१५ महिनामा चार प्रहरी निरीक्षक फेरिए

0
379

(पार्थ मण्डल)
भद्रपुर, कात्तिक २४ । झापाको भद्रपुर स्थित वडा प्रहरी कार्यालयमा १५ महिनाको  अवधिसम्म चारजना प्रहरी निरीक्षक इन्स्पेक्टर फेरिएका छन् ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) फेरिएसंगै नगरबासी विदाई तथा परिचायत्मक कार्यक्रममा उपस्थित हुँदा हैरानी वेहोर्नु परेको बताएका छन् । नेपाल प्रहरी संगठनको नियम अनुसार अधिकृत स्तरको कर्मचारी कम्तीमा एक बर्ष दरबन्दी रहेर जिम्मेबारी पूर्वक काम गर्नुपर्ने कानुनी प्रावधान रहेपनि सो नियमको पालना प्रहरी संगठन भित्रैबाट भएको पाइदैन ।  दरबन्दीमा आएका प्रहरी निरीक्षक सक्षम नभएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न विवादित मुद्धा उठाएर तत्काल दरबन्दीका इन्स्पेक्टरलाई सरुवा गराउने र आफू नजिकिएका इन्स्पेक्टरलाई काजमा पठाउने खेल वडा प्रहरी कार्यालय भद्रपुरमा चल्दै आएको स्थानीयको भनाई छ । झापाको काकरभिट्टापछि भद्रपुर नाकालाई अति संवेदनशील क्षेत्र मानेर नेपाल प्रहरी संगठनले गत आर्थिक बर्ष २०७०।७१ को सुरुवातसगै वडा प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरबृद्धि गर्दै प्रहरी निरीक्षक सहित ९५ जना प्रहरीको दरबन्दी कायम गरेको छ । साथै वडा प्रहरी कार्यालयलाई मेचीपारी र महेशपुर प्रहरी चौकी रेखदेख गर्ने जिम्मेबारी समेत दिइएको छ । यो भन्दा अगाडि वडामा हवल्दार, सहायक प्रहरी निरीक्षक (असई), प्रहरी नायव निरीक्षक (सई) सम्मले इन्जार्च भएर काम गरिसकेको वडाको तथ्याङ्गले देखाउँछ ।
इन्स्पेक्टर दरबन्दी भएदेखि नै जिल्ला प्रहरी कार्यालय झापाबाटै भित्री चलखेल हुने गरेकाले वडामा इन्स्पेक्टर फेरिदै आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार सिमाक्षेत्र तथा विभिन्न किसिमको आयआर्जन हुने नाकामा भद्रपुर परेकाले  राजनीतिकदल तथा प्रहरी संगठनका प्रमुखले आ– आफनो नजिकको व्यक्तिलाई पठाउने र त्यसबाट आर्थिक फाइदा लिने परिपाटीले गर्दा इन्स्पेक्टर फेरिदै आएको बताउँछन् ।
यता वडामा पहिलो पटक दरबन्दी भएर आएका इन्स्पेक्टर जगन्नाथ खनाल २०७०  साउन २१ गते वडामा हाजिर भएका थिए । शान्त र मिलनसार स्वभावका इन्स्पेक्टर खनाल भद्रपुरको चलखेलबाट बेखर रहेका थिए । त्यहीभएर उनलाई  माघ १८ गते घण्टे पुर्जी कटाउदै जिल्ला प्रहरी कार्यालयको चलखेलमा पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगर सरुवा गराईदिए । भद्रपुरमा माघ महिना भएको सुख्खा सुपारी काण्डको आरोप लगाउदै खनाललाई सरुवा गराइयो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालयले आफ्नै नजिकको इन्स्पेक्टर बसन्तकुमार शर्मालाई काजमा भद्रपुर ल्याए । शर्मा माघ १९ गते हाजिर भएको देखिन्छ । त्यसपछि शर्माले दुई महिना राम्रो काम गरी नगरबासीको मनमा बस्न सफल भए तर त्योसब देखावटी सावित बन्दै गएको छ । शर्माले सानो व्यक्तिलाई दुःख दिएर ठूला व्यक्तिसंग साठगाठमा बसे । उनले त्यसबाट आर्थिक फाइदा उठाउन थालेपछि वडामै दरबन्दी कायम गराउने गृहमन्त्रालयसम्म पुगे । तर, गृहमन्त्रालयले भदौमा उनको सरुवा बाके जिल्ला गराइदियो ।  त्यहीपनि सरुवा भएका शर्मालाई जिल्ला प्रहरी कार्यालयले दरबन्दी भएको जिल्ला पठाउन चाहेन् ।
दरबन्दी भएको स्थानमा शर्मालाई नपठाएको भन्दै एक महिनापछि पूर्वक्षेत्रिय प्रहरी कार्यालय विराटनगरले तत्काल चौबिस घण्टा भित्र शर्मालाई दरबन्दी भएको स्थानमा पठाउन जिल्ला प्रहरी कार्यालयलाई पत्रचार ग¥यो ।  अन्ततः शर्मा २०७१ असोज ५ गते सरुवा भए । शर्माले सो अवधिभर १० लाख बढी कमाउनुका साथै जिन्सी समानहरु समेत लगेको प्रहरी स्रोतको दावी छ ।
शर्माको सरुवा पश्चात नै वडामा जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा रहेका इन्स्पेक्टर टीकाबहादुर कार्की असोज ६ गते काजमा आए । दशै र तिहारको समयमा आएका कार्की पनि शर्माकै बाटो तर्फ आकृषित बन्दै गएका थिए । त्यहीभएर कार्कीको समयमा भन्सार छलेका कुनै अवैध सामाननै बरामद भएन् न त खुल्लेआम सञ्चालति जुवातास नै बन्द भयो । अन्नत कार्कीको पनि सरुवा कात्तिक २१ गते भयो ।
अहिले वडामा गृहमन्त्रलायबाटै दरबन्दी भएर इन्स्पेक्टर राकेशकुमार पोद्धार आएका छन् । पोद्धार कात्तिक २१ गतै नै वडामा हाजिर भएका छन् । पोद्धार आएपछि आइतबार भद्रपुरका राजनीतिकदल, नागरिकसमाज, संघसस्थाका प्रतिनिधि, पत्रकारहरुसंग परिचायत्मक कार्यक्रम गरेका थिए । तर, परिचायत्मक कार्यक्रममा भने पहिला भन्दा न्यून उपस्थिति रहेको थियो । उपस्थिति मध्ये केहीले कानाखुशी गर्दै भने नयाँ इन्स्पेक्टर भेटघाट गर्दै दिनबित्ने भयो, अव उनी कस्तो बाटोमा हिड्छन् हेर्न वाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here