अर्जुनधाराको बजेट ७६ करोड ११ लाख 

0
150
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷०८१को लागि अनुमानित ७६ करोड ११ लाख ८० हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम आइतबार सम्पन्न १३औं नगरसभामा पेश गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन्, २०७४ले आगामी आर्थिक वर्षको राजश्व र व्यय   (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्रावधान अनुसार उक्त बजेट सभामा पेश गरिएको हो ।
नगर प्रमुख एवम् सभाका सभाध्यक्ष बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् बजेट तर्जुमा उपसमितिकी संयोजक खड्गमाया पराजुलीले उक्त बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
विनियोजित बजेटमध्ये नेपाल सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रमतर्फ २८ करोड ३० लाख रुपैयाँ, नेपाल सरकारबाट हस्तान्तरित समपुरक अनुदानतर्फ ९० लाख रुपैयाँ, नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रमतर्फ दुई करोड ४८ लाख ७५ हजार रुपैयाँ, प्रदेश सरकारबाट हस्तान्तरित समपुरक अनुदानतर्फ एक करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी विभिन्न कोषहरुतर्फ छ करोड ७० लाख रुपैयाँ, भूमी व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुतर्फ ४५ लाख रुपैयाँ, नगर गौरवका आयोजनाहरु एक करोड १३ लाख रुपैयाँ, पूर्वाधार विकास सम्बन्धी कार्यक्रमहरुतर्फ दुई करोड ५५ लाख रुपैयाँ, सामाजिक विकास सम्बन्धी कार्यक्रमहरु चार करोड ५५ लाख रुपैयाँ, आर्थिक विकास सम्बन्धी कार्यक्रमहरुतर्फ एक करोड ८७ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरुतर्फ ७५ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकास सम्बन्धी कार्यक्रमहरुतर्फ ७८ लाख रुपैयाँ, वडास्तरिय योजनाहरु नौ करोड ९० लाख रुपैयाँ, प्रशासनिक खर्चतर्फ १३ करोड पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ ।
सभाको अर्को बैठक यही असार १३ गते दिनको २ बजे सञ्चालन हुने सभाका सभाध्यक्ष एवम् प्रमुख तामाङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here