गोर्कीको दुःखी जीवन: आमाको क्रान्तिकारिता र महिलामुक्तिको सवाल

१ जेष्ठ २०८०, सोमबार मा प्रकाशित

एलेक्सी म्याक्सिमोभिच पेस्कोभ अर्थात् म्याक्सिम गोर्की (२८ मार्च १८६८/१८ जुन १९३६) एक रसियाली लेखक, नाटककार, उपन्यासकार थिए । ‘गोर्की’को नेपाली अर्थ ‘दुःखी’ भन्ने हुन्छ । उनी समाजवादी यथार्थवादी साहित्यिक सर्जक थिए । उनको साहित्यिक नाम म्याक्सिम गोर्की थियो । गोर्की चार वर्षको हुँदा यिनका पिता माक्सिमको निधन भयो । उनी सात वर्षको हुँदा यिनका आमा भार्भारा पनि बितिन् । यसरी सानो उमेरमै अनाथ बनेका उनी १२ वर्ष हुँदा घरबाट भागेका थिए र १९ वर्षको उमेरमा आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि भने उनले पाँच वर्षसम्म पैदलरुपमा रुसी साम्राज्यको भ्रमण गरे । यो समयमा उनले धेरै पेसा परिवर्तन गरेका थिए र त्यसबेलाका आफ्ना अनुभवहरूलाई समेटेर पछि साहित्य सिर्जना गर्न थाले ।

उनी पाँच पटकसम्म साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयनमा समेत परेका थिए । उनी त्यसबेलाको रुसी जारहरूको सत्ताको खुला रूपमा विरोध गर्थे र माक्र्सवादी आन्दोलनमा सक्रिय थिए । उनी अर्का दुई चर्चित रुसी लेखकहरू लियो टोल्स्टोय र आन्तोन चेखवसँग पनि निकट थिए, जसलाई उनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । शुरुमा भ्लादिमिर लेनिनसँग निकट रहेका उनी पछि लेनिनको आलोचक बनेका थिए । रुस र सोभियत सङ्घबाट निकालिएका उनले आफ्नो जीवनको महत्त्वपूर्ण भाग निर्वासनमा बिताउनुप¥यो । पछि उनले रुसमै मृत्युवरण गरे ।

म्याक्सिम गोर्कीले चर्चित उपन्यास ‘आमा’ रचना गरेका थिए । यसको करोडौंप्रति बिक्री भएको छ । गोर्कीको बाल्यकाल निकै गरिबी र दुःखमा बित्यो । हजुरबाले लुगा रङ्ग्याउने पेसा गर्थे । त्यो नचलेपछि खान लाउनको पनि समस्या प¥यो । विरक्तिएका गोर्की आठ वर्षको उमेरमै कामको खोजीमा घरबाट हिँडे । यिनले जुत्ता सिउने काम पनि गरे । अभिभावक नभएपछि गोर्की फिरन्ते जीवन बिताउन बाध्य भए । उनी धेरै ठाउँमा मानिसहरूको घरेलु बाल कामदार पनि बने । गोर्कीले घरायसी काम भुइँ पुछ्ने, लुगा धुनेदेखि भाँडासम्म माझे । उनले स्कूलको मुखसम्म देखे । तर, गरिबीको कारण नियमित स्कूल जान पाएनन् । गोर्कीमा अध्ययनको भोक तीव्र थियो । लेखपढ गर्न सक्ने भएपछि प्रसिद्ध लेखकहरूका पुस्तक अध्ययन गर्ने रुचि पलायो । स्व–अध्ययनपछि यिनी सानै उमेरमा परिपक्व भए । घुम्दै फिर्दै समाज बदल्न चाहने अगुवाहरूसँग यिनको सङ्गत बढ्यो । लेखनसँगै जार शासनबाट मुक्ति चाहने राजनीतिक पार्टीमा समेत यिनी सामेल भए । गरीब परिवारमा जन्मिएका गोर्कीले आफ्नो जीवनका यथार्थ समेटेर धेरै कथा, उपन्यास र नाटक लेखे । दुःखी–गरीबका कथा लेख्न रुचाउने लेखक गोर्की आफ्ना रचनाका कारण अहिलेसम्म पनि जीवित छन् ।

