अतुलश्री क्षेत्री
यतिखेर झापामा सबैभन्दा बढी कांग्रेसका कार्यकर्ता अलमलमा छन् । त्यो अलमल हुनुमा उनीहरुभित्र रहेको एकप्रकारको घमण्ड, दम्भ, राजनीतिक जोड–घटाउको अभाव नै हो भन्ने मलाई लाग्छ । किनभने झापाका कांग्रेसीलाई लाग्छ– हामी हार्दैनौं । तर, जित्न पनि सक्दैन । त्यसका केही कारण छन् ।
यसअघि कांग्रेसले झापामा हार्नुमा कांग्रेसी नेताहरुबीच एकअर्काको खुट्टा तान्ने प्रवृत्ति नै रहेको छ । एउटै झण्डामुनिका आफ्नै साथीलाई हराउन अन्तरघातको बीऊ रोप्ने पहिलो व्यक्ति गिरिजाप्रसाद कोइराला भएको सबै कांग्रेसीलाई थाह छ । तर, जीवनको उत्तराद्र्धमा उनले देशका लागि गरेको चट्टानी दृढताले उनका धेरै कमजोरीहरुलाई ढाकछोप गरिदियो । विश्वेश्वरप्रसाद कोइरालाको देन, उनको परिवारले देशप्रति गरेको लगानी अनि जीवनकालको पछिल्लो भूमिकाले गिरिजाप्रसादको विरोध कसैले गर्दैनन् । तर, सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पछि पार्न गिरिजाले गरेको राजनीतिक अपराध नै आजसम्म कांग्रेसमा दीगो घाउ भएर रहेको छ । झापामा पनि त्यो हावा थियो । कृष्णप्रसाद भट्टराई खेमाका थिए सिके प्रसाई । त्यसले उनलाई हराउन गिरिजाप्रसादको पनि समर्थन थियो भनेर केशवकुमार बुढाथोकीले भर्खरै प्रकाशन भएको आफ्नो पुस्तक ‘आफ्नो आफ्नो सगरमाथा’मा स्पष्ट लेखेका छन् । त्यति मात्र होइन, पछि सिके प्रसाईकी श्रीमती गिरिराजकुमारी प्रसाईलाई कांग्रेसले उम्मेदवार उठायो । त्यस बेला उद्वव थापाको कुरा सुनेर गिरिराजकुमारीले केशवकुमारलाई चुनावमा नहिँडिदिन भनिदिइन् । त्यसैको रिसमा केशवकुमारले आफ्नो पकडका मान्छेहरु लगाएरै प्रसाईलाई हराए ।
लामो समयपछि कांग्रेसले जित्न आँटेको त्यो निर्वाचनपछि कांग्रेस पूर्णरुपले पछि प¥यो त्यो क्षेत्रमा । जिल्लाभित्र कृष्ण सिटौला र केपी ओलीबीच ‘कुमाई’का सवालमा सम्झौता भएको भनेर एकप्रकारको हल्ला थियो विगतमा । त्यसको असर झापामा विगतको निर्वाचनमा समेत देखियो । अहिले पनि कृष्ण सिटौला र केपी ओलीले एकअर्कालाई आघात पुग्ने गरी कहीँकतै कुनै शब्द उच्चारण गर्ने गरेका छैन । कसैलाई कटाक्ष गर्न बाँकी नराख्ने ओली, सिटौलाका बिरुद्ध किन त्यसरी नै प्रस्तुत हुँदैनन्, त्यो आफै शंकाको विषय छ । त्यही शंकाको घेराले झापा एकमा विश्वप्रकाश पराजित हुँदै आएको एक पक्षका कांग्रेसको बुझाइ रहेको छ । झापा क्षेत्र नम्बर २ कांग्रेसका लागि बडो पेचिलो बन्दै गएको छ । केशवकुमार बुढाथोकी र उद्वव थापाको आपसी खिचातानी र को बढी शक्तिशाली बन्ने भन्ने