नेपाल–भारत वाणिज्य वार्ता असोज पहिलो साता : पारवहन सन्धि पुनरावलोकन हुने सम्भावना

३० भाद्र २०७९, बिहीबार मा प्रकाशित

काठमाण्डौं ।

नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) वार्ता आगामी असोजको पहिलो साता काठमाडौंमा हुने तय भएको छ । असोज ५ देखि ८ गतेसम्म हुने वार्तामा व्यापार तथा पारवहन सन्धि पुनरावलोकनमा हस्ताक्षर हुने सम्भावना रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि मस्यौदा भारत पठाइसकेको जनाएको छ । त्यस्तै, २१ भदौको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) र सहसचिवस्तरीय अन्तरसरकारी उपसमिति (आइजिएससी)को बैठकका लागि नेपालले वार्ताटोली गठन गर्ने निर्णय गरिसकेको छ ।

वार्ताका लागि प्रारम्भिक मस्यौदाहरू आदान–प्रदान भइरहेको वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले जानकारी दिए । तर, अन्तिम मस्यौदा भने तयार तयार गर्न बाँकी छ । ‘हामीले हाम्रा एजेन्डाका मस्यौदाहरू पठाएका छौँ, उहाँहरूले पनि पठाउनुभएको छ,’ उनले भने, ‘एक–आपसका मस्यौदाहरू आदान–प्रदान र त्यसमा कमेन्ट दिने कामहरू भइरहेका छन्, बैठकको फाइनल एजेन्डा तयार हुन बाँकी नै छ ।’

वार्तामा व्यापार तथा पारवहन सन्धि पुनरावलोकनका एजेन्डाहरू समावेश हुनेछन् । ‘एजेन्डाहरूले अन्तिम रूप पाइसकेका छैनन्, हाम्रो मुख्य ध्यान भनेको व्यापार र पारवहन सहजीकरण गर्ने नै हो, त्यसलाई समयानुकूल बनाउँदै लैजाने नै हो, यसमा दुवै देश सहमत छन्,’ उनले भने, ‘कुनै विषयमा सहमति भयो भने हस्ताक्षर नहोला भन्न सकिन्न, पारवहन सन्धि पुनरावलोकन भएर हस्ताक्षर हुन पनि सक्छ ।’ यस वार्तामा नेपालले व्यापार सन्तुलन र नेपालको निर्यात सहजीकरणमा विशेष जोड दिने सचिव पाण्डेयले बताए ।

नेपाल र भारतबीच व्यापार तथा पारवहन सन्धि पुरावलोकनका लागि मस्यौदाहरू आदान–प्रदान (लेटर एक्सेन्ज) भइरहेको वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रवि सैँजू बताउँछन् । उनले भने – ‘व्यापार सन्धि पुनरावलोकनलाई अझ समय लाग्नेछ, तर नेपालले जोड गरेमा यसै बैठकमा पारवहन सन्धि पुनरावलोकनको सम्भावना भने रहेको देखिन्छ ।’
त्यस्तै, सडकमार्गबाट हुने पारवहन र निर्यातमा समेत ट्रान्स्सिपमेन्ट मोडालिटी लगाउने विषयलाई समेत सन्धिमा समेट्नुपर्नेछ । यसमा भने अन्तिम सहमति बाँकी नै छ ।

व्यापार पुनरावलोकनका एजेन्डा के छन् ?

नेपाल–भारतबीचको सन् १९९१ मा अनधिकृत व्यापारलाई नियन्त्रण गर्न साझेदारी गर्ने सम्झौता (एग्रिमेन्ट अफ कोअपरेसन बिट्विन गभर्नमेन्ट अफ नेपाल एन्ड गभर्नमेन्ट अफ इन्डिया टू कन्ट्रोल अनअथोराइज्ड ट्रेड)ले तेस्रो मुलुकमा उत्पादन भएका वस्तु पुनः आयात–निर्यात गर्न नपाउने व्यवस्था गरेको छ । यसले एकातर्फ नेपालको व्यापार लागत र समय बढाएको छ भने अर्कातर्फ अनधिकृत व्यापारलाई नै बढावा दिइरहेको छ । त्यसैले तेस्रो मुलुकमा उत्पादन भएका वस्तु भारतबाट आयात गर्न पाउने विषय नेपालले उठाउँदै आएको छ ।

अहिले नेपाल–भारतको व्यापार असन्तुलन उच्च रहेको छ । त्यसलाई न्यूनीकरण गर्न नेपालले केही कृषि वस्तुमा अपारस्परिक (ननरेसिप्रोकल एग्रिमेन्ट) गर्नुपर्ने माग राख्दै आएको छ । जसअनुसार नेपालका कृषि वस्तुले भारतमा सहज पहुँच पाउनेछन् भने नेपालमा भारतीय कृषि वस्तुको आयातमा कर लगाइनेछ । तर, यसमा भारत सहमत भइसकेको छैन । नेपाल–भारतबीच अपरास्परिक सम्झौता (ननरेसिप्रोकल एग्रिमेन्ट) भएको भए पनि कृषि वस्तुमा त्यो लागू छैन । कृषि वस्तुमा भने पारस्परिक (रेसिप्रोकल)को व्यवस्था छ । त्यस्तै, नेपालले चारवटा वस्तुमा भारतले लगाएको कोटा प्रणाली हटाउनुपर्नेलगायत एजेन्डासमेत उठाउँदै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here