माक्सिम गोर्कीको विश्वका एक सय २० भन्दा बढी भाषामा अनुदित बहुचर्चित उपन्यास ‘आमा’ लेखिँदा रूस तनावपूर्ण स्थितिबाट गुज्रिरहेको थियो । यो उपन्यासले रुसको क्रान्तिपूर्वको सर्वहारा मजदुर वर्गको चित्रण गरेको छ । सन् १९०५ को रुसी क्रान्तिमा कामदार वर्गको भूमिका र त्यसमा पनि महिलाहरुको भूमिकालाई उजागर गरेको छ उपन्यासले । उपन्यासमा दुई मुख्य घटनाको सटिक प्रकटीकरण छ– सन् १९०२ को मे दिवसमा रुसको सारामोभोमा भएको प्रदर्शन र प्रदर्शनकारीलाई गिरफ्तार गरी जारशाहीले मुद्दा चलाएको घटना । शुरुवातीमा उपन्यासकी मुख्य पात्र पेलगेया निलोभ्ना (पाभेल मिखाइलोभिचकी आमा) आम रुसी आमा झैं छन्– रुढीवादी, धार्मिक, डरपोक तर आफ्ना छोराछोरीप्रति मायालु । आफ्ना पति मिखाइल भ्लासोभको २० वर्षसम्मको निरन्तरको पीडा र यातना पतिको मृत्युपछि मात्र रोकिन्छ र पतिको मृत्युमा कसैको आँशु झर्दैन । तिनै पीडा, वेदना र कठिनाईमा जिइरहेको आमामा रुसमा भित्रभित्रै क्रान्तिको ज्वाला दन्किँदै जाँदा व्यापक परिवर्तन हुन्छ र उनी क्रान्तिकी आमा बन्दछिन् । छोरा पाभेलले जसरी मजदुरहरुको सामुहिकता र सङ्गठनमा शक्ति हुन्छ र यो नै समाजवादी क्रान्तिको आधार हो भन्ने सच्चाइलाई बुझ्दै जान्छन्् ।

त्यसरी नै आमामा पनि सर्वहाराको यो विचारले नवीन मानवजातिको विकास हुन्छ र ईश्वर पनि नयाँ रुपमा प्रकट हुन्छन् भन्ने विश्वास जागृत हुँदै जान्छ । भौतिक परिस्थितिले मानवीय चेतनाको विकास हुने र मानवीय चेतनाले भौतिक परिवेशलाई आफू अनुरुप बदल्न कोशिस हुने निरन्तरको अन्तरविरोधका बीचबाट नयाँ युगको आरम्भ हुन्छ भन्ने कुरा आम रुसी मजदुरवर्गले व्यवहारबाटै बुझ्दछन् । रूसको निसासिँदो वातावरणबाट पार पाउन रूसी श्रमजीवी जनताले संघर्ष गर्ने निधो गरे । उनीहरू राजाकहाँ ‘राजा आऊ, हामीलाई बचाऊ’ भाषाको बिन्तीपत्र बुझाउन गए । ‘पूज्य पिता’ले उल्टो गोलाबारुदले स्वागत गरे । यसबाट मुर्मुरिएका गोर्कीका दुःखीजनहरू हड्तालमा उत्रिए ।

घमासान संघर्ष भयो । रुसभरि सबैतिर मजदुर सडकमा निस्किए । मजदुर र सैनिकहरू लडाइँमा आए । तर, विभिन्न कमी–कमजोरीका कारण संघर्ष तुहियो । अर्को दिनदेखि जारको दमनकारी बुट बज्रिन शुरु भयो । आन्दोलनकारीहरू माथि लुटपाट, मारकाट, जेल र साइबेरिया चलान जस्ता आततायी दमन चल्यो । क्रान्तिकारीहरू निरास र हतास थिए । ‘आमा’ उपन्यास यस्तै उकुस–मुकुस घडीमा छापिएको थियो । एउटा साहित्यिक कृतिमा कति शक्ति हुन सक्छ– ‘आमा’ उपन्यासले देखाइदियो । लेनिनले समेत यस उपन्यासको तारिफ गरेका छन् । उपन्यासले एकाएक क्रान्तिकारीहरूमा ऊर्जा सञ्चार गरेको थियो । सङ्घर्षको विजय कथा सुनाएको थियो । दूर क्षितिजमा देखिने आशाको झुल्केघाम देखाएको थियो । लखतरान भई चौतारीमा सुस्ताएका क्रान्तिकारीहरूलाई उत्साहको लौरो थमाएको थियो । रूसी क्रान्तिकारीहरू ‘आमा’को पथमा अघि लम्के र उनीहरूले अक्टोबर क्रान्तिको उज्यालो किरणले आफ्नो देशलाई सिँचे । उपन्यासले असफल क्रान्तिबाट मजदुर वर्ग कसरी विशाल र रोक्नै नसकिने क्रान्तिको तयारी गर्छन् भन्ने पूर्वाभ्यास देखाएको छ ।

