करोडौंको जमिनमा जालझेल: जग्गाधनीको निधन, परिवार बिचल्लीमा

0
114

पार्थ मण्डल,
झापा।

भद्रपुर–बिर्तामोड सडकखण्डसँग जोडिएको करोडौँ मूल्य बराबरको जग्गा केही व्यक्तिहरूले चिनजानको फाइदा उठाउँदै जालझेल गरी हडपेको घटनाले एउटा परिवारमा बज्रपात परेको छ ।

सोही घटनाका कारण डिप्रेसनमा गएका जग्गाधनी साबिक गरामनी गाविस–३ हाल बिर्तामोड नगरपालिका–८ बस्ने ६३ वर्षीय हरि मैनालीको शनिवार बेलुका साढे ७ बजे उपचारको क्रममा निधन भएको छ । जग्गाधनी मैनालीको निधनसँगै उनकी श्रीमती राधा पाण्डे र दुई छोरीहरू लक्ष्मी र यमुना बिचल्लीमा परेका छन् । विभिन्न प्रलोभन देखाएर भएभरको सबै जग्गा भूमाफियाहरुले आफ्नो कब्जामा लिएको कारण अहिले मैनाली परिवार घरबारविहीन बनेको स्थानीयले बताएका छन् ।

करोडौँ मूल्य पर्ने जग्गा अरूले जालझेल गरी हडपेको चिन्ताका कारण जग्गाधनी मैनालीको निधन भएको भन्दै उनका आफन्तजन र छरछिमेक स्थानीय प्रशासनले उचित न्याय नदिलाएसम्म शवको दाहसंस्कार नगर्ने अडानमा रहेका छन् । पीडित पक्षहरू सोही विषयलाई लिएर आइतबार बिहान जिल्ला प्रशासन कार्यालय झापा पुगे । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले घटनाको विषयवस्तु बुझ्दै जग्गा हडप्नेहरूलाई कानूनी दायरामा ल्याउने आश्वासन दिएपछि शवको दाहसंस्कार गरिएको मृतकका आफन्त सुमन मैनालीले जानकारी दिए ।

पीडित पक्षको तर्फबाट सीडीओ साबलाई हामीले ठाडो निवेदन दिएको बताउँदै मृतकका आफन्त सुमनले भने– ‘सो घटनाको बारेमा जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको र जिल्लाले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई पत्राचार गरिसकेको बुझ्नमा आएको छ ।’ अब प्रहरीले के गर्छ, त्यसैको प्रतीक्षा रहेको उनको भनाइ छ ।

यस्तो छ घटना

पहिलो घटनाः हरि मैनालीको नाममा कित्ता नम्बर २०२४मा दुई विगाह दुई कठ्ठा १० धुर जग्गा थियो । सो जग्गा भद्रपुर–बिर्तामोड सडक खण्डसँग जोडिएको घरदेखि उत्तर पट्टिको हो ।

मैनालीले २०२४ नम्बरको कित्तालाई फुटाई २१३४ र २१३५ कायम गरी भक्तपुरका दीपकचन्द्र न्यौपानेलाई कित्ता नम्बर २१३४को एक विगाहा १० कठ्ठा जग्गा २०७० बैशाख ८ गते र काभ्रेपलाञ्चोकका नमराज ढुङ्गानालाई १२ कठ्ठा १० धुर जग्गा २०७० साउन २४ गते राजीनामा पास गरेको भूमिसुधार तथा मालपोत कार्यालय झापाको श्रेस्तामा देखिन्छ । मैनालीले ढुङ्गानालाई राजीनामा पास गर्दा साक्षीमा न्यौपाने बसेको स्रेस्तामा उल्लेख छ ।

