[गौरव पोखरेल]
बिहानी स्वोर्णिम किरणका प्रकाशरुपी तरङ्गहरु मावन ह्दयमा छचल्किने बखतको समयमा गरिने नियमित नित्य कर्ममा भइरहेको कार्यसम्पादका कुराहरुलाई मनन् गरेर प्राणी मध्येको सर्वश्रेष्ठको दर्जामा आउने मानव जातिले सिङ्गो दिनको विषयमा लख काट्ने गर्दछ । कुनै पनि विषयको बहसमा नितान्त विचारकका रुपमा आफ्नो दक्षलाई शोभायामान गराउन तम्सिरहने मानव जाती त्यसैले भन्ने गर्छ–“दिवाको संकेत बिहानीले गदर्छ ।” यसै सन्दर्भमा कुनै पनि किसिमका काम अथवा भनौं कार्यको श्री गणेश गर्ने समयमा भएका वा भइरहेका विपुल या सुक्ष्म कुनै पनि किसिमका कार्यहरुको वेगलाई समीक्षात्मक रुपले समालोचनात्मक तवरबाट सोच्दै मानिसले आफ्नो सिङ्गो दिनको पूर्वानुमान गर्ने गर्दछ । त्यसैले पनि कुनै दिनको आरम्भको समयमा वा कुनै पनि कार्यको थालनीको समयमा आफ्नो कार्यले राम्रो गति लिएको छ भने सो सो कार्य निर्वाद रुपमा सञ्चालन हुने कुरा मानव मष्तिस्कले ठम्याउन पुग्छ । तर यदि कुनै पनि कार्यको आरम्भको समयमा आफ्नो सम्बन्धित कार्यले द्रुत गतिको वेग पकड्न नसकेको अवस्थामा भने उक्त कार्य सहज रुपमा सम्पादन हुन नसक्ने कुरा मानव जातिले अनुमान गर्न थाल्छ । तसर्थ यही सन्दर्भलाई मनन् गरेर नेपाली समाजरुपी गगनका बालबालिकाहरुको क्षेत्रमा बेथितिको रुपमा रहेको बाल श्रमलाई पराहको समाजबाट कोशैं कोश टाढा राख्न आजैबाट विविध कदमहरु चाल्न आवश्यक रहेको देखिन्छ ।
बाल सरोकार
नेपाली समाजको परिपे्रक्ष्यमा १६ वर्ष मुनिका तथा विश्व परिवेशको सन्दर्भमा १८ वर्ष मुनिका मानसिक, शारीरिक तथा संवेगात्मक रुपले कमजोर र अपरिपक्व मानवहरु नै बालबालिका हुन् भने बालबालिकाहरुलाई सामाजिक, आर्थिक, नैतिक तथा भौतिक सहायता दिने प्रलोभनमा पारी उनीहरुको सर्वोत्तम हित विपरित रुपले श्रममा प्रयोग गर्नुलाई नै बाल श्रम भनिन्छ । नेपाली समाजमा गरिएको पछिल्लो एक सर्वेक्षणका अनुसार यहाँका ५ वर्ष देखि १४ वर्ष उमेरका लगभग ४९ लाख बालबालिकाहरु मध्ये २० लाख अर्थात् ४१ प्रतिशत बालबालिकाहरु विभिन्न किसिमका श्रममा संलग्न रहेको पाइएको छ । यसका साथै नेपालका लगभग १ लाख बालबालिकाहरु निकृष्ट श्रम गरिरहेको सोही तथ्याङ्कले जनाएको छ । नेपाली भू–भागमा समय–समयमा विभिन्न संघ–संस्थाहरुद्वारा गरिने बालबालिकाहरुसँग सम्बन्धित तथ्याङ्क संकलन कार्य र यसको नतिजाले पनि प्रष्टैसँग वकालत गर्छ कि नेपाली समाजमा अझैँ पनि कयौं बालबालिकाहरु आफ्नो प्राथमिक अधिकारहरुबाट पनि बञ्चित भएका छन् ।
