वि.सं. २०२० साल पौष १२ गते झापा जिल्लाको घेराबारी–५ मा जन्मनुभएका निर्मलकुमार पाण्डे भारतको बिहार स्थित एल.एन.एम.यु.बाट एम.कम.सम्मको अध्ययन समाप्त गरी २०४८ मंसीरदेखि बिर्तामोड स्थित कन्काई क्याम्पसमा प्राध्यापन कार्यमा संलग्न रहनु भयो । एकाउण्ट विषयमा राम्रो दख्खल भएको मानिने उहाँ कन्काई क्याम्पस बिर्तामोडमा २०६० देखि २०६५ सालसम्म क्याम्पस प्रमुखको जिम्मेवारीमा समेत रहनु भएको थियो ।
निर्मलकुमार पाण्डे
क्याम्पस प्रमुख, इन्द्रेणी क्याम्पस, रामचौक, बिर्तामोड
त्यसै अवधिमा क्याम्पसमा विद्यार्थी संख्यामा भारी वृद्धि भयो र क्याम्पसको शैक्षिक स्तर पनि आकासियो । हाल वहाँ कनकाई क्याम्पस बिर्तामोड सम्पूर्ण रुपमा छोडी आफ्नो सम्पूर्ण समय अर्पण गर्ने उद्देश्यका साथ इन्द्रेणी क्याम्पस विर्तामोडको क्याम्पस प्रमुखको पदमा हुुनुहुन्छ । वहाँले लेख्नु भएका कक्षा ११, १२ तथा स्नातक तहका एकाउण्ट विषयका पाठ्यपुस्तकहरु समेत प्रकाशित छन् । यसै परिप्रेक्ष्यमा इन्द्रेणी क्याम्पसको स्थापनाको उद्देश्य, क्याम्पसको अवस्था र भावी लक्ष्यका सम्बन्धमा वहाँसँग गरिएको छोटो कुराकानीको अंश प्रस्तुत गरिएको छः–
इन्द्रेणी क्याम्पसबारे केही कुरा बताइदिनु हुन्छ कि ?
–प्राध्यापन कार्यमा लामो अनुभव भएका साथीहरुको संलग्नतामा २०७१ सालदेखि त्रि.वि.वि.बाट सम्बन्धन प्राप्त गरी सञ्चालन गर्न लागिएको एउटा निजी क्याम्पस हो इन्द्रेणी क्याम्पस । यो बिर्तामोड नगरपालिका–२ स्थित रामचौकबाट करीब २ सय मिटर दक्षिण, शान्त वातावरण भएको आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालन हुन लागेको छ ।
स्नातक तहका कार्यक्रम सञ्चालन भइरहेका अन्य क्याम्पस हुँदाहुँदै यो क्याम्पस स्थापना गर्नुका के के कारण होलान् ?
–हाल बिर्तामोडमा सञ्चालित क्याम्पसहरु धेरै अव्यवस्थित र होहल्लायुक्त वातावरणमा सञ्चालन भइरहेका छन् । हल्लाखल्ला र बजारको प्रभाव भित्र परेका क्याम्पसमा शिक्षण–सिकाइ क्रियाकलाप गर्न अत्यन्तै अप्ठ्यारो पर्छ । विद्यार्थीहरुलाई ध्यान केन्द्रित गर्न पनि समस्या हुन्छ । शिक्षण र व्यवस्थापनमा लामो अनुभव भएकै कारण हामीले फरक ढंगबाट शान्त वातावरणमा आफ्ना अनुभवहरुको प्रयोग गर्न चाहेका हौं । इमान्दारितापूर्वक काम गर्ने हो भने छोटो अवधिमा आम विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सकिन्छ भन्ने लागेको छ । हामी योजनबद्ध र प्रतिफलमुखी तवरले शिक्षण गर्छौं । हाम्रो प्रतिबद्धता भनेकै उत्कृष्ट नतिजा दिने र विद्यार्थीहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञानका दुवै क्षितिजलाई फराकिलो बनाउने हो ।
क्याम्पसका खास खास विशेषता के के छन् ?
—पहिलो वर्ष भएकाले निःशुल्क एड्मिसन लिइने छ । बिर्तामोड क्षेत्रका लोकल विद्यार्थीको लागि यातायात सुविधा निःशुल्क प्रदान गरिनेछ । सबैभन्दा ठूलो कुरा अब्बल टिम छ हामीहरुसँग । वर्षौं शिक्षा क्षेत्रमा काम गर्नुभएका शिक्षक–प्राध्यापकको टिम र हामीसँग रहेको टिम स्पिरिटकै कारण हामी उत्कृष्ट नतिजा प्राप्त गर्दै क्याम्पसलाई अभिभावकको मनमा स्थापित गराउन सफल हुनेछौं । पहिलो वर्षदेखि नै विभिन्न बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी इन्टर्नसिपको व्यवस्था गर्न लागेका छौं । यसले व्यवस्थापन तथा वित्तशास्त्रको सैद्धान्तिक अध्ययन गर्ने विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगसँगै व्यवहारिक ज्ञान समेत हासिल गर्ने अवसर दिनेछ ।
क्याम्पसका भावी योजनाहरुबारे बताइदिनोस् ।
–हाम्रो समूहले २०६५ सालदेखि कन्काई क्याम्पसको साइन्स ब्लक सञ्चालन गर्दै आएको छ । स्थापनाकै सालदेखि बिर्तामोडमा उच्च मा.वि.तहको विज्ञान कार्यक्रममा सर्वाधिक सफलता प्राप्त गर्न सफल रह्यौं । त्यसपछि हाम्रो उत्साह र हौसलामा वृद्धि भयो । गत बैशाखदेखि रामचौकमै निदि उच्च शिक्षा निकेतनको नाममा नर्सरी देखि कक्षा १० सम्मको विद्यालय तहको शैक्षिक कार्यक्रम समेत शुरु गरिएको छ । यसलाई व्यवस्थापन गर्दै समय सान्दर्भिक व्यवहारिक क्षेत्रका विषय थप्दै लाने र क्याम्पसलाई शिक्षा क्षेत्रको एक चम्किलो संस्थाको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ । जसरी सात आकर्षक रंगहरुको समानुपातिक सेटबाट सुन्दर इन्द्रेणी बन्छ, त्यसरी नै हाम्रो अनुभव, शहरको अशान्तिबाट टाढा शान्त वातावरणमा आवश्यक भौतिक पूर्वाधारको सन्तुलित व्यवस्थापनबाट हाम्रो क्याम्पस पूर्वकै एक नमुना क्याम्पस बन्नेछ । हामी यो शैक्षिक संस्थालाई पूर्वकै नमुना संस्थाको रुपमा स्थापित गर्न चाहन्छौं ।
अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ?
–विविध विषयका खोजमूलक लेख, रचना, समाचार र सन्दर्भहरु प्रकाशित गरेर आम मानिसलाई सही सूचनाको सम्प्रेषण गरिरहेको पूर्वाञ्चल दैनिक पत्रिका पूर्वाञ्चलवासीको लागि सर्वप्रिय पत्रिका हो । म समस्त क्याम्पस परिवारको तर्फबाट यो पत्रिकाले सफलताको अझ सिँढी चढोस् भनी उज्ज्वल भविष्यको शुभकामना दिन चाहन्छु ।
प्रस्तुतिः तीर्थराज खरेल