रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

भाषा–संस्कृति, मौलिक परम्परा, पहिचानका धनी नेवार समुदायको सांस्कृतिक पर्वोत्सव देशभर मनाइरहेका बेला बिर्तामोडका नेवार समुदाय संस्कार–संस्कृतिको संरक्षणमा अग्रसर बनेका छन् ।
देशैभरि लाखे जात्रा लगायतका कार्यक्रम सञ्चालन भइरहेको बेला पूर्वी जिल्ला झापामा पनि लाखे प्रदर्शनसँगै सांस्कृतिक चहलपहलका गतिविधि बढेसँगै बिर्तामोडका नेवार समुदाय आफ्नो संस्कार–संस्कृति संरक्षण–सम्बद्र्धनमा जुटेका हुन् ।
नाग पञ्चमीदेखि लाखे पजात्राको विधिवत् उदघाटन गरेर बिर्तामोडसँगै जिल्लाका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम जारी रहेको नेवाः देय् दबू बिर्तामोड नगर समितिका अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए । अमूल्य सम्पदाको रुपमा रहेको मौलिक तथा परम्परागत नेवार संस्कार–संस्कृतिको संरक्षण–सम्बद्र्धन गर्ने उद्देश्यले बिर्तामोडका २, ७, ९ र १० वडामा सांस्कृतिक तथा लाखे परिचालन समिति गठन गरेर अन्य वडाहरुमा समेत नगरको समन्वयमा लाखे जात्रा कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार बिर्तामोडमा २ नम्वर वडाले १, २ र ३ वडामा, ९ नं. वडाले ४, ५ र ६ वडामा, ७ नं. वडाले ७ र ८ नं. वडामा र १० नं.वडाले आफ्नै वडामा लाखे नचाउने कार्यक्रम रहेको बाताए ।
यसैबीच नेवाः देय् दबू अर्जुनधारामा विशाल सभा सम्पन्न भई राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमा निर्माणको शिलान्यास भएको थियो । बिर्तामोड, मेची नगर, अर्जुनधारा लगायत विभिन्न स्थानमा लाखे नाच प्रदर्शन जारी रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । बिर्तामोडमा एक हजारभन्दा बढी नेवारहरु नेवाः देय् दबूमा आबद्ध रहेको बताइएको छ ।
काठमाडांै बाहिरका जिल्लाहरुमा नाग पञ्चमीबाट शुरु भई कृष्ण जन्माष्टमीसम्म जारी रहने लाखे जात्रा नेवार समुदायको प्रमुख चाडपर्व तथा सांस्कृतिक पहिचान भएको नेवाः देय् दबू बिर्तामोड नगर समितिका वरिष्ठ उपाध्यक्ष तथा लाखे प्रदर्शन परिचालन समितिका संयोजक रत्नकुमार श्रेष्ठले बताए । उनका अनुसार शहरी क्षेत्रमा नेवार संस्कृति–संस्कारको पालना राम्रैसँग हुँदै आए पनि लोप हुँदै गएका दुर्गम तथा ग्रामिण भेगमा समेत यसको अधिक पालना गर्ने÷गराउने उद्देश्यका साथ लाखे तथा गाईजात्राको आयोजना गरिएको हो ।
हालै मृत्युवरण गरेका घरपरिवार वा नेवारजातिका इष्टदेव भीमसेन मन्दिरबाट शुरु गरिने लाखे नाचसँगै पछिल्लो समय ठाकठुके, रोपाइँ जात्रा जस्ता नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको उनको भनाइ छ ।
नेवार जातिको प्रमुख चाड लाखे जात्राको प्रमुख आकर्षण दानवी शक्तिसँगै देवदेवीको भयङ्कर स्वरुप काली, भैरवलगायतको प्रतिक (आकृति)को रुपमा रहेको मुकुट र अन्य भेषभूषा तथा ढोलक, झ्याम्टा लगायत मौलिक बाजाको प्रयोगसहित प्रस्तुत गरिने लाखे नाच–प्रदर्शनबाट पितृको मोक्षका लागि सहायक हुने विश्वास रहेको उनको भनाइ छ । त्यस्तै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गाईजात्रामा सम्पन्न शोभायात्रा तथा झाँकी प्रदर्शनमा भिन्न विशेषता रहेको पाइन्छ ।
झापा सहित १ नम्बर प्रदेशभर संस्कृति जगेर्ना गर्न तथा मौलिक परम्परा, पहिचानको संरक्षण–सम्बद्र्धनमा जागरण अभियानका रुपमा जिल्लाका मुख्य चोक तथा शहरहरुमा सभासमारोहसहित जात्रा–महोत्सवको कार्यक्रमहरु सम्पन्न गरिएको र जसमा सबै समुदायका मानिसहरुले उत्साहपूर्ण सहभागिता र सदभाव राख्ने गरेको पाइएको नेवाः देय् दबू प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।
झापाको बिर्तामोडमा नेवाः देय् दबू बिर्तामोड–९ को लखिबारीस्थित भिमसेनथान मन्दिरबाट लाखे जात्राको उद्घाटन गरेर शुरु भएको लाखे प्रदर्शन केही समय पहिले बिर्तामोडमा नगरपरिक्रममा गरी चारैवटा लाखे टोलीद्वारा नगरस्तरीय लाखेजात्रा कार्यक्रम सम्पन्न भएको नेवाः देय् दबू बिर्तामोडका सल्लाहकार यज्ञराज श्रेष्ठले जानकारी दिए ।
नेवाः देय् दबू बिर्तामोड नगर अध्यक्ष छत्रबहादुर श्रेष्ठ र नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेशकुमार श्रेष्ठले संयुक्तरुपमा उदघाटन गरेको उक्त कार्यक्रम धेरैले रुची पूर्वक हेरेका थिए ।






























