सुरेन्द्र भण्डारी,
झापा ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले झापामा पहिलो स्थान हासिल गरे पनि अघिल्लो निर्बाचनको तुलनामा यसपटक क्षति व्यहोरेको छ ।
मुलुक संघीयतामा गएसँगै २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नेकपा (एमाले)ले झापाका १५ पालिकामध्ये प्रमुखमा सात र उपप्रमुखमा १२ गरी जम्मा १९ पद जितेको थियो । यसपटक पालिका प्रमुख र उपप्रमुख गरी १६ पद मात्रै जित्न सफल भएको छ । यसपटकको निर्वाचनमा नेकपा एमालेले प्रमुखमा ७ र उपप्रमुखमा ९ पदमा खुम्चिएको छ ।
अघिल्लो चुनावको तुलनामा यसपटक तीन पालिका प्रमुख र उपप्रमुख गुमाएको नेकपा एमालेले १७ वटा वडा समेत गुमाएको छ । २०७४ मा भएको निर्वाचनमा ७८ वडा जित्न सफल नेकपा एमालेले यसपटक ६१ वडामा खुम्चिएको छ । केही पालिकामा बहुमत पु¥याएको नेकपा एमाले यसपटकको निर्वाचनमा खुम्चिए पनि नेपाली कांग्रेसभन्दा अघि छ ।
अघिल्लो निर्वाचनको तुलनामा नेपाली कांग्रेसलाई यसपटकको निर्वाचन लाभदायक बनेको छ । नेपाली कांग्रेस पहिलो स्थानमा आउन नसके पनि तीन पालिका प्रमुख र १२ वटा वडा नेपाली कांग्रेसले गत निर्वाचनको तुलनामा बढी जितेको छ । यसपटक नेपाली कांग्रेसले प्रमुख पदमा ६ र उपप्रमुख पदमा ४ गरी १० पालिका प्रमुख र उपप्रमुख पद जितेको छ ।
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा ३९ वटा मात्रै वडा जितेको थियो भने यो निर्वाचनमा ५१ वडा जितेको छ । दुवै निर्वाचनको तथ्याङ्क विश्लेषण गर्ने हो भने नेकपा एमालेलाई भन्दा नेपाली कांग्रेसलाई यो निर्वाचन लाभकारी भएको छ । नेपाली कांग्रेसले २०७४मा चार प्रमुख, २ उपप्रमुख र ३९ वटा वडा जित्न सफल भएको थियो ।
पदको हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी अघिल्लो निर्वाचन र यसपटक बराबरीको स्थितिमा देखिएको छ । अघिल्लो निर्वाचन २०७४मा तीन प्रमुख र एक उपप्रमुखसहित सात वटा वडाध्यक्ष जितेको राप्रपा यसपटक २०७९मा पनि चार पालिका प्रमुख र उपप्रमुखसहित सात वटै वडा जित्न सफल भएको छ । फरक यति मात्रै हो कि अघिल्लो निर्वाचनमा तीन पालिका प्रमुख जितेको राप्रपाले यो पटक दुई पालिका प्रमुख र दुई उपप्रमुख पद जितेको हो ।
दुवै निर्वाचनमा सहभागिता जनाउँदै प्रतिष्पर्धामा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले भने यसपटक पनि पालिका प्रमुख र उपप्रमुखमा शून्यको स्थितिको सामना गर्नु प¥यो । यसपटक नेपाली कांग्रेस लगायतका दलसंग गठबन्धन गर्दै चुनावी मैदानमा उत्रिएको माओवादी केन्द्रले यसपटक पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेन । वडाध्यक्षमा भने अघिल्लो निर्वाचनमा ६ वटा वडा जितेको माओवादी केन्द्रले यो निर्वाचनमा थप एक गरी सात वटा वडाध्यक्ष जितेको छ ।
झापा, बाह्रदशी र गौरादह नगरपालिकामा चार जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् । यता नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले कमल गाउँपालिकामा एउटा मात्रै वडा जितेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेसँग विभाजित हुँदै छुट्टै दल दर्ता गर्दै चुनावी मैदानमा उत्रिएको नेकपा एसको उपस्थिति स्थानीय तह निर्वाचनमा झापामा कमजोर देखिएको छ । कांग्रेसलाई भने माओवादीसहितको गठबन्धनका कारण लाभ पुगेको देखिन्छ ।





