नेपाली समाजमा बाल श्रमको जञ्जिरमा बाँधिन बाध्य भएका कुल २७ लाख बालबालिकाहरु मध्ये ९४.७ प्रतिशत बालबालिकाहरु कृषिजन्य क्षेत्रमा, १.५६ प्रतिशत विभिन्न किसिमका सेवाका क्षेत्रमा, १.५६ प्रतिशत निर्माण तथा यातायतको क्षेत्रमा, ०.८४ प्रतिशत सामान्य किसिमका प्राविधिक क्षेत्रमा, ०.७८ प्रतिशत औद्योगिक क्षेत्रमा तथा ०.४२ प्रतिशत बालबालिकाहरु विभिन्न समाग्रीहरुको बिक्री वितरणका क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष रुपमा श्रम गरिहेको तथ्याङ्क रहेको छ । तर यता भविष्यका कर्णधार तथा आधारस्तम्भका रुपमा लिइने बालबालिकाहरुलाई श्रम प्रयोग नगरियोस् भन्ने हेतुले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी एवम् गैर सरकारी संघ–संस्थाहरुले विभिन्न किसिमका ऐन, नीति तथा कानुनहरुको तुर्जमा गरेका छन् । यही क्रममा सन् २००२ बाट अन्तराष्ट्रिय श्रम संस्था (आइ.एल.ओ) को अग्रसरतमा बाल श्रमिकहरुको हक, हित र अधिकारको संरक्षण गर्ने हेतुले प्रत्येक वर्ष बाल श्रमिक दिवस पनि मनाइने गरिएको छ । आइएलओका अनुसार विश्व भरीमा कुल २० करोड बढी बाल श्रमिक रहेका छन् भने त्यस मध्ये पनि १० करोड भन्दा बढी बालबालिकाहरु नितान्त निकृष्ट श्रमहरु (जस्तै विभिन्न किसिमका द्वन्द्वमा सामेल, लागु औषध ओषारपसारमा प्रयोग, अन्य विभिन्न किसिमका कानुन विपरितका कार्यहरुमा प्रयोग इत्यादी) गरिहेका छन् ।
बालबालिकाहरुको क्षेत्रमा आज मौलाई रहेको बाल श्रमलाई निषेध गर्ने प्रक्रियामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा २२ मा कुनै पनि नाबालकलाई कलकारखाना, खानी वा यस्तै अन्य कुनै जोखिपूर्ण काममा प्रयोग गर्न वा सेना, प्रहरी वा द्वन्द्वमा प्रयोग गर्न पाइने छैन भनेर भनिएको छ । यस्तै नेपाली समाजको बाल अधिकार सम्बन्धी ऐन, २०४८ को दफा १३ मा बालबालिकाहरुलाई माग्ने काममा लगाउनु वा मुड्नु नहुने, दफा १६ मा उनीहरुलाई अनौतिक पेशामा लगाउन नहुने र दफा १८ मा बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने वा जीउ ज्यानमा खतरा पुग्न सक्ने किसिमका निकृष्ट काममा लगाउनु नहुने व्यवस्था रहेको छ । यसका साथ साथै बाल श्रमलाई निषेध गर्नै उद्देश्यले बाल श्रम निषेध तथा नियमित गर्ने ऐन, २०५६, बाल श्रम (निषेधित तथा नियमित) गर्ने नियमावली, २०६६, बालबालिका सम्बन्धी राष्ट्रिय नीति २०६९ पारित भएका छन् ।
अन्तराष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१६ सम्ममा निकृष्ट बाल श्रमको अन्त्य गर्ने लक्ष्य बोकेर प्रगति पथमा लम्की रहेको छ । यस यानिकी सन् २०१४ को जुन १२ तारिकमा मनाइएको बाल श्रमिक दिवसमा आइ.एल.ओ.