भद्रपुर नाकामा नेपाली नागरिकमाथि एसएसबीको ज्यादती

0
278

झापा,

भद्रपुर–गलगलिया सीमा नाकामा तैनाथ भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले फेरि कडाइ सुरु गरेको छ।

एसएसबीले परिचयपत्र नबोकेका नेपाली नागरिकलाई सीमामै रोक लगाउन थालेको छ। एसएसबीको कडाइले किनमेलका भारतीय सीमा बजार पुग्ने नेपाली नागरिकले सास्ती झेल्नु परेको छ। भारतीय बजारबाट नेपाली नागरिकले घरायसी प्रयोजनका लागि ल्याएका खाद्यान्न समेत लैजान पाइँदैन भन्दै फर्काउन थालेका छन्।

भद्रपुर–गलगलिया नाकामा एसएसबी ४१ बटालियनको टोली परिचालन गरिएको छ। टोलीको कमाण्डर नीलमणि कुमार छन्। उनको कमाण्डमा नयाँ टोली १५ दिनअघि जिम्मेवारी लिएर गलगलिया नाका आएका हुन्। ‘केही दिन अघिसम्म सामान्य थियो, त्यस्तो केही रोकटोक थिएन,’ स्थानीय भोला राजवंशीले भने, ‘दुई\चार दिनदेखि एसएसबीले नाकामा कडाइ सुरु गर्‍यो। पाँच किलोभन्दा बढी खाद्यान्न लैजान नपाइने भन्दै फर्काउन थाल्यो।’

नेपाली बजार भन्दा भारतमा खाद्यान्न सस्तो पाइने भएकोले दैनिक सयौँ नेपाली गलगलिया बजार जाने गरेका छन्। पूर्व जानकारीविनै एसएसबीले यसरी सीमामा दुःख दिन थालेकोप्रति स्थानीय कुवेर पौडेलले आक्रोश पोखे। ‘एसएसबीको मनपरी बढ्न थालेको छ। केही भन्न खोज्दा उल्टै हप्काएर फिर्ता पठाइदिन्छ’, उनले भने, ‘सीमा भारतीय पक्षको ज्यादती कहिलेसम्म नेपाली जनताले भोग्नुपर्ने हो? बरु सीमामा काँडेतार लगाएर सधैँका लागि बन्द नै गरिदिए हुन्थ्यो।

तस्करको रिस आम सर्वसाधारणमाथि !

भद्रपुर– गलगलिया सीमा नाकामा लाइनमेन (तस्कर) ले सेटिङ मिलाएर सामान भित्र्याउँदै आएका छन्।

भन्सार कडाइले गर्दा लाइनमेनहरूले सीमा तैनाथ दुवै देशका सुरक्षाकर्मीलाई सेटिङ मिलाउने र समय अनुकुल मिलाएर सरसामान नेपाल भित्र्याउँछन् । त्यसमध्ये केहीले एसएसबीलाई थाहै नदिई राति सामान नेपाल भित्र्याउन खोज्दा बिहीबार राति दुवै पक्षबीच घम्साघम्सी भएको थियो।

एक समूहले एसएसबीलाई मिलाएर सामान नेपाल छिराएपछि अर्को समूहले पनि सामान जबरजस्ती छिराउन खोज्दा एसएसबीले उनीहरूको एक झोला सामान समात्यो। सामान समातेको निहुँमा ती समूहले एसएसबीमाथि ढुंगा प्रहार गरे। एसएसबीमाथि ढुंगा प्रहार गरेको भोलिपल्टदेखि नै सीमा नाकामा एसएसबीले सर्वसाधारणमाथि कडाइ सुरु गरेको हो।

यस्तो घटना प्रायः भद्रपुर नाकामा भइरहन्छ। सेटिङ मिल्दा यो घटना कसैलाई थाहा हुँदैन। नमिल्दा सीमामा लाइनमेन र एसएसबीबीच द्वन्द्व सुरु हुन्छ। एसएसबी मात्र नभई नेपालका सुरक्षाकर्मीसँग पनि यस्तै भइरहन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here