आज श्रीकृष्ण जन्माष्टमी

३ भाद्र २०७९, शुक्रबार मा प्रकाशित

ज्ञान, कर्म र भक्तियोगका प्रणेता भगवान श्री कृष्णको जन्मदिनलाई कृष्णाष्टमीका रुपमा मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र महिनाको अष्टमी तिथिको मध्यराति श्रीकृष्णको जन्म भएको थियो । चारैतिर कडा सुरक्षा हुँदाहुँदै पनि भगवान विष्णुको मोहित पार्ने शक्तिका कारण सुरक्षामा खटिएका सेना गहिरो निद्रामा परेर उनी बाँच्न सफल भएको पौराणिक आख्यानमा उल्लेख छ । राजा कंशको मृत्युको कारण उनै बहिनीका सन्तान हुने भनिएकाले देवकीका त्यसअघिका सात वटा सन्तानको हत्या भएको थियो । त्यसपछि आठौं सन्तानका रुपमा जन्मिएका श्रीकृष्णलाई भगवान विष्णुको मोहित पार्ने शक्तिले सारा सैन्यलाई मोहित पारी वृन्दावन पु¥याइएको थियो । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट सम्पूर्ण मानव जातिको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हो । उनै श्रीकृष्णले बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै पुतना, कंश, जरासन्ध, शिशुपाल जस्ता दानव र दानवी प्रवृत्तिको संहार गरेका थिए ।

भगवान श्रीकृष्णले पाण्डव र कौरवका बीच कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा लड्न पाण्डव पक्षलाई युद्धको शिक्षा दिएका थिए । असत्य, अधर्मका बिरुद्धमा लडेर सत्य, न्याय र धर्मको रक्षा गर्न अर्जुनलाई प्रेरणा र हौसला दिने श्रीकृष्णको कुरुक्षेत्रमा व्यक्त वाणि नै वैदिक सनातनीहरुको महत्वपूर्ण धर्मग्रन्थका रुपमा स्थापित छ । त्यही ग्रन्थ ‘श्रीभद्भागवत् गीता’ हो जसले आज पर्यन्त पूर्वीय दर्शनका अनुयायीहरुलाई सत्य, निष्ठा, न्याय, कर्म र धर्मको अनुशरण गर्न उत्प्रेरणा प्रदान गरिरहेको छ । उनको सत्कर्म, सच्चरित्र र सद्ज्ञान सम्पूर्ण मानव जातिको लागि उदाहरण बनिएको छ । भगवान श्रीकृष्ण स्वयम्ले जब–जब भारत वर्षमा धर्मको लोप हुन्छ, पापी, दुष्टात्माहरु बढ्छन्, तब–तब मानव रुपमा यो धरतीमा जन्म लिएर तिनको संहार र धर्मको रक्षा गर्न म आउँछु भनेका छन् ।

भगवान श्रीकृष्ण जगत्पुरुष हुन् तर अधर्मको अन्त्य गर्न कुरुक्षेत्रमा सारथी बनेका छन् । कर्ममाथि विश्वास गर्नुपर्छ भन्ने आदर्श आत्मसात गरेका श्रीकृष्णले त्यही कर्ममा नै जोड दिए । मानव समुदायको हितलाई सर्वोपरी ठान्ने भगवान श्रीकृष्णको प्राकट्यको अपूर्व अवस्थाले पनि खासगरी वैदिक सनातन धर्म मान्नेहरुका लागि उनी आदर्श र मर्यादा पुरुष हुन् । कर्म गर– फलको आशा नगर भनेर कर्मप्रति समर्पित हुने सन्देश प्रवाह गर्ने भगवान श्रीकृष्णको जीवनको अर्को महत्वपूर्ण पाटो भनेको शान्ति र मानवताको पूजा हो । अनेक नामबाट सुपुजित उनै भगवान श्रीकृष्णको प्राकट्य दिवसका दिन देशभरका कृष्ण मन्दिरहरुमा ठूला अनुष्ठान सम्पन्न गरिन्छन् । यो दिनले सत्य, न्याय, धर्म, शान्ति र मानवताको पक्षमा दृढतापूर्वक उभिने प्रेरणा प्रदान गरोस्, कृष्णाष्टमीको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here