झापा, भुटानी अधिकारबादी नेता किशोर राईको सम्झनामा अमेरिकाको पेन्सिलभेनिया राज्यमा शोक तथा श्रद्धाञ्जलि सभा भएको छ । भारत प्रवासमा निधन भएका उनको अमेरिकामा भुटानी समुदायले शोक तथा श्रद्धाञ्जलि सभा गरेका हुन् ।
भारतको पश्चिम बंगालमा प्रवास जीवन बिताइरहेका राई फोक्सो सम्बन्धी समस्याबाट ग्रसित थिए । ६५ बर्षे राईको २ जुन दिँउसो उपचारकै क्रममा पश्चिम बंगालको सिलिगुढीमा निधन भएको थियो । स्व. राईका श्रीमती र एक छोरी छन् ।

२२ फेब्रुवरी १९५७ मा दक्षिण भुटानको सर्भाङ जिल्लामा जन्मिएका राईले सन् १९८९ को १६ नोभेम्बरमा भुटानी नेता टेकनाथ रिजाललाई नेपालले पक्राउगरि भुटान सुपुर्दगी गरेपछि अधिकारबादी संगठन पिपुल फोरम अफ ह्युमन राईट्स् भुटान (पिएफएचआरबी) का गतिविधि अघि बढाएका थिए । यो भुटानको पहिलो मानव अधिकारबादी संगठन हो ।
दक्षिण भुटानमा सरकारी ज्यादती बढ्न थालेपछि देश छोड्न बाध्यभइ नेपाल पसेका भुटानी शरणार्थीलाई झापाको कनकाई नदिको किनारमा ब्यवस्थित गर्न र सहयोगको लागि स्थानिय समुदायसँग समन्वय गर्न पनि उनको उल्लेख्य भुमिका थियो । उनले त्यसपछि भुटानी अधिकारबादी संस्था ह्युमन राईट्स अर्गनाइजेसन अफ भुटान (ह्युरोव) लाई महासचिबको रुपमा नेतृत्व दिएका थिए । सन् १९९२ मा ह्युरोवले नै झापा र मोरङका पाँच ठाँउमा स्थापित सातवटा भुटानी शरणार्थी शिबिरमा सचिबहरुले नेतृत्व गर्ने ब्यवस्थापन समिति (सिएमसी) हरुको चयन गरेको थियो । सिएमसी सहायता संस्थाहरुसँगको समन्वय गर्ने एकमात्र शरणार्थी समितिको रुपमा रहेको छ ।
४ जुनमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजित शोक सभामा दिवंगत भुटानी अधिकारबादी नेता राईका काका बिके राई, लण्डनस्थित भुटानी अगुवा दुर्गा गिरी, अष्टेलियाका गौरिशंकर निरौला, अमेरिकाको भर्जिनियाका आरपी सुब्बा, ओहायोका गंगाराम लामिटारे, मेरिल्याण्डका मुक्तीराज गुरुङ, ह्यारिसवर्गका डा. खेम अधिकारी, विश्वनाथ क्षेत्री लगायतले स्वर्गिय राईले सन् १९९० आसपासका बर्षमा दक्षिण भुटानमा भएको चरम सरकारी दमन विरुद्ध समुदायलाई संगठित गरेको स्मरण गरे ।
शोक तथा श्रद्धाञ्जलि सभाको सञ्चालन ह्यारिसवर्गका टिबी गुरुङले गरेका थिए ।






