ले बालबालिकाहरुलाई बाल श्रमबाट कोशैं कोश टाढा राख्न सामाजिक सुरक्षाको भूमिका के हुन सक्ला भन्ने विषयमा सन्बन्धित निकायलाई सचेत बनाउने उद्देश्य अन्तराष्ट्रिय रुपमा नै लिएको थियो । वर्तामान परिप्रेक्ष्यमा विश्वको परिधि बाल श्रममा संलग्न रहेकका २० करोड बढी बालबालिकाहरु भने बाल श्रममा प्रयोग त भएकै छन् यसका साथै आफ्नो प्राथमिक अधिकार शिक्षा, स्वास्थ्य तथा स्वतन्त्रताबाट पनि बञ्चित भएका छन् । यसले पनि प्रष्टैसँग वकालत गर्छ कि भविष्यका कर्णधार तथा आधारस्तम्भ भनेर आफ्नो भाषणमा फुकिरहदाँ बालबालिकाहरुको सर्वोत्तम हित कदापी पनि हुन सक्दैन । आजको सूचना र प्रविधिको युगमा विश्व आइ पुग्दा त झन् बालबालिकाहरुलाई भविष्यको कर्णधार तथा आधार स्तम्भ भनिने भनाई सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रशारण गरिने विज्ञापन सरह भएका छन् भन्दा पनि अतिशयुक्ति हुँदैन । तसर्थ सिङ्गो विश्व समाजले पराहको कर्णधार, विश्व सञ्चालक बालबालिकाहरु प्रति सकारात्मक सोचका साथ सोही अनुरुपको व्यवहार गर्न आवश्यक रहेको देखिन्छ ।
विश्व भरी प्रत्येक वर्षको जुन १२ तारिखका दिन मनाइने अन्तराष्ट्रिय बाल श्रमिक दिवस, बाल श्रमका विरुद्धमा विभिन्न समयमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रम, विशेष अभियान लगायतले सम्बन्धित राष्ट्र, सरकार पक्ष, बाल श्रम उन्मुलनका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरु, नागरिक समाज, विश्वव्यापी रुपमा छरिएर रहेका आमजनमानस, आम सञ्चारमाध्यम तथा अन्य सम्बन्धित निकायहरुलाई बाल श्रम निषेधका लागि विशेष शिक्षा अथवा भनौं अभियानका निमित्त उर्जा तथा प्रेरणा दिने गर्दछन् । आइएलओका अनुसार विश्व भरीका विभिन्न देशहरुमा रहेका बाल श्रमिकहरुको तथ्याङ्कहरु मध्ये नेपालको तथ्याङ्क पनि अग्र स्थानमा आउने गरेको छ । तसर्थ बाल श्रमको विकराल समस्याबाट गुज्रिरहेको नेपाली समाजबाट यसलाई उन्मुलन गर्न विविध कदमहरु आजैबाट चाल्न जरुरत रहेको देखिन्छ ।
कुनै पनि व्यक्ति, संघ–संस्था तथा अन्य निकायले बालबालिकाहरुलाई सामान्य किसिमका श्रममा प्रयोग गर्दा पनि उनीहरुलाई सम्बन्धित श्रममा प्रयाग गर्ने कार्यालय तथा श्रमिक बालबालिकाको अभिभावकको स्वीकृति तथा सहमति बिना उनीहरुलाई श्रममा प्रयोग गर्न नपाइने व्यवस्था रहेको छ । त्यसमा पनि बालबालिकाहरुलाई विहान ६ बजेबाट बेलुकी ६ बजे भित्रको समयमा मात्र श्रममा प्रयोग गर्न पाइने तथा उनीहरुलाई दिनमा ६ घण्टा तथा हप्तामा एक दिन आराम गर्ने समय दिएर जम्मा ३६ घण्टामा श्रममा लगाउन पाइने प्रावधान रहेको छ । यसका साथ साथै बालबालिकाहरुलाई ३ घण्टामा श्रम गरे पश्चात कम्तिमा पनि आधा घण्टाको विश्राम गर्ने समय तोकिनु पर्ने नियम रहेको छ । यता बालबालिकाहरुलाई श्रम प्रयाग गरे पछि उनीहरुको श्रमको उचित मूल्याङ्कन गर्दै सोही अनुरुपको पारिश्रमिक तथा सेवा सुविधाहरु दिनु पर्ने व्यवस्था रहेको छ । तसर्थ बालबालिकाहरुलाई श्रममा प्रयोग गर्ने व्यक्ति, संघ–संस्था, तथा सरोकारवाला निकायहरुले यस विषय प्रति एक पटक चिन्तन मनन् गरी सचेत तथा सजक हुन एवम् बाल श्रमको विषयमा तयार भएका ऐन कानुनहरुको संसर्गमा आउन पनि जरुरत रहेको देखिन्छ ।
