क्रसर उद्योग बन्द भएपछि ब्यवसायी आन्दोलित

0
316

पथरीशनिश्चरे,

मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योगहरु बन्द गर्न गृह मन्त्रालयबाट निर्देशन भएपछि कोशी अञ्चलमा रहेका क्रसर व्यवसायीहरू आन्दोलित भएका छन् ।

मापदण्ड विपरीतका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न देशभरका सम्बन्धित प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयले निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलित बनेका हुन् ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोशी क्रसर व्यवसायी संघले अनिश्चितकालको लागि उद्योग बन्द गरिएको जानकारी गराएको छ । कोशीमा २४ वटा क्रसर उद्योगहरू रहेकोमा गत पुस २८ गतेदेखि सबै उद्योग बन्द गरिएको पत्रकार सम्मेलनमार्फत बताइएको थियो ।

विनादर्ता सञ्चालन भएका र सरकारले तोकेको मापदण्ड पुरा नगरेका क्रसरहरू तत्काल बन्द गर्न आफूहरु सहमत भए पनि सरकारकै निर्देशन अनुसार सञ्चालन भएका क्रसरहरूलाई पनि बन्द गर्न परिपत्र आएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको कोशी क्रशर व्यवसायी संघका अध्यक्ष भिम पौडेलले बताएका छन् । सरकारलाई कर तिरेर मापदण्ड अनुसार सञ्चालन भइरहेका क्रसरहरू बन्द गर्न भनी प्रसाशनले पत्र जारी गरेपछि आन्दोलनमा उत्रनु परेको उनको तर्क थियो ।

आगामी माघ २ गते क्रसर व्यवसायीहरु मन्त्रालय डेलिगेसन जाने र सरकार समक्ष ज्ञापन पत्र बुझाउने अध्यक्ष पौडेलले बताएका छन् । क्रसर उद्योग बन्द भएमा व्यवसायीको अर्बौ लगानी डुब्नुका साथै २० हजारभन्दा बढी मजदुरको रोजगारी खोसिने उनको तर्क छ ।

गृह मन्त्रालयको निर्देशन बमोजिम सुनसरी र मोरङमा सरोकारवालाहरूले क्रसर उद्योगहरूको अनुगमन गरी अवैध क्रसरहरूलाई बन्द गर्न प्रसाशनले परिपत्र गरेको थियो । प्रशासनसहितको टोलीले २ दिनको अवधिमा मोरङका २१ र सुनसरीका ४ वटा क्रसर उद्योग बन्द गर्न व्यवसायीलाई परिपत्र गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here