मोरङमा चाडपर्व लक्षित विशेष सुरक्षा

७ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

विराटनगर, 

मोरङ प्रहरीले चाडपर्व विशेष सुरक्षा रणनीति अपनाएको जनाएको छ । बडादसैँ, दीपावली तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीति लागु गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, आ–आफ्नो गन्तव्यमा जाने यात्रुको सुरक्षा तथा चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी हुनसक्ने उच्छृङ्खल क्रियाकलापलाई निस्तेज पार्न रणनीति बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँले रणनीतिअनुसार राजमार्ग र सहायक मार्गमा हुन सक्ने अवाञ्छित कार्यलगायत विभिन्न आपराधिक गतिविधि नियन्त्रण, सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक तथा वित्तीय सङ्घसंस्था, सुनचाँदी पसल आदिको भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।

जिल्लामा औद्योगिक नगर एवं प्रमुख व्यापारिक नाकासमेत रहेको हुँदा खुला सिमानाको फाइदा उठाइ तस्करीलगायत विभिन्न आपराधिक घटनासमेत हुनसक्ने भएकाले बिशेष सुरक्षा रणनीति बनाइएको उहाँले बताउनुभयो ।

सादा पोसाक, मोटरसाइकलमार्फत राजमार्गमा गस्ती, सीमा क्षेत्रमा गस्ती र पूजापाठ हुने तथा महत्वपूर्ण जमघट हुने स्थानमा प्रहरी सतर्कताका साथ परिचालन गरिने र यसबाट आमनागरिक सुरक्षाको अनुभूति गर्नसक्ने विश्वास लिइएको छ ।

विशेष सुरक्षा रणनीतिले गर्दा दसैँ एवं तिहार सबै नेपालीले सुखद् र शान्तिपूर्ण तवरले मनाउन पाउने, सवारीमाथि हुने अनुगमनले दुर्घटना न्यूनीकरण हुने बिश्वास गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here