अन्तरद्वन्द्वले यो क्षेत्र पछि प¥यो । यतिसम्म पछि प¥यो कि यसपालीका निर्वाचनमा प्रदेश एक सभापति भएर पनि उद्वव थापाले आफू उम्मेद्वार बनेनन् । केशवकुमार बुढाथोकीले दश बर्षअघि क्षेत्र नम्बर ४ बाट निर्वाचन जित्दै गर्दा नै त्यसपछिको प्रत्यक्ष संसदीय निर्वाचनमा भाग नलिने घोषणा गरेका थिए । आफ्नै घोषणा बिर्सिएर यसपटक उनले फेरि क्षेत्र नम्बर दुईबाट रुचि देखाए । उनी निश्चिन्त जस्तै थिए आफ्नो उम्मेद्वारी हुनेमा । तर यो क्षेत्र माओवादीको भागमा पर्यो । उनलाई लाग्यो, आफूले पाउने टिकट खोस्न कृष्ण सिटौलाले नै उक्त रणनीति अपनाएका हुन् । आफू उम्मेदवार हुन तयार भएका बुढाथोकी माओवादीले उम्मेदवारको नाम घोषणा गर्ने बित्तिकै पार्टीको जिल्ला संगठनलाई समेत जानकारी नदिई सुटुक्क अष्ट्रेलिया पुगे । बजारमा भएको हल्लालाई मान्ने हो भने कांग्रेसभित्र कलह उत्पादन गरी गठबन्धनको बिरुद्ध कांग्रेसी आवाज उठ्नुमा उनै बुढाथोकीको भूमिका रहेको छ । अष्ट्रेलियाबाटै उनले आफू नजिककाहरुलाई गठबन्धन बिरुद्ध प्रयोग गरिरहेका छन् । शुरुमा माओवादीले धर्मशीला चापागाँईलाई उम्मेदवार बनाउने भयो ।
त्यही बेला केशवकुमार बुढाथोकीले ‘माओवादी उम्मेदवारले यस क्षेत्रबाट जमानत समेत जोगाउन नसक्ने’ भनेर सञ्चारमाध्यमबाट घोषणा गरिदिए । आफ्नो मत कमजोर भएको क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य समेतको असहयोग हुने भएपछि धर्मशीला पछि सरिन् भन्ने कुरा चर्चामा आयो । इच्छा गर्नेको पार्टीको भागमा नपरेको, सशक्त उम्मेदवार नै नभएको पार्टीले आफ्नो पोल्टामा क्षेत्रको उम्मेदवारी भाग पारेको क्षेत्र भयो गठबन्धनका लागि यो । यता एमालेतिर भुसको आगो फैलिएकै अवस्था थियो । गुटका हिसाबले झलनाथ खनाल गुटमा रहेका हरि राना मेयर भएपछि केपी गुटका प्रेम गिरीको सबैभन्दा ठूलो निशानामा परे । प्रेम गिरीको समर्थनमा खोला विवादले चर्को रुप लियो । नगरपालिका समेत तोडफोड भयो । त्यो विषयले गिरी र रानाबीच एकप्रकारको शितकालीन अवस्था सिर्जना भयो । शुरुमा पार्टी विभाजन हुँदा झलनाथतिर ढल्किन्छन् भनेको रानाले अन्त्यमा एमाले नछाड्ने निर्णय लिए । पार्टीभित्र अन्तद्वन्द्व भएको बेला केपीबिरुद्ध गतिविधि गरेका कारण उनलाई भूमिकाविहीन बनाउन केपी गुट लाग्यो । त्यहींबाट हरि रानाको राजनीतिक भविष्य समाप्त पार्न प्रेम गिरी अग्रसर भएको राना निकटहरु बताउँछन् । एमालेका नगर अधिवेशनका बेला भविष्यमा आफू पुनः मेयरमा उठ्ने उद्देश्यले रानाले पार्टीको नगर सभापतिमा आफ्नो पक्षका