प्याब्सन झापाको जिल्ला परिषद भेला सम्पन्न

१५ पुष २०७९, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाको जिल्ला परिषद भेला सम्पन्न भएको छ ।

शुक्रबार कनकाई नगरपालिकास्थित जामुनखाडीमा भएको जिल्ला परिषद भेलाले निजी विद्यालयका समस्या तथा त्यसमा सरकारले निर्वाह गर्नुपर्ने भूमिकामा विषयमा एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

राज्यले निजी विद्यालयलाई सधैँ उपेक्षा गर्ने गरेको भन्दै परिषदमा सहभागी संस्थापक प्रिन्सिपलहरुले त्यसका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे । सामाजिक उत्तरदायित्व अन्तर्गत निजी विद्यालयले विभिन्न कामहरु गरे पनि राज्यले विद्यालयलाई कम्पनी भनेर राज्यबाट व्यवस्था हुनु तर कम्पनी ऐन, श्रम ऐन र शिक्षा ऐनको तेहेरो चपेटामा पारी विभिन्न शीर्षकमा दोहोरो तथा तेहेरो कर तिर्न बाध्य पारेको भन्दै त्यसलाई संशोधन गर्नका लागि राज्यलाई घचघच्याउनुपर्ने निष्कर्ष समेत निकालेको छ ।

प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राज्यले कतैबाट सहयोग नगरेको गुनासो गरिएको थियो । प्रमुख अतिथि लम्सालले शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदानलाई सरकारले कदर गर्नुपर्ने धारणा व्यक्त गरे । निजी क्षेत्रका लगानीका कारण लाखौंले रोजगारी पाएको प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद घिमिरेले बताए । उनले निजी क्षेत्रले शिक्षामा गरेको योगदानको कदर गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्याब्सनका प्रदेश सचिव कोषराज प्याकुरेल, पालिकाका तर्फबाट कमल गाउँपालिकाका बदिराम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैं प्याब्सनले आगामी दिनमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

झापामा दुई सय दुई माध्यमिक तहका र एक सय ४३ आधारभूत तहका विद्यालय गरी तीन सय ४५ वटा विद्यालय प्याब्सनमा आबद्ध रहेको र आठ हजार नौ सय शिक्षक तथा कर्मचारी कार्यरत रहनुका साथै नौ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी दिन सफल भएको जनाइएको छ । एक लाख ५० हजारभन्दा बढी विद्यार्थीलाई निजी क्षेत्रबाट शिक्षा प्रदान गर्दै आएको जनाइएको छ । प्याब्सन झापाले विभिन्न उपसमितिहरु गठन गरेर शिक्षाको विकासमा लागेको अध्यक्ष फागोले जानकारी दिए ।

कार्यक्रममा कोषाध्यक्ष अमृत तिम्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै प्याब्सनको हालसम्मको आर्थिक गतिविधि परिषदमा प्रस्तुत गरेका थिए । जिल्ला परिषद भेलाले सचिव र कोषाध्यक्षबाट प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरिकृष्ण पाठकले गरेका थिए । कार्यक्रमको आचित्यमाथि अध्यक्ष फागोले प्रकाश पारेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here