कलाकार किरण केसीको गीत सार्वजनिक

३१ बैशाख २०८०, आईतवार मा प्रकाशित

काठमाडौँ,

‘राता मकै’ को उपनामले परिचित हास्यकलाकार किरण केसीले अभिनय र चलचित्र निर्माणसँगै गायनमा पनि सक्रिय हुनुहुन्छ । पछिल्लो समय साङ्गीतिक भिडिओमा मोडलको रूपमा प्रस्तुत भइरहनुभएका केसीले एकसाथ तीन गीत तयार गर्नुभएको छ ।

उहाँले नेपाल भाषाको ‘छन्त खं सँ’ र नेपाली भाषाको ‘होला होला भन्दै’मा गायनसँगै अभिनय पनि गर्नुभएको छ । यस्तै ‘ए रात’ बोलको गीतमा उहाँको अभिनय मात्र छ । नेपाल भाषाको गीत इन्टरनेटमा सार्वजनिक भए पनि बाँकी गीत क्रमशः सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

“गीतको अडियो तयार भएको लामो समयपछि भिडिओ बनेको हो । मैले सक्दो मेहनत गरेर गीत तयार गरेको छु”, हास्यकलाकार केसीले भन्नुभयो, “गायन मेरो प्राथमिकतामा पर्छ । मेरो रूचिलाई बुझेर मलाई धेरैले गीत उपहार दिनुभएको छ । त्यो मेरो लागि अमूल्य उपहार हो ।” उहाँले नेपाल भाषाको गीत गाउँदा केही कठिनाइ भए पनि मेहनतले सम्भव भएको प्रतिक्रिया दिनुभयो ।

हास्यकलाकार केसीले अभिनय यात्रा नै मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टेलिचलचित्रमार्फत सुरु गर्नुभएको थियो ।

‘छन्त खं सँ’ र ‘होला होला भन्दै’मा शब्द र सङ्गीत मदनकृष्ण श्रेष्ठले दिनुभएको छ । “किरणले अभिनय गर्ने, गाउने, लेख्ने लगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिरहनु भएको छ । उहाँको सक्रियताले मलाई ऊर्जा प्राप्त हुन्छ”, हास्यकलाकार श्रेष्ठले भन्नुभयो ।

कलाकार हरिवंश आचार्यले गीत हेरेपछि गायनमा रहर मात्र नभइ मेहनत नै देखिएको बताउनुभयो । “कुनै पनि विधा सजिलो हुँदैन । गायनमा झनै अभ्यास चाहिन्छ । किरणजीले आफूलाई यो लायक बनाउन निकै मेहनत गर्नुभएको छ । म उहाँसँग सुरुवाती समयदेखि नै सहकार्य गरिरहेको छु”, हास्यकलाकार आचार्यले भन्नुभयो । हास्यकलाकार केसीका अनुसार दोस्रो गीत जेठ १५ र तेस्रो गीत असार १५ मा सार्वजनिक हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here