कुवेत पुगेकी भद्रपुरकी अम्बिका सम्पर्कविहीन

0
526

पार्थ मण्डल,
झापा ।

भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर–२ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन् ।

सगरमाथा मावि पढ्दै गरेको अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन् । घर छेउकी तारादेवी लिम्बूले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पु¥याएकी थिइन् ।

यहाँबाट पठाउने एजेन्ट तारादेवीको ५ वर्षअघि नै हत्या भइसकेकोले छोरीलाई खोज्न झन् समस्या भएको उनकी ७३ वर्षीया आमा चन्द्रमाया गिरीले बताइन् । घरमा आमाबुबाको कुरा नसुनेर अम्बिका गाउँघरको महिलाको लहै–लहैमा लागेर जबरजस्ती विदेश जान्छु भनी हिँडेको बताइएको छ ।

घरबाट छोरीको पासपोर्ट मात्र बनाइदिएको बताउँदै आमा चन्द्रमायाले भनिन्– ‘उमेर पुगेन भन्दै छोरीले दिल्ली पुगेर आमा म विदेश जान्नँ, यहीँ काम गरेर एजेन्टको पैसा तिर्छु भनी फोनमा भनिन् ।’ त्यसको केही दिनपछि कुवेत पुगेर छोरीले मलाई फेरि फोन गरिन् । आमा मलाई एजेन्टले अपर्णा थापा नामको भिसामा कुवेत पठायो, यहाँ घरायसी काम गर्दैछु । यहाँ मलाई कुनै पनि समस्या छैन । ‘एक महिनापछि नै एजेन्टको ३० हजार रुपैयाँ तिरिदिन्छु भनी सुनाइन्’– उनले भनिन् ।

छोरीले एजेन्टको ३० हजार पनि तिरिन्, ६ महिनासम्म सम्पर्कमा पनि थिइन्, कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इ.ओढी.नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीनपटक घरमा चिठ्ठी र आफ्नो फोटो पनि पठाइन् ।

‘त्यसपछि छोरी एकाएक सम्पर्कविहीन भइन्’– उनले आँखाबाट आशु झार्दै भनिन्– ‘फोन नम्बरसँगै छोरी पनि कुवेतमा हराइ, आउँछे–आउँछे भनेर कुरेर बसेको १४ वर्ष नै बित्यो ।’ घरको ऋण तिर्छु र कमाएको बाँकी पैसाले सुखको जीवन बताउने छोरीको ठूलो इच्छा थियो । ‘गाउँघरमा कोही नयाँ मान्छे झोला बोकेर आउँदा छोरी नै आयो कि भन्ने मनमा आशा पलाउँछ’– उनले भनिन्– ‘छोरी ज्युँदो छ कि मरिसकी त्यो पनि खबर छैन ? मलाई लाग्छ छोरी बाँचेकी छिन्, छोरीलाई स्वदेश फर्काइदिन सबै समक्ष हात जोडेर अपिल गर्दछु ।’

फेसबुकमा फोटो हाल्दा छोरी भेटिन्छ भनेर गाउँका मान्छेले मलाई सुनाएपछि अनि मात्र उनले छोरीको खोजी शुरु गरिन् । त्यसभन्दा अघि उनले पटक– पटक एजेन्ट तारादेवी र छोरीसँगै विदेश पुगेर फर्किएकी महिलालाई घरमै भेटेर सोध्दा पनि छोरी कहाँ छिन् भनेर उनीहरूले बताउन सकेनन् ।

उनले छोरी खोजी दिन भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको बिराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणिन्द्र दाहाललाई भेटिन् । दाहालकै पहलमा अहिले छोरीको खोजी कार्य भइरहेको बताइएको छ ।

चन्द्रामायाको छोरी नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन् । किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा आएको छैन– उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here