कांग्रेस रूपान्तरण अभियान घोषणा

0
170

काठमाडौँ,

नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसभित्रको कमी कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएकाले रूपान्तरण अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रूपान्तरणको सम्भावना नभएकाले आफूहरूले पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएकाले आफूहरूले राजनीतिलाई नैतिक शक्तिसँग जोड्न अभियान चलाएको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य आचार्यले कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

कांग्रेसको उक्त अभियान जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौँ, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौँमा हुने आचार्यले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाहीलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here