गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा

६ चैत्र २०७९, सोमबार मा प्रकाशित

टक्सार (भोजपुर), 

कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्ट्रेचरको बढी प्रयोग हुने गरेको थियो । तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ ।

स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्थापन गर्न थालेसँगै यो समस्या हट्दै जान थालेको हो । स्थानीय तहहरूमा जनप्रतिनिधि आएसँगै क्रमिकरूपमा नागरिकलाई पनि स्वास्थ्य उपचारका लागि पहुँच पुग्दै गएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय तहहरूमा अहिले आएर एम्बुलेन्सको सुविधा छ, जसले गर्दा समस्यामा परेका बिरामीहरूलाई तत्काल स्वास्थ्य संस्थासम्म लैजान सहज भएको छ ।”

भोजपुरमा हाल जिल्ला अस्पतालका साथै भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकालगायत सबैमा अहिले एम्बुलेन्स सेवा सञ्चालनमा छ । विगतमा जस्तो बिरामीहरूलाई अस्पताल पुर्याउन अहिले जिल्लाका ग्रामीण क्षेत्रहरूमा पनि समस्या छैन।

भोजपुर नगरपालिकाले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन ठाउँअनुसारको शुल्क निर्धारण गरेर सेवा दिँदै आइरहेको छ । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भन्नुभयो, “विगतमा सडकको पहुँच पनि नहुनु र स्थानीय तहहरूमा समेत साधनको व्यवस्थापन हुन नसक्दा दुर्गमका नागरिक सबै न्दा बढी मारमा थिए, तर अहिले गाउँबाट पनि स्ट्रेचरको विकल्प एम्बुलेन्स बन्न थालेको छ ।”

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले पनि रेडक्रस उपशाखा अन्नपूर्णलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रस उपशाखा अन्नपूर्णको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान र पालिकाको आर्थिक सहयोगमा खरिद भएको एम्बुलेन्स पालिकाले रेडक्रसलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो, “आवश्यक मापदण्डसहित एम्बुलेन्स सञ्चालनका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।” गाउँपालिकाका अध्यक्ष बस्नेत र उपाध्यक्ष रमा राईले संयुक्तरूपमा एम्बुलेन्सको चाबी रेडक्रसलाई बुझाउनुभएको छ । गाउँपालिका उपाध्यक्ष राईले पालिकाभित्र एम्बुलेन्स सञ्चालनका लागि आवश्यकरूपमा पालिकाको समेत सहयोग हुने बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालनमा पर्ने आर्थिक समस्या समाधानका लागि डाली कोषको समेत सुरुआत गरिएको छ । सो कोषका लागि स्थानीयवासी गोविन्द मुकारुङले रु २५ हजार, टङ्कप्रसाद रेग्मीलेरु २५ हजार, पालिका अध्यक्ष बस्नेतलेरु २५ हजार, स्थानीयवासी जीवन किराँतीले ११ हजार एक सय ११ र केदार अधिकारीले रु १० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाका अध्यक्ष बस्नेतले नियमितरूपमा एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

डाली कोषमा सङ्कलन भएको रकम मुद्दत्ती खातामा जम्मा गरी सो रकमको ब्याजबाट खर्च गरिने रेडक्रस उपशाखा अन्नपूर्णले जनाएको छ । गर्भवती र ज्येष्ठ नागरिकलाई एम्बुलेन्स प्रयोग गर्दा लाग्ने भाडामा भने छुट गर्ने व्यवस्थामा लागेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here