हाम्रो जीवन समय जस्तै छ, यो नदीको पानी जस्तै बगीरहेछ, हावा जस्तै बहन्छ र समयको साथ सँगै बग्छ, न त वयस्कले आफ्नो बाल्यकाल प्राप्त गर्न सक्छ, न त वृद्धले आफ्नो युवावस्था । यिनै समयहरुलाई सँगाल्दै, अगाल्दै एकदिन आफन्त, साथीभाइ, परिवारसँग बाहिर गएर रमाएर खानुलाई वनभोज अथात् पिकनिक भनिन्छ ।
पिकनिक, वनभोज, घरबाट टाढा गएर रमाएर दिनभरि नाचगान, खानपिन गर्नु भन्ने बुझिन्छ । पिकनिकको नाम सुन्ना साथ हाम्रो दिमागमा यस्तो ठाउँको याद आउँछ जहाँ हामी पहिले गएका छैनौं । स्कूले जीवनको पिकनिक सधैं रमाइलो र यादगार हुन्छ । साथीभाइसँग मिलेर वनभोज गएको सम्झना वृद्धा अवस्थासम्म पनि जीवन्त रहन्छ । व्यस्त समयमा एकअर्काको लागि थोरै समय निकाल्ने सुन्दर पल पनि वनभोज बन्न सक्छ ।
पछिल्लो समय प्रविधिको युगले मान्छलाई धेरै व्यस्त बनाएको छ । वल्लोघर, पल्लोघरका मान्छेबीच भेटघाट, वार्तालाप पनि हुन छोडिसकेको छ । यस्तो अवस्थामा पिकनिकले सामाजिक, पारिवारिक मेलमिलापमा पनि निकै सहयोग पुग्छ । आजभोलिको भागाभागको समयमा जो कोही पनि आफ्नो घरबाट केही समयको लागि शान्त स्थानमा गएर फुर्सदसँग आफ्ना आफन्त, साथीभाइसँग समय बिताउने आ–आफ्नो माहोल बन्छ । परिवार, साथीभाइसँग मन प्रफुल्लित हुन्छ । मीठो खाने मात्र होइन यति धेरै भागदौडको जिन्दगीबाट एकछिन भए पनि आनन्द मिल्छ ।
हिजोआज त परिवारिक वनभोज कार्यक्रम, संस्थागत वनभोज कार्यक्रम सबै क्षेत्रमा रमाउन एकदिन छुट्टाउने चलन नै आइसक्यो । उबेलाको वनभोज छुट्टै थियो, आ–आफ्नो घरबाट चामल, दाल, सागसब्जी लिएर बारीमा गएर पकाएर खाने चलन थियो । आहा… ! त्योबेलाको वनभोज साच्चैमा वनभोज थियो । अहिले चाहिँ वनभोज पिकनिकमा परिवर्तन भएको छ । अब चाहिँ मानिसहरु घुन्ने–डुल्ने, खाना पकाउनका लागि क्याटरिङले तयार गर्ने पिकनिकको मज्जा छुट्टै छ । पिकनिकले पर्यटनमा पनि सहयोग पु¥याएको छ । टाढा–टाढाबाट पिकनिकका लागि आउने क्रम पनि देखिन्छ ।
हामी पूर्व झापाबासीहरुले जाडो महिनाको आगमन सँगसँगै वनभोजका लागि दोमुखा, कन्याम, बेतना, धनुषकोटी, सालबारी, जामुनबारी आदि क्षेत्रतिर व्यानारसहितका गाडीहरु थुप्रै देख्छौं । अझ शनिबार त विशेष चहलपहल देखिन्छ । यी क्षेत्रहरुमा, स्थानीय पर्यटक साथै इलाम, मोरङ्गतिरबाट पनि धेरै टोली वनभोजको लागि आएको देखिन्छ । स्कूले विद्यार्थी जीवनको लागि त झन् वनभोज कार्यक्रम एकदमै रमाएर मिठा पकवानहरु खाएर यादगार बनाएको आकृति जीवन्त रहिरहन्छ ।
स्थानीय निकायको सहयोगबाट नै होला पिकनिक स्पोटहरुमा पनि पानी, बत्तीको व्यवस्था राम्रै देखिन्छ । कन्याम, दोमुखा, बेतना, धनुषकोटी पूर्वमा पिकनिक क्षेत्रहरुतिर सबै क्षेत्रमा भिडभाड देखिन्छ । अझ कन्याममा त घोडसवार, प्यारागल्डीङ्ग, गलास्वकको मज्जा लिँदै पिकनिक मनाउनुको मज्जा छुट्टै छ । तसर्थ, भागदौडका जीन्दगीबाट परिवार, साथीभाइ, गाउँसमाजका अन्य सदस्यहरुसँग बसेर मनाऔं । वनभोज (पिननिक) खाऔं र रमाइलो गरौं । भाइचारा मित्रताको दिगो उदाहरण बन्न सकोस् ।