मेचीनगरको बजेट एक अर्ब ५१ करोड १२ लाख बढी

0
145

लक्ष्मी उप्रेती
मेचीनगर,

विपद् तथा मर्मत सम्भार कोषमा पर्याप्त रकम विनियोजन गरी आगामी दिनमा पूर्वाधारहरुको समयमै मर्मत सम्भार गर्न एवम् विपद्को समयमा नगरबासीलाई राहत तथा उद्दारमा सघाउ पुर्याउने तत्परता देखाउँदैं झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमका लागि १ अर्ब ५१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्ताव गरेको छ ।

आइतबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको प्रथम वैठकमा मेचीनगर नगरपालिकाको आर्थिक विधेयक २०८० को विनियोजन विधेयक प्रस्तुत गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०८०/०८१ को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने स्पष्ट पार्नुभयो । विपद् कोषका लागि १ करोड तथा मर्मत सम्भार कोषमा २ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

संवैधानिक प्रावधान अनुसार प्रत्येक वर्षको असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । मेचीनगर नगरपालिकाले निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र दहत्तर बहत्तर स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँको बजेट पेश गर्नुभयो ।,चालु खर्चतर्फ ८५ करोड ७ लाख ७ हजार रुपैयाँ वा कुल बजेटको ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट रहेको छ ।

नगर उपप्रमुख उप्रेतीले चालु खर्चतर्फ ८५ करोड ७ लाख, ७ हजार रुपैयाँ वा ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

जनताका शिक्षा स्वास्थ्य जस्ता मौलिकहकहरुको कार्यान्वयन गर्ने विषयमा होस वा कृषि, पशु, स्वास्थ्य, खानेपानीजस्ता नगरबासीकाआधारभूत आवश्यकताहरुको सम्बोधनकालागि होस् नगरपालिकाले सक्दो प्रयास गरेको छ । कृषितर्फ करीब २ करोड ४८ लाख र पशु विकास तर्फ ४६ लाख गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । शिक्षातर्फ ४२ करोड ७८ लाख छुट्याइएको छ भने स्वास्थ्यतर्फ ७ करोड ४ लाख रुपैयाँ जति विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षामा करिव १ करोड २२ लाख ७० हजार, युवा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख, लैगिक समानता र समाबेशीकरणमा ७७ लाख गरी सामाजिकविकास तर्फ कूल ५४ करोड ८८ लाख रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सडक यातायात भवन आवास लगायतकापूर्वाधारमा करीव ६४ करोड रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । त्यस्तै सुशासन तथा यससँग सम्बन्धित क्षेत्रमा २ करोड ९ लाख रुपैयाँ र कार्यालय सञ्ञ्चालन तथा प्रशासनिकतर्फ २४ करोड २६ लाख रुपैयाँ हारहारीमा रकम छुट्टिएको छ । नदीजन्यपदार्थको उत्खनन् सम्बन्धी ठेक्कालाई समयमा नै विवादरहित एवम् पारदर्शी तवरबाट लगाउन सकिएमा यसबाट प्राप्तहुने राजस्वमा उल्लेखनिय सुधार हुनेमा दुइमत नहुने बताइएको छ । नदी जन्यपदार्थको विक्री वितरणबाट करिव ३ करोड रुपैयाँ तथा घरजग्गा रजिस्ट्रेसनबाट समेत आयहुने अनुमान गरिएको छ ।

आन्तरिक राजस्वको प्रक्षेपणलाई सकेसम्म यथार्थको नजिक राख्ने प्रयाश गरिएको छ । आम जनता तथा व्यवसायीहरुको कर तिर्न सक्ने क्षमता र वास्तविक रुपमा कर तिर्न चाहाने इच्छालाई समेत ध्यानमा राखि राजस्वका नया स्रोतहरुको पहिचान गरिएको र अधिकांशमा करका दरहरु भन्दा करको दायरा बढाउने प्रयाश गरिएको छ । आगामी वर्ष आन्तरिक आम्दानी बढाउने कार्यलाई अभियान कै रुपमा लैजानुपर्ने कुरा सबैलाई महशुस भएको अवस्था छ । यस वर्ष खुम्चिएको आन्तरिक आम्दानी अनि नेपाल सरकार तथा प्रदेश सरकारबाटप्राप्त न्यून वित्तियअनुदानको उच्चतम परिचाल नहुने गरी आगामी वर्षका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन प्रस्ताव गरिएको छ ।

रकमको अभावले चालु बर्षमा पुरा गर्न नसकिने योजनाहरुलाई आगामी वर्ष अल्या योजनाका रुपमा लगि जसरी पनि सम्पन्न गर्नु पर्ने अवस्था भएकोले आ व २०८०/ ८१ का लागि नगर योजना अन्तर्गत नगरपालिकाको आफ्नै स्रोतबाट एउटा पनि थप नयाँ पुर्वाधारका योजनाहरुलाई समावेश गरिएको छैन् । प्रस्तावित रकमहरु नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय हस्तान्तरण र नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोरिएकाहुन् ।

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न विनियोजन विधेयक बनेको हो । नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम र विनियोजन गर्न बाञ्छिनिय भएकोले नेपालको संविधानको धारा २१९ को उपधारा (२) बमोजिम मेचीनगर नगरपालिकाले यो विधेयक बनाएको हो । सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८०/०८१ को निमित्त मेचीनगर नगरपालिका नगरकार्यपालिका, वडा समिति र बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिएको हो ।

कार्यपालिका, वडा समिति र बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिए नगरकार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सकिने विधेयकमा उल्लेख छ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरुबाट अर्काे एक वा एकभन्दा बढी शीर्षकहरुमा रकम सार्न तथा निकासा र खर्च जनाउन सकिने छ । पुँजीगत खर्च र वित्तिय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्चमा सार्न र वित्तय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा हरेक अन्यत्र सार्न नसकिने विधेयकमा स्पष्ट छ । तर, चालु तथा पुँजीगत खर्च र वित्तिय व्यवस्थाको खर्च व्यहोर्ने एक स्रोतबाट अर्काे स्रोतमा रकम सार्न सकिने् छ ।

एक शीर्षकबाट सो शीर्षकमा जम्मा स्वीकृत रकमको १० प्रतिशतभन्दा बढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरुमा रकम सार्नुपर्ने भएमा नगरसभाको स्वीकृत लिनुपर्ने छ । संघीय सांसद् विश्वप्रकाश शर्माले प्रमुख अतिथिको आसनबाट दोस्रो नगर सभाको तेस्रो अधिवेशनको प्रथम वैठकको पालिका परिसरमा भएको जामुनाको विरुवा रोपेर उद्घाटन गर्नुभएको थियो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजका लागि शिक्षा, स्वास्थ्य र रोजगार लाई प्रमुख आधार बनाइएको छ ।

नगरकार्यपालिका सदस्य एवम् वडानम्बर २ का वडाध्यक्ष दीपक वरालले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कोशी प्रदेशसभा सदस्यहरु गोपाल तामाङ्ग, सविना बजगाईँ, नेकपा एमाले मेचीनगर कमिटि इञ्चार्ज चन्द्र प्रसाई , नेपाली काँग्रेस मेचीनगर समिति सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर अध्यक्ष कमल गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ष्ण बास्तोला मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनालगायतले शुभकामना व्यक्त गर्नुभयो । उदघाटन सत्रमा सहभागी सवैलाई उपप्रमुख मीना पोखरेल उप्रेतीले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here