कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव

२१ बैशाख २०७९, बुधबार मा प्रकाशित

काठमाडौँ,

विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ ।

रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब रु चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालु आवको नौ महिनाको अवधिमा रु तीन खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्याङ्क छ ।

आयात निर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलासी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिती घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थातर्फ उन्मुख छ । विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ । अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन् । अझै ढुक्क हुने अवस्था बनिसकेको छैन । मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको बताउनुहुन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको कार्यक्रममा उहाँले अनियन्त्रितरुपमा बढेको आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए ।

आयात र निर्यातको खाडलले तत्काल अर्थतन्त्रमा ठूलो प्रभाव नपरे पनि आगामी दिन सङ्कटपूर्ण रहेको उनको भनाइ छ । बर्सेनि ठूलो परिणाममा कृषिजन्य उत्पादन आयात भइरहेको भन्दै गभर्नर अधिकारीले कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्ने बताए । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले भूकम्प, कोरोना महामारी, बेमौसमी वर्षा तथा विश्वव्यापी मूल्यवृद्धिले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको बताए । बढ्दो आयातका कारण अर्थतन्त्रमा दबाब परेको उल्लेख गर्दै उहाँले पेट्रोलियम पदार्थको खपत न्यूनीकरण र कृषिजन्य उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताए।

केही समय अपेक्षाकृतरुपमा रेमिट्यान्स आप्रवाह नभए पनि पछिल्लो महिनाबाट विप्रेषण आप्रवाहमा भएको सुधारले सुखद् सङ्केत गरेको उनको भनाइ थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वित्तीय साक्षरता दिनुपर्ने, बैंक खाता खोल्न अनिवार्य गर्नुपर्ने, वैधानिक बाटोबाट विप्रेषण पठाउन प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिजन्य वस्तुको उत्पादन वृद्धिका लागि कृषिमा दिइने अनुदानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीले प्रतिफल दिन नसक्दा अर्थतन्त्रमा समस्या थपिँदै गएको बताए । वित्तीय अनुशासन कायम हुने गरी आगामी आवको बजेट निर्माणमा मन्त्रालयल लागि परेको जानकारी दिँदै उहाँले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताए।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here