उम्मेदवार बनाइएकाले जित निश्चित भएको गठबन्धन दलको तर्क छ । आदिवासी, पिछडिएको वर्गका नागरिकको बसोवास भएको यो गाउँपालिकामा उनीहरुका साझा मुद्दा गठबन्धन दलले उठाएको र पूरा गर्ने प्रतिबद्धतासहित अघि वढेकाले आफूहरुको जित सुनिश्चित रहेको गठबन्धन दलका नेताले दावी गरेका छन् ।

गुमेको बिरासत फर्काउने दाउमा एमाले

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससंग पराजित बनेको नेकपा एमालेले गुमेको बिरासत फर्काउन विभिन्न चुनावी रणनीति अपनाएको छ । आफ्ना कार्यकता संगठित गर्नुदेखि विभिन्न पार्टीमा आस्था राख्नेहरुलाई पार्टी प्रवेश गराएर नेकपा एमालेको संगठनलाई विस्तार गर्दै आएको र यसपटक अध्यक्षसहित सातबटै वडा जित्ने रणनीतिसहित एमाले अघि बढेको दलका नेताले बताएका छन् ।

पार्टीभित्र विगतमा भएका कमजोरीलाई सुधार्दै, कार्यकर्तालाई एकीकृत गर्दै पार्टी अघि बढेको र गठबन्धनले अध्यक्षसहित सातवटै वडामा जित हासिल गर्न आफूहरुलाई कुनै समस्या नरहेको नेकपा एमाले ३ नम्वर क्षेत्रीय संयोजक लक्ष्मण पाठकले बताए । देवेन्द्र सबैमाझ लोकप्रिय उम्मेदवार भएका कारण पनि नेकपा एमालेले गाउँपालिका अध्यक्ष जित्नेमा कुनै संकोच छैन– संयोजक पाठकले भने– योपटक हामी अध्यक्ष मात्र होइन बाह्रदशीमा सेट नै जित्न सक्छौं ।

आदिवासी समुदायको भोट काट्न राप्रपाले समेत अध्यक्षको उम्मेदवार राजवंशी नै बनाएकाले नेकपा एमालेले अध्यक्ष पद जित हासिल गर्ने एकथरीको विश्लेषण छ । अर्काथरीले भने अघिल्लो निर्वाचनमा समेत राप्रपाले छुट्टै उम्मेद्वार बनाएको र यसपटक पनि राप्रपाका उम्मेदवारले खासै असर नगर्ने र काटिएको मत माओवादी केन्द्र सहितका अन्य दलले पूर्ति गर्ने हुँदा जित गठबन्धनको सुनिश्चित भएको बताउँदै आएका छन् । नेकपा एमालेले उपाध्यक्ष पदमा भने शान्तादेवी शिवाकोटीलाई उम्मेदवार बनाएको छ ।

यस्ता छन् गठबन्धन दलका प्रतिबद्धता

कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक कृषि प्रणालीमा रुपान्तरण गर्नेदेखि जैविक मल उद्योग स्थापना गर्नेसम्मका प्रतिबद्धता गठबन्धनले अघि सारेको छ ।

जसमा अग्र्यानिक कृषि उत्पादनमा जोड, तरकारी खेतीलाई आधुनिकीकरण गर्दै टनेल खेतीको विकास गर्ने, राजगढ, चकचकी र डाँगीबारीमा तरकारीको थोकबजार स्थापना गर्ने, खेत–खेतमा पोल, कित्ता–कित्तामा सिञ्चाई कार्यक्रम, आवश्यक मल, बीऊ, वितरणमा सहजीकरण गर्ने, प्रत्येक वडामा कृषि प्राविधिक र प्रविधि केन्द्र स्थापना गर्ने, कृषि बीमा अन्तर्गत कृषकलाई बाली बीमा गर्न लगाउने जस्ता कार्यक्रम अघि सारिएको छ ।

पशुपालनतर्फ उन्नत जातका पशु ५० प्रतिशत अनुदानमा वितरण गरिने, प्रत्येक वडामा पशु प्राविधिक र पशु स्वास्थ्य केन्द्र स्थापना गरिने लगायत छन् ।

शिक्षातर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने, सामुदायिक विद्यालयसहित धार्मिक, सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालयहरुको भौतिक पूर्वाधार व्यवस्थापन गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गरी अंग्रेजी र कम्प्युटर शिक्षालाई अनिवार्य लागू गर्ने, प्रत्येक सामुदायिक बिद्यालयमा क्रमशः स्कूल बसको व्यवस्थापन गर्ने र गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थापनका लागि क्याम्पस स्थापना गर्ने लगायत छन् भने कक्षा ११/१२मा अध्ययनरत् निम्न बर्गीय विद्यार्थीलाई साइकलको व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न प्रोत्साहन गर्ने, प्रत्येक सामुदायिक विद्यालयमा खेलकुदलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने, गाउँपालिकाभित्र राष्ट्रियस्तरको खेलकुदको बहत्तर विकास गर्ने लगायतका प्रतिबद्धता अघि सारिएको छ ।

त्यस्तै गठनबन्धनले अन्य २४ वटा बुँदागत प्रतिबद्धता सार्वजनिक गरेको छ । पाँच वर्षभित्र उच्चस्तरीय कालोपत्रे सडक निर्माण गर्ने, प्रत्येक गाउँ तथा घरलाई सडक सञ्जालसँग जोड्न पहल गर्ने, बजारी क्षेत्रमा ढल निकासको व्यवस्थापन गर्ने, दुव्र्यसनमुक्त बाह्रदशी, भयरहीत बाह्रदशी, युवा शक्तियुक्त बाह्रदशी बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने रहेका छन् ।

त्यस्तै मृत्यु संस्कारका लागि प्रत्येक परिवारलाई न्यूनतम् १० हजार रुपैयाँ सहयोग गरिने, नदी कटान रोक्न आवश्यक तटीय क्षेत्रमा तटबन्धन गरिने, हात्ती नियन्त्रणका लागि विशेष पहल गर्ने, आवश्यक स्थलमा सडकबत्ती र सीसी क्यामेरा जडान गर्ने, अधुरा रहेका भौतिक संरचनाहरुलाई पूरा गर्ने, आवश्यकस्थलहरुमा पक्की पुल र झोलुंगे पुल निर्माण गर्दै नागरिकको आवागमनलाई सहज तुल्याउने लगायतका प्रतिबद्धता गठनबन्धनले सार्वजनिक गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here