बलदेव गोम्देनलाई अध्यक्ष उठाए । गिरीको समर्थन अर्कालाई थियो । गोम्देनले अध्यक्ष जितेपछि गिरीको रणनीति फेरियो । गोम्देनलाई नै मेयरमा अगि सार्ने र रानाकै हतियार प्रयोग गरी उनैलाई पाखा लगाउने योजना बन्यो । भयो पनि त्यस्तै । गोम्देन मेयर बने । गोम्देनले प्रदेश सांसदमा रानालाई समर्थन गर्ने भन्ने भयो । तर, जसरी पनि रानालाई राजनीतिक रुपमा सक्ने रणनीतिका कारण रानालाई पार्टी र संसदीय फाँट दुबैतिरबाट पाखा लगाउने एक पक्षको रणनीति सफल भयो, रानाले कतै स्थान पाएनन् । विद्यार्थीकालमा नेविसंघतर्फ भएका बलदेव गोम्देनलाई रानाले नै एमालेमा प्रवेश गराएर अहिलेसम्म डो¥याएको जानकारहरु बताउँछन् । राजनीतिका क्रममा कहिल्यै क्षेत्र नछोडेका, निरन्तर संगठनमा क्रियाशील, भष्ट्राचारमा कहिल्यै नमुछिएका, जनप्रतिनिधिका रुपमा कसैलाई पनि राजनीतिक विभेद नगर्ने छवि बनाएका रानाले मेयरकालमा कांग्रेसका कुरा सुन्यो भन्ने आरोप पार्टीभित्र व्याप्त थियो । इतर आस्थालाई पूर्ण बहिष्कार गर्ने नीति बोकेको एमालेको कार्यशैलीभन्दा फरक रहेर लोकतान्त्रिक मूल्य–मान्यता अवलम्वन गर्नु नै पार्टीभित्र रानालाई पाखा लगाउने कडी बन्यो । राजनीतिभन्दा बाहिर नबसेका, दुई पटक शनिश्चरे गाविस अध्यक्ष, एक पटक अर्जुनधारा नगरपालिका मेयर भइसकेका राना राजनीतिभन्दा बाहिर बस्न सक्ने थिएनन् । उनी आफ्नै राजनीतिक भविष्यप्रति अन्यौल भएको बेला संघीय संसदमा स्वतन्त्र उम्मेदवारी दिने भए । त्यो मौका माओवादीले साँट्ने भयो । उसले रानासँग संवाद ग¥यो ।
आफ्नो चिन्हमा उम्मेदवार बन्नु पर्ने प्रस्ताव अघि सा¥यो । यो विषयमा प्रचण्डले नै रानासँग प्रत्यक्ष संवाद गरे । माओवादीको मतमा मात्र भर गर्न नसकिने डर भएका रानालाई उद्वव थापा र कृष्ण सिटौला समेतले फोन गरे, आफ्नो पार्टीको पूर्ण साथ रहने वाचा गरेपछि उनी माओवादी चिन्हबाट निर्वाचन लड्न तयार भए । निर्वाचन लडिरहँदा कांग्रेसी मतभन्दा पनि तीसौं बर्ष आफूले काम गरेको पार्टी एमालेका शुभचिन्तकहरुले नै आफूलाई जिताउनेमा उनी विश्वस्त भएको देखिन्छ । यो भयो अहिलेसम्मको अवस्थाको सामान्य जानकारी । मूल कुरो यसपछिको छ । माओवादीले आफ्नो उम्मेदवार बनाए पनि अहिलेसम्म रानाले माओवादी प्रवेश गरेको घोषणा भने गरेका छैनन् । तर, उनले निर्वाचन जितेमा भने पाँच बर्ष माओवादी पार्टीको इच्छा विपरीत उनले कुनै गतिविधि गर्न पाउने छैनन्, त्यसमा भने उनी स्पष्ट छन् । एमालेका सशक्त योद्धा नै अर्को पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा होमिएपछि एमालेभित्र भुकम्प गयो । त्यसको असर स्पष्ट देख्न सकिन्छ । एमालेको बुद्धिजीवीहरुको भेलामा एमाले उम्मेदवार देवराज घिमिरेले अर्जुनधाराको १ देखि ६ नम्बर वडा हार्नुमा प्रेम गिरीको कार्यशैली रहेको आरोप नै लगाए । त्यतिमात्र होइन कयौं क्षेत्रहरुमा प्रेम गिरीलाई चुनावी कार्यक्रममा निषेध गरिनु पनि एमालेको त्रस्त मानसिकता स्पष्ट बुझ्न सकिन्छ । अझ अगाडि बढेर भन्ने हो भने देवराज घिमिरेको वाकपटुता राम्रो नभएको एमाले वृत्तमा नै चर्चा चुलिएको छ । त्यसैले पनि उम्मेदवार भएर पनि घिमिरे स्वयम् पनि सार्वजनिक कार्यक्रममा कम सहभागी हुने गरेका छन् । उच्च मनोबल देखाएर कार्यकर्ताहरुको इच्छाशक्तिले मात्र चुनाव जित्ने रणनीति एमालेले यो क्षेत्रमा अपनाएको छ । उसले राप्रपाको मतको अपेक्षा गरेको छ । तर, शतप्रतिशत त्यो खस्ने सम्भावना कम छ । यसै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेद्वार उठेका छन् कुमार भट्टराई ।
उनले केही मत ल्याए पनि जित्ने सम्भावना भने न्यून प्रतिशत नै छ भन्दा कुनै अतियुक्ति हुँदैन । कांग्रेसकै असन्तुष्ट पक्षको सहयोगमा उनी उम्मेदवार बनेको आरोप छ उनमा । उनले केही कांग्रेसी मत काटेर गठबन्धनलाई केही मात्रामा कमजोर गर्ने आंकलन छ । अर्का स्वतन्त्र उम्मेदवार छन् स्वागत नेपाल । स्वतन्त्र भने पनि उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष हुन् उनी । उनले कार्यवाहक दिए पनि पार्टी परित्याग गरेका छैनन् अहिलेसम्म । यतिखेर स्वतन्त्रको पक्षमा जनलहर देखेपछि पार्टीभन्दा पनि स्वतन्त्र चिन्ह लिएर निर्वाचनमा होमिएका छन् उनी । आफूलाई स्वतन्त्र भने पनि उनी स्वतन्त्र भने होइनन् । यसअघि यो क्षेत्रमा कहिल्यै प्रवेश नगरेका उनी एकै पटक उम्मेदवार भएर उदाएका छन् । विशेषतः पार्टीबाट वाक्कदिक्क भएका नागरिक र पार्टीका रुष्ट कार्यकर्ताको मत उनले प्राप्त गर्ने अपेक्षा गरेका छन् । जति नै अपेक्षा गरे पनि माओवादीबाट उनले शून्य मत प्राप्त गर्ने सम्भावना छ । ज्ञानेन्द्रले सत्ता ‘कू’ गरेपछि राजा समर्थित पत्रकार संगठन खोलेर ज्ञानेन्द्रलाई समर्थन गरेर हिँडेकाले राप्रपाको केही मत उनलाई जाने आंकलन गरिएको छ । एमालेको मत उनलाई जाने सम्भावना कम छ । केही कांग्रेसी र केही ढुलमुले मत उनले प्राप्त गर्नेछन् ।