‘आमा’ उपन्यास रूसी मजदुर आमाको कथा हो । यो संसारभरका दुःखी आमाहरूको कथा हो । सामन्तवाद र पुँजीवादको निर्मम पर्खालले घेरिएको छ उनको जीवन । उनको शरीर त जिउँदो छ, तर आत्मा मरिसकेको छ । उनमा जीवनप्रति कुनै लगाव छैन । कुनै रहर, कुनै उल्लास छैन । लोग्नेलाई खाना बनाइदिनुछ । दिनभरि कारखानामा घोँटिनु छ । रातमा जँड्याहा लोग्नेको चुटाइ खानु छ । छोराप्रतिको माया मात्र उनको एकमात्र सम्बल हुन्छ, बाँच्नका लागि आशाको मधुरो बत्ती । छोरो पाभेल भूमिगत क्रान्तिकारी गतिविधिमा लाग्छ । अलि–अलि गर्दै आमा उसका विचारहरूबाट प्रभावित हुँदै जान्छिन् । उनको मृतात्मा फेरि ब्यूँतिन्छ । अब उनको आत्मालाई दुनियाँको कुनै शक्तिले दबाउन सक्दैन । उनी क्रान्तिकारी गतिविधिहरूमा ज्यान फालेर लाग्छिन् ।

यस्ता हजारौँ र लाखौँ आमाहरूका कारण पुँजीवाद मरेको र समाजवादी झन्डा फहरिएको थियो थियो रूसमा । अझ रोमाञ्चक कुरा के छ भने गोर्कीले जुन आमालाई यस उपन्यासमार्फत शब्दमा उतारेका थिए, ती आमा क्रान्तिपछि पनि धेरै वर्षसम्म बाँचिरहिन् । जारशाही रूसका मजदुर, किसान र दरिद्र सिपाहीहरू जार, जारका सैन्य जनरल, सामन्त र पुँजीपतिहरूको दोहोरो–तेहेरो शोषणबाट पिल्सिरहेका थिए । मरीमरी मालिकको सेवा ग¥यो, हात लाग्थ्यो शून्य । दिनभरि कलकारखानामा जोतियो, खान पनि नपुग्ने ज्याला पाइन्थ्यो । त्यसमाथि ‘पितातुल्य’ राजाले बेलाबेला करको भारी बढाइरहन्थे । खान पनि पुग्दैनथ्यो ।

