राष्ट्रपति निर्वाचनमा चिनियाँ चासो, दौडधुपमा राजदूत

१४ फाल्गुन २०७९, आईतवार मा प्रकाशित

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकारले वर्तमान सत्ता गठबन्धन नभत्किओस् र नेपालमा कुनै अस्थिरता नहोस् भन्ने पक्षमा चिनियाँ चासो रहेको बताएका छन्। तर, पछिल्लो राजनीतिक अवस्थाले चुनाव अघिको ५ दलिय गठबन्धन ब्युँतिने अवस्था देखिएको छ।

भावी राष्ट्रपतिको उम्मेदवार छान्ने विषयमा सत्ता गठबन्धनकै दलहरूबीच एकमत हुन नसकेका बेला काठमाण्डूस्थित चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री प्रचण्डसहित प्रमुख दलका वरिष्ठ नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। उनको भेटवार्ता यतिवेला बाक्लो भएको छ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका थिए। आगामी फाल्गुन २५ गतेका लागि तय भएको राष्ट्रपतीय निर्वाचनमा आफ्नो दलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न सक्ने धारणा प्रधानमन्त्री दाहालले राखेपछि राजदुत छन् राजनीतिक भेटघाटमा सकृय भएको जनाईएको छ। माओवादीको त्यस्तो कदमले अहिलेको सत्ता समीकरणमा नै परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ।

तर अन्तिम समयसम्म कस्तो समीकरण बन्छ भन्ने अनिश्चित भएकाले कूटनीतिक वृत्तमा यसबारे चासो बढेको पाइन्छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले त्यसलाई ‘स्वाभाविक’ भनेका छन्।

उनले चिनियाँ राजदूतले प्रधानमन्त्री दाहाललाई मार्च महिनाको अन्त्यमा हुने भनिएको बाआओ फोरमको बैठकमा भाग लिनका लागि निम्तो दिएको बताए। त्यसबाहेक राजनीतिक घटनाक्रमका बारेमा चासो व्यक्त गरेको पनि उल्लेख गरे। उनी थप्छन्, ‘चीनको मुख्य चासो नेपालमा अस्थिरता नभइदिए हुन्थ्यो भन्ने हो। कम्युनिस्ट पार्टीको शासन भएकाले वामपन्थीहरू एक ठाउँमा आइदिए राम्रो हुन्थ्यो भन्ने छ।’

‘यो सरकार फेरबदल नहोस्, झन् अप्ठ्यारो परिस्थिति नहोस्, यो गठबन्धन नभत्किओस् र गठबन्धन कायम रहोस् अनि राष्ट्रिय सहमतिको जुन वातावरण छ त्यसलाई पनि कायम राखेर सदुपयोग गर्दा राम्रो हुन्छ भन्ने उनीहरूको धारणा छ’ गजुरेलले भने–‘किनभने काङ्ग्रेससँग पनि उनीहरूको सम्बन्ध राम्रो छ।’

गएको शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका चिनियाँ राजदूत छन सोङले बुधवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए।

झन्डै एक महिना अघि नेपालस्थित चिनियाँ राजदूतको जिम्मेवारी सम्हाल्न काठमाण्डू आइपुगेका राजदूत छन सोङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताहरूसँग एकसरो भेटवार्ता गरिसकेका छन्।

गत डिसेम्बर महिनाको अन्त्यमा दाहालले एमालेसहितका छ दलको समर्थनमा सत्ताको नेतृत्व सम्हालेका थिए। उनी प्रधानमन्त्री चयन भएपछि बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनले नेपालसँगको सम्बन्धले एकदमै महत्व दिएको बताएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here