स्वागत नेपालको मत बढे आफूलाई फाइदा पुग्ने देखेर एमालेले २ नम्बर क्षेत्रमा सोही रणनीति अपनाएको छ । उसले आफ्ना संगठित कार्यकर्ताहरु प्रयोग गरेरै कांग्रेसीहरुसँग स्वागत नेपाल र कुमार भट्टराईका लागि मत मागिरहेको छ । रानाले एमालेको झण्डै तीस प्रतिशत मत आफ्नो पक्षमा समेट्ने देखेपछि एमालेले जतिसक्दो धेरै कांग्रेसी मत स्वतन्त्रको पक्षमा खसाल्न लगाउने योजना रहेको छ । आफ्नोमा भएको क्षतिको भर्पाइ कांग्रेसी मतमा क्षति गराएरै लिने एमालेको रणनीति रहेको छ । यतिखेर सबैभन्दा धर्मसंकटमा भएका मतदाता भनेको कांग्रेसकै हुन् । विगतमा कहिल्यै पनि कम्युनिष्टलाई मत नहालेका कार्यकर्तालाई माओवादीको चिन्हमा मत हाल्नुपर्दाको ग्लानी छ । हरि रानाप्रति गुनासो नहुनेहरु पनि माओवादीको चुनाव चिन्हप्रति केही गुनासो रहेको बताउँछन् । विगतमा दुःख दिनेलाई अहिले आफूले मत कसरी दिनु भन्ने अन्यौलमा छन् उनीहरु । तर, मुलुकमा परिवर्तनका लागि ठूलो संघर्ष गरेको र अहिले पनि मुलुक माओवादीकै एजेण्डामा अग्रसर रहेको एकथरीको बुझाइ छ । कांग्रेसी कार्यकर्ताको अन्यौलता कसलाई जिताउने भन्नेमा छ । खासमा कांग्रेसले चाहेर कसैलाई जिताउन सक्दैन यो क्षेत्रमा भन्ने अधिकांशले बुझ्न नखोजेको जस्तो देखिन्छ । कांग्रेसले चाहेर जित्थ्यो भने विगतमा नै रुख चिन्हमा चुनाव लड्नेहरुले जित्थे ।
चुनाव जित्ने सुनिश्चिता भएको भए प्रदेश सभापति थापा आफै उम्मेदवार बन्थे । कांग्रेस कार्यकर्ताले बुझ्नुपर्ने भनेको ‘कसलाई हराउने’ भन्ने हो । आफूसँग भएको सुरक्षित मत सबै एकै ठाउँ खन्याइ दिने हो भने सशक्त प्रतिद्वन्द्वी हार्ने थियो भन्ने हो । कांग्रेस कार्यकर्ताले २ नम्बर क्षेत्रमा आफ्नो प्रतिद्वन्द्वी को हो ? भन्नेमा अन्यौल भएको देखिन्छ । उनीहरुले यतिखेर कम्युनिष्ट नाम गरेका सबै आफ्ना प्रतिद्वन्द्वी देखिरहेका छन् । जब कि २ नम्बर क्षेत्रको सबैभन्दा शक्तिशाली दल भनेको एमाले नै हो भन्ने बिर्सिएको अवस्था छ । जनमतको आधारमा दोस्रो रहेको कांग्रेसले आफ्नो अन्तरकलहको व्यवस्थापन र एमालेलाई यसपटक हराउन सक्यो भने मात्र अर्को निर्वाचनबाट यस क्षेत्रमा उसको उदय हुने देखिएको छ । तर, त्यही कुरा उसले आफ्ना कार्यकर्तालाई भने बुझाउने गरी कुनै गतिविधि गरेको भने देखिँदैन ।
जबसम्म एमालेभित्रको अन्तरकलह कांग्रेसको जस्तै सतहमा आउँदैन, अन्य कुनै पार्टीले यो क्षेत्रमा जित्न सक्दैन भन्ने स्पष्ट हुन जरुरी छ । कांग्रेसीहरुका लागि सूर्य चिन्हलाई हराउने यो सुवर्ण अवसर हुन सक्थ्यो । तर, कांग्रेसको नेतृत्वले क्रियाशील सदस्यहरुलाई राजनीतिक गणित बुझाउन नसक्नु र उनीहरुलाई आफ्नै वरपर सशक्त प्रयोग गर्न नसक्नु गठबन्धनको लागि ठूलो चुनौति हुन सक्ने देखिएको छ ।