बालबालिकाहरु नितान्त कल्पनाशील तथा जिज्ञासु स्वभावका हुन्छन् । उनीहरुको बाल मानसपटलले के सही ? के गलत ? भन्ने कुराको पूर्ण रुपमा छुट्टयाउन क्षमताको समेत विकास भएको हुँदैन । तसर्थ, भविष्यमा देशलाई सञ्चालन गर्नै उद्देश्य आफू भित्र निहित गरी परिवर्तनका संवाहरुपी नवीन जोश, जाँगर र उत्साह बोकेका बालबालिकाहरुलाई बाल श्रमबाट विशुद्ध बनाउनका लागि विभिन्न ऐन, कानुन, नीति, नियमहरुको तुर्जमा भइरहेका आजको अवस्थामा ती नीति, नियम, ऐन कानुनको प्रभावकारी कार्यन्वयनको अभाव खड्किन नदिने परिस्थितिको सिर्जना गर्नु आजको समयको माग हो । यता सञ्चार माध्यमहरुबाट पनि बाल अधिकार हनन्का विषय, बाल दुव्र्यवहारका विषय र बालबालिकाहरुको हित विपरितका अन्य विभिन्न विषयवस्तुलाई समाचार बनाएर बडो प्राथमिकताका साथ प्रथम पृष्ठमा प्रकाशन तथा प्राथमिकताका साथ प्रशारण गर्दैमा बालबालिकाहरुले उनीको अधिकार पूर्ण रुपमा पाउन सक्दैनन् । तसर्थ एक पटक सम्पूर्ण जनमानसहरुले सोच्नै पर्ने बेला आएको भविष्यको समाजरुपी गगनमा आमुल परिवर्तनकारी विगुलहरुको सङ्खघोष गर्न आजबाट बालबालिकाहरुको क्षेत्रमा रहेर केन्द्रका साथ साथै मोफलमा पनि विभिन्न किसिमका कार्यक्रमहरुको सञ्चालन गर्न जरुरत देखिन्छ । यसका साथै बालबालिकाहरुको निमित्त ऐन, कानुनको तर्जुमा गर्ने बखतको समयमा बाल सहभागिता बिनै वयस्कहरुले बालबालिकाहरुको कानुन निर्माण गर्दा बालबलिकाहरुका विषयमा थुप्रै विषयवस्तुहरु छुट्न जान्छ । तसर्थ बालबालिकाहरुसँग सम्बन्धि ऐन, कानुनहरुको निर्माण गर्दा समेत बालबालिकाहरुको पूर्ण सहभागितामा निर्माण गरिनु आवश्यक रहेको छ ।
जबसम्म ऐन कानुनहरुको फितलो कार्यान्वयनको इतिश्री हुँदैन तबसम्म बाल श्रम पनि कदापी अन्त्य हुन सक्दैन । बालबालिकाहरुको विषयमा विभिन्न नीति नियम, अवधारण पत्र, घोषणा पत्र, इत्यादीहरु कागतका पानामा लिपिबद्ध भएर मात्र पनि बाल श्रमको पूर्ण रुपमा उन्मुलन हुँदैन । अतः बालबालिकाहरुको अधिकार, हक, हित एवम् स्वतन्त्रता लगायतका विषयमा वकालत गर्ने सम्पूर्ण सम्बन्धित निकाय, व्यक्ति तथा संघसंस्थाहरुले बालबालिकाहरुलाई बगैँचामा फूल्ने बास्नादार फूल झैँ मगमगाई रहने परिस्थितिको सृजना गर्न अब जागरुक हुन आवश्यक रहेको छ । यसर्थ आज हामी सबै एउटा प्रतिज्ञा, बाचा गरौं कि हामी सबै एकजुट भएर बाल श्रमको उन्मुलन गर्न तर्फ जागरुक हुनेछौं ।
(लेखक जिल्ला बाल क्लब सञ्जाल–झापाका अध्यक्ष हुन्)