रातरातभर रासनपानीका पसल अगाडि लाइनमा बस्यो, हात पथ्र्यो नाममात्रको रोटी । युद्धमा जानै पथ्र्यो । गयो, ज्यान फाल्नुपथ्र्यो वा रोगी र अङ्गभङ्ग भई फर्किनुपथ्र्यो । युद्ध रूसी शासकहरूका लागि मेला वा चाडबाड जस्तै थियो । युद्धमा जितेको जमिन जर्नेल, कर्नेलको मौजा बन्थ्यो । उनीहरू मोजमस्ती गर्थे । यता किसानहरू भने छोराहरूले ज्यान फालेर देशमा थपेको धनीमानीका नयाँ मौजा फाँड्न र खनजोत गर्नमै आफ्ना कैयन पुस्ताको ढाड कुप्राउँथे । गोर्कीको बाल्यकाल यही समाजमा बितेको थियो । ढाँटछल, लोभलालच, पाखण्ड र त्यसले निम्त्याउने मनुष्यहीनताको रजाइँ चल्ने गरेको थियो तत्कालीन रुसी समाजमा । गोर्कीको सेरोफेरोमा भौतिक सरसाधनको मात्र अभाव थिएन, आत्माको सौन्दर्य पनि गायब थियो । गोर्कीले यो कुरा आफ्नो अनौठो बानीले गर्दा थाह पाए । पढ्ने बानीले । उनले देशदेशावरका असल मानिसका बारेमा पढे । विज्ञान, इतिहास र युरोपेली समाज पढे । रूसी साहित्यको सागरमा चुर्लुम्म डुबे । राम्रा–राम्रा कथा, कविता र उपन्यास पढे । तर, गोर्कीको परिवेश पनि कुनै कथाभन्दा कम रोचक थिएन । त्यहाँ चोर, ठग, लोभीपापी, जँड्याहा, वेश्या जस्ता समाजको पिँधमा सर्वाधिक पेलान र चेपानमा पर्ने मानिसहरू थिए । गोर्की तिनका मनोदशासँग किशोर वयमै परिचित भए । त्यसै कारण उनी यो उपन्यास लेख्न सफल भए । यो कृति मात्र नभएर जीवन तथा क्रान्तिको दर्शन पनि हो ।

‘आमा’ उपन्यासको सबैभन्दा महत्त्वपूर्ण निचोड आमाको रूपान्तरण हो । पाभेलकी सामान्य आमाबाट उनी सम्पूर्ण जनताकी आमामा रूपान्तरण हुन्छिन्– यो नै उपन्यासको सार हो । ‘आमा’ उपन्यासमा आमा पेलागेया निलोभ्ना भन्छिन्– ‘जताततै प्रचुर मात्रामा खानेकुराहरू छन्, तैपनि म किन भोकै छु ? जताततै ज्ञानको भण्डार छ, म चाहिँ किन यति मूर्ख र अज्ञानी छु ?.. मानिसहरूले बिस्तारै आफ्नो यस जीवनप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । उनीहरूले आफूले केही नगरी हात बाँधेर बस्ने हो भने अन्यायले आफ्नो नामनिसान मेटिदिनेछ भनी बुझ्न थालेका छन् ।’ रेल्वे स्टेसनमा छोरा पाभेलले अदालतमा दिएको भाषणको पर्चा बाँडिरहेको अवस्थामा जारका प्रहरीले पक्रेर कुट्दा उनी भन्छिन्– ‘रगतको महासागरले पनि सच्चाइलाई डुबाउन सक्दैन ।’

उपन्यासमा आमा निलोभ्ना मात्र नभएर अन्य महिला पात्रहरुको पनि सशक्त भूमिका रहेको छ । आमा मात्र क्रान्तिकारी गतिविधिमा संलग्न हुन्नन्, नाताशा, साशा, लुड्मिल्ला र सोफिया जस्ता क्रान्तिकारी महिलाहरुको समाजवादी क्रान्तिप्रतिको समर्पण भावको उदात्त चित्रण छ उपन्यासमा । यो नवीन युगको उद्घोष थियो– समाजवादी क्रान्तिसँगै महिला मुक्तिको आन्दोलन पनि सँगसँगै अगाडि जान्छ । जारविरोधी सङ्घर्ष कसरी राजतन्त्रलाई विस्थापित गरेर गणतन्त्र स्थापनाको अवस्थासम्म पुग्यो भन्ने कुराको पूर्वाभास यो उपन्यासमा अनुभूत गर्न सकिन्छ । ‘आमा’ उपन्यासले समाजवाद मानव जातिको मुक्तिपथ र क्रान्तिको गोरेटो हो भन्ने देखाएको छ । वास्तवमा मजदुरवर्ग नै क्रान्तिको वास्तविक संवाहक हो, उत्प्रेरक हो र पहलकर्ता हो । मजदुरवर्गका लागि अरुले क्रान्ति गरिदिँदैनन् भन्ने सच्चाइलाई यो उपन्यासमा सटिक रुपमा देखाइएको छ । क्रान्तिले चेतना दिन्छ, खराब मानिसलाई पनि असल मार्गमा लाग्ने प्रेरणा दिन्छ । यो उपन्यास महिला मुक्तिको लागि पथप्रदर्शक कृति हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here