मादक पदार्थ मृत्युको कारण नहोस्

0
224

अहिले चिसोको समय शुरु भएको छ । यतिबेला खासगरी युवाहरु वनभोजमा रमाइरहेका भेटिन्छन् । त्यसकै लहै–लहैमा किशोरवयका र सँगै प्रौढहरु पनि वनभोजकै योजनामा भेटिन्छन् । त्यसो त सधैँको कामबाट केही समय अवकाश लिएर रमाइलो गर्नु आफ्नै स्वास्थ्यका लागि उपयोगी नै हुन्छ । अझ यस्तो सामुहिक यात्रा, रमाइलो र भेटघाटले एकअर्कामा अपनत्व, हार्दिकता र प्रेम बढाउँछ । केही समय साथीभाइसँगको भेटघाट र मनोरञ्जनका कार्यक्रमले जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले वनभोज जस्ता कार्यक्रम उपयोगी नै हुन्छन् । नेपाली जीवन माटोसँग खोल्दाखेल्दै बित्ने गर्छ । कृषि प्रधानता हाम्रो विशेषता भएका कारण माटोसँग खेल्नु, रमाउनु र त्यसमै सृजना खोज्नु अस्वभाविक पनि होइन ।

स्वच्छन्दता र स्वतन्त्रताका नाममा हिजोआज विसंगति र विकृति पनि हुँर्किदैछ । साथीभाइसँगको रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गर्नै पर्ने आयातित आधुनिकताले नेपाली समाज खोक्रो बनिँदैछ । मादक पदार्थलाई हर्ष, विस्मत, पर्व, उत्सव, जात्रा, मेला र भेटघाटको अनिवार्य माध्यम बनाइएको छ । जसले एकातिर पैसाको वर्वादी भइरहेको छ भने त्यो भन्दा ठूला मानव जीवनमा क्षति गरिरहेको छ । सबै कोणबाट अनुपयोगी भन्ने जान्दाजान्दै पनि सरकार आफैं त्यसको आयात, उत्पादन, वितरण र बजारीकरणमा सहयोगी भइरहँदा त्यसले परोक्ष रुपमा नेपाली समाज, परिवार र व्यक्तिगत जीवन तहसनहस पार्दैछ । जसको सेवनले पेटको भोक मर्दैन, शक्ति आर्जन हुँदैन, परिवारको गर्जो टार्दैन बरु कलह, हिंसा, अपराध र दुर्घटना निम्त्याउँछ त्यस्तो वस्तु हितकारी हुनै सक्दैन ।

पछिल्लो जानकारी अनुसार झापामा वनभोजको समय शुरु भएको पाँच महिनामा छप्पन्न जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनामा भएका सवारी दुर्घटनामा परी ज्यान गुमाएका तिनका परिवारले जीवनपर्यन्त नमेटिने पीडा बोक्नु परेको छ । वनभोजको पयार्य बनिएको मादक पदार्थ सेवन दुर्घटनाको मुख्य कारण बनिएको सन्दर्भमा ट्राफिक प्रहरीले यो समय चेकजाँचलाई तीव्रता दिएको छ । वनभोजको नाममा क्षमताभन्दा बढी सवार हुने, तीव्र गतिमा दौडाउने, ट्राफिक नियमको उल्लंघन गर्ने लगायतका कारणले दुर्घटना र मृत्युको संख्या उच्च भएको ट्राफिक प्रहरीको भनाइ छ । त्यहीकारण कसैको अमूल्य जीवन नष्ट नहोस्, अङ्गभङ्ग वा आर्थिक क्षति नहोस् भनेर ट्राफिक प्रहरीले सञ्चालन गरेको दुर्घटना न्यूनीकरण अभियानमा समाजको सकारात्मक सहयोग चाहिन्छ । त्यस्तो सहयोग मदिरा सेवनको लत त्यागेर हुनसक्छ, खुल्ला बिक्रीवितरणमा प्रतिबन्ध लगाएर हुनसक्छ । सहयोग ट्राफिक नियमको पालनाबाट पनि गर्न सकिन्छ, सचेतना कार्यक्रमको तीव्रता, छड्के चेकजाँच र प्रभावकारी कारवाहीबाट पनि दुर्घटनालाई कम गर्न सकिन्छ । त्यसैगरी वनभोज स्थलका रुपमा विकास गरिएका स्थलहरुमा मादक पदार्थ लैजान प्रतिबन्ध लगाएर पनि दुर्घटना न्यूनीकरण अभियानमा सहयोगी बन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here