फूलवासा खेल मैदान: प्रक्रिया विपरीत रकम निकासा

३१ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा ।

अर्जुनधारा नगरपालिका–७ मा समाज उद्धार कल्याण संघको स्वामित्वमा रहेको जमिनमा प्रक्रियाभन्दा बाहिर रहेर संघीय सरकार तथा स्थानीय सरकारले लगानी गरेको खुलेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत रहेर खेलकुद स्टेडियम निर्माणका लागि सरकारले नै प्रक्रियाभन्दा बाहिर गएर करोडभन्दा बढी रकम लगानी गरेको हो ।

खेलमैदान निर्माणका लागि न नगरपालिकाले विस्तृत गुरु योजना तयार गरेको छ न त समाज उद्धार कल्याण संघले नै गुरु योजना तयार गरेको छ । बिना गुरु योजना एक करोड १७ लाखभन्दा बढी रुपैयाँ लगानी गरेसँगै खेल मैदानको विषयमा स्थानीयले प्रश्न उठाएका छन् ।

समाज कल्याण उद्धार संघ र अर्जुनधारा नगरपालिकाबीच खेल मैदान निर्माण तथा सञ्चालनका लागि जग्गा उपलब्ध गराउने भनिए पनि सम्झौतामा जग्गाको स्वामित्व स्पष्ट रुपमा नगरपालिकालाई प्रदान गरिएको छैन । स्टेडियम निर्माणका लागि पहिलो पक्ष भनिएको समाज कल्याण उद्धार संघले दोस्रो पक्षलाई दुई विगाह जग्गा खेलकुद स्टेडियम निर्माण तथा सञ्चालनका लागि उपलब्ध गराउने भनिए पनि स्वामित्व हस्तान्तरणको विषयमा केही कुरा उल्लेख छैन ।

सम्झौतामा उद्धार संघका तर्फबाट अध्यक्ष धर्मानन्द गुरागाँई आफैले हस्ताक्षर गरेका छन् भने नगरपालिकाको तर्फबाट निमित्त प्रमुख रघुनाथ खनालले हस्ताक्षर गरेका छन् । २०७६ साल भदौ ३१ गते गरिएको सम्झौतामा निमित्त प्रमुख खनालले हस्ताक्षर गरेसँगै स्थानीयले प्रश्न उठाएका हुन् । जबकि भदौ २९ गते बसेको नगरको बैठकमा अर्जुनधारा नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिकुमार राना आफैं उपस्थित छन् । त्यसको दुई दिन पछि खनालले निमित्त प्रमुख भएर सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

नगरको असोज ६ गते बसेको बैठकमा समेत हरिकुमार राना आफैं उपस्थित हुनुले निमित्त प्रमुखले दुरगामी असर पु¥याउने निर्णयमा हस्ताक्षर गर्न नमिल्ने नगरका एक कर्मचारीले बताए । उनले भने– यस्तो निर्णयमा जनप्रतिनिधिले हस्ताक्षर गर्दैनन्, यहाँ कर्मचारीको हस्ताक्षर हुनुपर्ने हो । त्यो हुँदा नगरले गरेको यो सम्झौता नै प्रक्रिया विपरीत छ ।

अर्जुनधारा नगरपालिका प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले गलत प्रक्रियाबाट समाज कल्याण उद्धार संघ र नगरपालिकाबीच सम्झौता भएको देखिने बताए । यस्तो सम्झौताले दीर्घकालीन असर पार्न सक्ने उनको भनाइ छ । नगरपालिकाभित्र खेलकुद क्षेत्रका लागि बजेट भित्र्याउन नगरले गरेको काम झट्ट हेर्दा राम्रै देखिए पनि यसले दूरगामी अर्थ राख्छ– अध्यक्ष भट्टराईले भने– मेयर हुँदाहुँदै यो सम्झौतामा किन निमित्त प्रमुख खनालको हस्ताक्षर गरियो । जबकि भदौ ३१ गतेको बैठकमा पनि मेयर उपस्थित हुनु र असोज ६ को बैठकमा पनि मेयर उपस्थित हुँदाहुँदै किन यो सम्झौतामा चाहिँ वडाध्यक्षले हस्ताक्षर गरे ?

सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उप्रमुख पनि अनुपस्थित भएमा कार्यवाहक दिन सकिने स्पष्ट व्यवस्था हुँदाहुदै नगरप्रमुखले किन सोझै वडाध्यक्षलाई कार्यभार दिए प्रश्न यहाँ नेर उब्जिएको हो– भट्टराईले भने– यहाँ फूलमती खोला किनारमा रहेको खेल मैदानमा स्टेडियम निर्माणका लागि सम्झौता गर्न मात्रै वडाध्यक्षलाई कार्यवाहक दिए जस्तो देखिन्छ ।

यता यस बिषयमा जनकारी लिन खोज्दा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आफूलाई यो विषयमा सबै कुरा थाहा नभएको र अध्ययन गरेर दुई दिनपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here