हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

५ आश्विन २०७९, बुधबार मा प्रकाशित

सिमकोट, 

मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ ।

मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताउनुभयो । विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाउनुभयो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए । केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे । आउँदा–जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साविक मतदानस्थल ४६ कायम छन् । ठाउँसारी कायम चार र सात नयाँ थपसमेत गरी ५७ मतदानस्थल रहेको उहाँले बताउनुभयो । हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन् । तेइस घरधुरी रहेको मासपुरको कुल जनसङ्ख्या एक सय तीन रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here