विराटनगर,

तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यक्रमका विभिन्न वक्ताहरुले बताएका छन् ।
मंगलबार विराटनगर-१२ स्थित सम्पन्न बस्तीमा आयोजित कार्यक्रममा वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने बताएका हुन् ।
विराटनगर आवास परियोजनाअन्तर्गत विराटनगर १२ को मलंवामा सुकुम्बासीका लागि घरहरु निर्माण भइरहेका छन् ।
आवास परियोजनाको साझेदार संस्था ” ह्याविट्याट फर ह्युमानिटी नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित तीनै तहको सरकारको समन्वय र सहकार्यले मात्रै सम्पन्न वस्तीको सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान गर्न सकिने प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताउनुभयो ।
उहाँले महानगरलाई सुकुम्बासीरहित बनाउन सके दक्षिण एसियामै नमुना हुने समेत दावी गरेका थिए । उहांले परियोजना भएकाले समयमै सक्न पनि जोड दिनुभयो । उहाँले “यो परियोजनामा जस जसले सहयोग गरे पनि यसको सम्पूर्ण श्रेय र जस महानगरलाई नै जान्छ । तीनै सरकारबीच सहकार्य भए महानगरलाई मात्रै होइन , प्रदेश – १ नै सुकुम्बासी रहित बनाउन सकिने ” उल्लेख गर्नुभयो।
सोहि क्रममा विराटनगर महानगरका मेयर नागेश कोइरालाले तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट विराटनगरलाई सुकुम्बासी रहित महानगर बनाउने उद्घोष गरेका छन् । उहाँले आफूले ५ वर्षमा १४ हजार सुकुम्बासीको व्यवस्थापन गर्ने लक्ष्य राखेको सुनाउनुभयो । उहाँले अगाडि थप्नु भयो -“मैले चुनावताका पनि सुकुम्बासी समस्या समाधान गर्छु भनेको थिएँ। यो वस्तीमा करिब ३ सयको व्यवस्थापन होला ।अझै मैले १३ हजार ७ सयका लागि घर निर्माण गर्नुछ ।”
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उक्त आवास निर्माण कम्पनीले आफ्नो २५ औं वार्षिकोत्सवका अवसरमा सम्पन्न बस्तीका घरमा एउटै रंग लगाउने अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको बताइन् । “ह्याविट्याटले अत्यन्तै राम्रो काम गरेको छ। सम्पन्न बस्तीका सबै घरमा एउटै रंग लगाउनु धेरै राम्रो हो ।” उपमेयर कार्कीले भनिन ।
सन् २०२१ जनवरीदेखि सुरु भएको परियोजनाअन्तर्गत सो ठाउँमा १४५ वटा घर निर्माण हुनेछ । घर निर्माणका लागि महानगरपालिका, प्रदेश सांसद कोष (केदार काकी), ह्याविट्याट र उपभोक्ताको आर्थिक लगानी तथा सहारा नेपालको प्राविधिक सहयोग रहेको छ । प्रतिपरिवार १० धुर जग्गामा घर निर्माण भइरहेको छ। एउटा घर निर्माणको लागि ५ लाख १० हजार लाग्ने लगत स्टिमेट रहेको छ । अहिले सम्म ९७ लाखमा उपभोक्ता (क) र ४४ लाखको लागतमा उपभोक्ता (ग) को निर्माण सम्पन्न भइसकेको छ।
त्यस्तै ८७ लाख रुपैयाँको लागतमा उपभोक्ता (ख) को निर्माण जारी रहेको छ । वार्षिकोत्सवका अवसरमा निर्माण सम्पन्न भएका घरहरुमा रंग लगाइएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामत, लगायतले आफ्नो धारण राखेका थिए ।

























