प्रविधिको विकास र आधुनिकतामा रमाउने प्रवृत्तिले पछिल्लो समय परम्परागत पारिवारिक संरचना र मूल्य–मान्यता विखण्डित भइरहेको छ । अग्रजहरुप्रति गरिने व्यवहार, परिवारका ज्येष्ठ सदस्यको हेरचाह र उनीहरुको स्वास्थ्यप्रतिको संवेदनशीलता हराउँदै गएको छ । त्यही अवस्थालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरेको थियो । त्यसयता संयुक्त राष्ट्रसंघको अभियान अनुसार नै हरेक वर्षको मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रुपमा मनाउन थालिएको हो । विश्वभरका सम्पूर्ण मानिसलाई व्यक्ति, परिवार, समाज र संस्कृतिको महत्व दर्शाउन र पारिवारिक एकता र हार्दिकता कायम राख्न उत्प्रेरित गर्ने यो दिवसको उद्देश्य हो, जो आजका दिन अझै सान्दर्भिक हुन पुगेको छ ।
व्यक्तिको समूहबाट परिवार बन्दछ । परिवारमा बुवा, आमा, छोराछोरी, हजुरबुवा, हजुरआमा हुन्छन् । नेपाली परिवारको विशिष्टता यही हो कि अघिल्लो पुस्ताको संरक्षण र निर्देशनमा पारिवारिक एकता बलियो बनाउने । एकअर्काका बीच हार्दिकता र सद्भाव प्रकट गर्ने । त्यही परिवारमा मात्रै बालबालिकाको उचित लालनपालन हुन्छ, शिक्षा लगायतका आधारभूत आवश्यकताहरुको सहज व्यवस्थापन गर्न सकिन्छ । तर, यो पारिवारिक ढाँचामा आज विचलन आएको छ । संयुक्तबाट एकल पारिवारिक ढाँचामा समाज रुपान्तरण हुँदै गएको छ । जसका कारण विशेष हरविचार गर्नुपर्ने व्यक्ति वा वर्ग आज असहाय जस्तै बनिएको छ । त्यसकै परिणामले वृद्धाश्रम थपिँदा छन्, आश्रय लिनेहरु पनि बढ्दैछन् ।
विश्वव्यापी बनिएको एकल परिवारको प्रभाव हाम्रो समाजमा पनि देखिन थालेको छ । बढ्दो आधुनिकता र विकासले पारिवारिक मूल्य–मान्यता र अवधारणाहरु नासिँदै जान थालेका छन् । वैदेशिक रोजगारको बढ्दो क्रमले हाम्रो मौलिक, सामाजिक तथा सांस्कृतिक मान्यता, मानसिकता र मर्महरुमा नकारात्मक असर देखिँदैछन् । परिवारका ज्येष्ठ सदस्यहरुको संरक्षकत्वमा एकीकृत, संगठीत र एकाकार हाम्रो ढाँचा जोगाइ राख्न, पारिवारिक सद्भाव र हार्दिकता अक्षुण्ण राख्न आज यो दिवसको आवश्यकता अझै बढेको छ । यस्तो एकताले हाम्रो परिवार सुदृढ, संगठीत, एकीकृत र बलियो बनाउँछ । त्यसैले पनि यो दिवसले आपसी कटुता त्यागेर, सहनशील र संयमीत बन्न प्रेरीत गर्नुपर्छ । त्यसले मात्र हाम्रो सामाजिक विशिष्टताको रक्षा गर्न सक्छ ।