उत्प्रेरक संलग्नता

0
138

स्वदेशमा अवसर नै छैन भनेर लाखौंको संख्यामा विदेशिने नेपाली युवाहरुका लागि गतिलो जवाफ बनेका छन्– बाह्रदशी–६ का सन्तोष सुवेदी । तेइस वर्षअघि पिङ खेल्ने क्रममा लडेर घाइते भएका सन्तोष उपचारको अभावमा शारीरिक रुपले अशक्त भए । धरान हुँदै काठमाण्डू गएर उपचार गराउँदा पनि पूर्ववत् हुन नसकेका उनी अहिले ह्वील चेयरको सहारामा दिन गुजार्छन् । ‘स्पाइनल कड’मा चोट लागेका कारण उपचार गरेर पनि पूर्णलाभ हुन नसकेपछि घरमै बस्न बाध्य उनी अहिले घरमै बसेर पनि लाखौंको व्यापार गरिरहेका छन् । उनको दैनिकी खोज, अनुसन्धान, प्रयोग र परिणामभित्रै बित्ने गरेको छ । उनी स्वस्थकर चामल उत्पादनदेखि बीऊबिजन, पशु आहारका लागि घाँसको बीऊ तथा पशु आहारका विभिन्न प्रजातिको उत्पादनमा समेत व्यस्त छन् । उनको व्यस्तता उत्पादनदेखि बजारसम्म पु¥याउन रहेकाले यसैबाट आर्थिक जीवन पनि समृद्ध बनिएको छ ।

आफूले उत्पादन गरेको ‘ब्ल्याक राइस’ अन्य चामलको तुलनामा मानव शरीरलाई आवश्यक पर्ने सम्पूर्ण तत्व भएको हुनाले विश्व बजारमा यसको माग धेरै रहेको बताउँछन्– उनी । यो सँगै ‘कालो मकै’, ‘कालो आलु’को बीऊ समेत उत्पादन थालेका उनको कर्म लोभलाग्दो मात्र होइन उदाहरणीय पनि छ । कालो अन्नमा विविधता खोज्दै नयाँ प्रजातिको समेत खोज, प्रयोग तथा सफल उत्पादन थालेका सन्तोषको सिप, कुशलता अहिले देश छिचोलेर खाडी मुलुक हुँदै युरोपको बजारसम्म पुगिसकेको बताइन्छ । ‘आवश्यकता आविष्कारकी जननी हुन्’ भन्ने भनाइ सन्तोषको जीवनमा समेत लागू भएको सन्दर्भ पनि युवापुस्ताले मनन गर्नैपर्छ । ‘जहाँ इच्छा त्यहाँ उपाय’ पनि भनिन्छ, उनको इच्छालाई शारीरिक दुर्वलताले समेत रोक्न सकेन, जसको परिणाम उनी अनुकरणयोग्य पात्र भएका छन् ।

त्यसो त सन्तोषको ध्यान एउटै विषयमा मात्र केन्द्रीत छैन । उनले फूललाई समेत व्यवसायमा जोडेका छन् । त्यस बाहेक बाख्रापालनलाई व्यावसायिकता दिएका उनको यो कर्म अपाङ्गता भएका व्यक्तिलाई मात्र होइन साङ्गहरुका लागि समेत उत्प्रेरक बन्नुपर्दछ । शारीरिक दुर्वलतालाई कारण देखाएर आफूलाई परिवार, समाज र देशको बोझ ठान्नुभन्दा नवीनताको खोजी गरेर त्यसैलाई व्यावसायिकता दिन लागीपर्नु महानता हुनसक्छ । त्यही नवीनता खोज्ने क्रममा सन्तोषका खोजले उनलाई साङ्गभन्दा पनि अग्लो उचाइमा पु¥याएको हुनुपर्छ । उनको सामाजिक संलग्नताले समेत उनी जस्ता र विदेशिन होड गर्नेहरुलाई प्रेरणा र ऊर्जा दिन सक्यो भने पनि उपलब्धीमूलक हुनेछ । प्रविधिको समेत सहयोगमा उनले गरिरहेको कर्म अरुका लागि समेत प्रेरणाको स्रोत बनियोस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here