मानव बेचबिखनरुपी व्यापारः विश्वव्यापीरुपमा बार्षिक १ सय ५० अरब अमेरिकी डलर आर्जन: ६६% बेचबिखन यौनशोषणका लागि

१६ असार २०७९, बिहीबार मा प्रकाशित

मेचीनगर,

मानव बेचबिखनरुपी व्यापारबाट मात्र विश्वव्यापीरुपमा बार्षिक करिब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

बुधबार झापाको काँकरभिट्टामा आयोजित मानव बेचबिखन तथा ओसारपसार समबन्धी अन्तरक्रिया तथा डिजिटल डिस्प्ले बोर्ड समुद्घाटन समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो ववरमहल काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

कार्यक्रमको अध्यक्षता गर्दै प्रहरी उपरीक्षक मल्लले विश्वव्यापीरुपमा हुने मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने र करीब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित रहेको जानकारी दिए ।

खासगरी मृगौला, कलेजो र रगत, शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेको उनको भनाइ छ । आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक भएको उनको भनाइ छ । संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागूऔषधमध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा रहेको उनको भनाइ छ । जसमा प्रतिवर्ष करिब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ ।

कार्यक्रमका वक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासले मात्र नियन्त्रण सम्भव नहुने भएकाले यसलाई रोक्न सवै एकजुट हुनुपर्ने बताएका थिए । नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको बाटो हुँदै खाडीमा बेचिने गरेको र बढी भारतको कोठीमा केन्द्रित भइ बेचिन पुगेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने उनीहरुको भनाइ छ ।

मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवरजस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट बेचबिखनको प्रवृति फेरिँदै गएको अवस्था रहेको छ ।

पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोका दिएर जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, छाला झिक्ने, बेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउँदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, माइती नेपालका १ नम्बर प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले बोलेका थिए ।

सोही अवसरमा प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौबाट प्राप्त सन्देशमूलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्डको समेत नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए । यस प्रकारको डिस्प्ले बोर्ड नेपालमै पहिलोपटक पूर्वी नाकामा राखिएको हो । व्यूरोले सन्देशमूलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्ड देशका सवै भागमा राख्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here