जग्गा राजीनामा पास भइसक्दा पनि मैनाली र न्यौपानेबीच लामो समयसम्म आर्थिक लेनदेन भएन । जग्गाको लेनदेन नमिलेको र जग्गा पनि हातबाट फुस्की सकेको भन्दै जग्गाधनी मैनालीले २०७७ सालमा बिर्तामोड–८ नम्बर वडा कार्यालयमा उजुरी दिए । त्यसपछि वडा कार्यालयमा २०७७ असोज २२ गते दुवै पक्षबीच सहमति भयो । जम्मा ४२ कठ्ठा १० धुर जग्गा बापत न्यौपानेले मैनालीलाई ४ करोड २० लाख रुपैयाँ दिने लिखित सहमति समेत गरियो । २० लाख रुपैयाँ बैनाबापत मैनालीले पाइसकेकोले बाँकी चार करोड रुपैयाँ न्यौपानेले दिने सहमति भयो ।

सोही दिन न्यौपानेले मैनालीको नाममा सिद्धार्थ बैंकको दुई÷दुई करोड रुपैयाँको दुई वटा चेक दिए । तर, चेकमा रकम नहुँदा मैनालीले जग्गाको पैसा पाएनन् । अनि उनले जिल्ला प्रहरी कार्यालय झापामा दुई वटा चेक बाउन्समा उजुरी दिए । प्रहरीमा चेक बाउन्समा उजुरी परेपछि न्यौपानेलाई प्रहरीले पक्राउ ग¥यो । न्यौपाने शक्ति र पैसाको आडमा उच्च अदालतबाट धरौटीमा रिहा भइसकेको र पीडितले अझै पैसा नपाएको कारण डिप्रेसनमा परेर उनको निधन भएको मृतक मैनालीका आफन्त सुमनले बताए ।

दोस्रो घटना ः हरि मैनालीका परिवार बसोबास गर्दै आएको दाजु स्व. डिल्लीकुमार मैनालीको नाममा रहेको कित्ता नम्बर ३०६को १६ कठ्ठा १७ धुर जग्गा पनि जालझेल गरी अर्को समूहले कब्जामा लिइसकेको अर्को घटना पनि खुलेको छ ।

४२ कठ्ठा १० धुर जग्गाको चार करोड रुपैयाँ नपाएर पीडित बनिरहेको अवस्थामा मैनाली परिवारको थप १६ कठ्ठा १७ धुर जग्गा पनि हातबाट फुस्किएपछि सो परिवार थप सङ्कटमा परेको छ । झापा गाउँपालिका–६का युवराज सिटौला, चेतराज सिटौला, शौरभ सिटौलाले स्व. डिल्लीकुमार मैनालीलाई समेत सञ्चालकमा राखेर पाथीभरा मार्वल एण्ड ग्रेनाइट कम्पनी खोलेका थिए ।

कम्पनी खोलेपछि उनीहरूले सञ्चालक स्व. मैनालीको नाममा रहेको सो जमिन मेघा बैङ्क गंगवू शाखामा धितो संरक्षण राखेर रकम झिकेका थिए । तर, सञ्चालक तथा जग्गाधनी मैनालीको चार वर्षअघि नै निधन भइसकेको छ । कम्पनीका अन्य शेयर सदस्यहरूले सो जमिनको सावा र व्याज नतिरेको भन्दै बैङ्क लिलामी प्रक्रियामा गइसकेको जनाइएको छ ।
बैङ्कको ताकेता पश्चात् सो घटना बाहिर आएपछि भाइ हरिले बिर्तामोड–८ नम्बर वडाकार्यालयमा उजुरी दिए । त्यसपछि कम्पनीका शेयर सदस्य युवराज सिटौला र हरिबीच लेनदेनको विषयमा सम्झौता भयो ।

दाजुले लिएको ४० लाख रुपैयाँ फिर्ता दिएको खण्डमा सो जग्गा बैंकबाट फुकुवा गरिदिने भन्दै शेयर सदस्य सिटौलाले सहमति कागजमा हस्ताक्षर गरे । सो सहमति २०७८ फागुन १५ गते भएको देखिन्छ । एक महिनाभित्र रकम फिर्ता दिने शर्त बमोजिम हरिले ४० लाख जुटाए । तर, सिटौला रकम पनि लिन नआएको र जग्गा पनि बैंकबाट फुकुवा नगरिदिएको आफन्त सुमन मैनालीले जानकारी दिए । दाजुभाइको जग्गा हडप्नेहरूलाई कारबाही नभए न्यायका लागि जस्तोसुकै संघर्षमा उत्रिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here