मनसुनजन्य विपद् र प्रतिकार्य

१६ असार २०७९, बिहीबार मा प्रकाशित

मनसुनविद्हरुले यो वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेका छन् । उनीहरुको आंकलन अनुरुप नै यो वर्ष समयभन्दा अघि नै मनसुन शुरु भई क्षति गर्न थालेको छ । मौसमविद्हरुको आंकलनसँगै राष्ट्रसंघीय कार्यक्रम युएनडीपीका विपद्विज्ञ देवेन्द्रराज बाँस्कोटाले पनि यो वर्ष मनसुनी विपद्बाट सत्र लाख मानिस प्रभावित हुन सक्ने भन्दै प्रतिकार्य स्वरुप गरिने क्रियाकलाप, स्रोतको व्यवस्थापन र जनशक्ति तयार गर्न सरकारलाई सुझाव दिएका थिए । यसबेला मनसुनको प्रभाव उच्च रहेको र दुई दिनदेखिको अविरल वर्षाले मानवीय तथा भौतिक क्षति पु¥याउन थालेको सन्दर्भले मनसुनीविपद् अझै भयावह बनिने संकेत गरेको छ । गृहमन्त्रालयले नै अहिलेसम्ममा दुई सयभन्दा बढी घटना भइसकेको जनाएको छ । बाढीको एक, पहिरोको चार, भारी वर्षाको तीन, चट्याङको चौबीस वटा घटना भइसकेको जनाइएको छ । यस्तै विपद्मा परेर पच्चीस दिनमा एकतीस जनाको ज्यान गएको छ भने सन्ताउन्न जना घाइते भएका छन् । यसले आगामी दिन थप चुनौतिपूर्ण हुने अनुमान गर्न सकिन्छ ।

मौसम विभागले आफ्ना वर्षामापन केन्द्रहरुमा वर्षाको रेकर्ड हुने गरेको जनाएको छ । प्रदेश नम्बर १ मा अति सक्रिय रहेको मनसुनको प्रभाव अझै दुई दिनसम्म रहने उसको आंकलन छ । मनसुनी वर्षाको प्रभाव आउँदो असोजसम्म जारी रहने मौसम विभागको पूर्वानुमानलाई आधार मान्दा गत वर्षभन्दा यो वर्ष बढी क्षति हुनसक्ने देखिएको छ । यस्तोमा विपद् प्रतिकार्य टोलीले पूर्व तयारी राम्रोसँग गरी स्थानीय निकायसँग समन्वय गर्न सके सम्भावित जोखिम र क्षति कम गर्न सकिन्छ । निरन्तरको वर्षाले यसबेला तराईका जिल्लाहरुमा डुवानको समस्या देखिएको छ । त्यस्तै जोखिमयुक्त नदीको तटीय क्षेत्रमा कटानको समस्या पनि उत्तिकै छ । यसमा अव्यवस्थित शहरीकरण मुख्य दोषी छ भने नदीहरुलाई ढलहरुको निकास बनाइएका कारण पनि डुवानको समस्या देखिएको छ ।

यो विपद्मा सबैभन्दा बढी भूमिका र जिम्मेवारी स्थानीय सरकारको रहन्छ । विगतको मनसुनजन्य विपद्का क्षति, प्रतिकार्यका प्रयास र सिकाइ समेटेर पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिनुपर्दछ । तर, अहिले मनसुन अति सक्रिय भएको अवस्थामा स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान उद्धार तथा राहतमै केन्द्रीत हुनुपर्दछ । हामीकहाँ निर्वाचनताका ठूल्ठूला प्रतिबद्धता र आश्वासन बाँड्ने उम्मेदवारहरु मात्रै होइन, विजयी पनि विपद्का समय मौन बस्छन् र फेरि पनि आश्वासन बाँड्न रमाउँछन् । होइन र जनप्रतिनिधि जनताप्रति उत्तरदायी र जिम्मेवार हुन्छन् भने अनुभवबाट सिकेर जोखिमयुक्त नदीहरुमा तटबन्ध गर्न अघि सर्नु पर्दछ । त्यस्तै दीर्घकालीन योजनाका साथ ढल निर्माण गरी निकासको उचित प्रबन्ध मिलाउनुपर्छ । झापाका बिर्तामोड, भद्रपुर, मेचीनगर, कमल, कन्काई, शिवसताक्षी, दमक, झापा लगायतका पालिकाहरु बाढी र डुबानको उच्च जोखिममा रहेकाले पूर्व तयारी र प्रतिकार्यमा स्थानीय पालिका देखिने गरी अघि आउनु पर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here