सुरुङ्गा।

कनकाई नगरपालिका -४ कोटीहोमस्थित कनकाई घाटमा निर्मित पाँचौं चितास्थल घाट समितिलाई हस्तान्तरण गरिएको छ ।
शनिबार एक कार्यक्रमका वीच स्वर्गद्वारी घाट तथा विश्रान्ती घर नाम दिइएको उक्त चितास्थल तथा विश्राम घर झापाका चिरपरिचित व्यवसायी मित्तल परिवारले निर्माण गरेका हुन् ।
आफ्ना स्वर्गवासी आफन्त मोहरादेवी, रामलाल, सरमनदेवी, सुरेन्द्र मित्तल लगायतको सम्मान र स्मृतिमा ४५ लाख रुपैयाँको लागतमा विर्तामोड निवासी दिनेश मित्तल, प्रदीप मित्तल, मोहन मित्तल, हनुमान मित्तल, कैलाश मित्तल, ईश्वर मित्तल, राजेश मित्तल, रोशन मित्तल लगायतले निर्माण गरेका हुन् ।
त्यसै गरि, सो अवसरमा रोटरी क्लब अफ सुरुङ्गाको सहकार्यमा घाट सरसफाइ गरिएको थियोे भने घाट परिसरमा वृक्षरोपण पनि गरिएको थियोे । विश्रामस्थल वरिपरि १८ वटा बज्रदन्ती र चितास्थल वरिपरि ६ वटा कपुरका बिरुवा रोपिएका थिए ।
कार्यक्रममा दाता मित्तल परिवार, घाट समिति तथा रोटरी क्लब अफ सुरुङ्गाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियोे ।
कनकाई घाट समितिका अध्यक्ष वेदप्रकाश अग्रवालको अध्यक्षता र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मूल दाता द्वारिकाप्रसाद मित्तलका ज्येष्ठ सुपुत्र दिनेशकुमार मित्तल, मारवाडी सेवा समितिका अध्यक्ष मोहन मित्तल, सम्मानित व्यक्तित्व मेचीनगर निवासी डिल्ली उप्रेती, वार्ड नं. ४ का वार्ड अध्यक्ष रोशन सुवेदी, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
सचिव सुरेश अग्रवाल `भद्रपुरे´ ले स्वागत मन्तव्य राखेकाे कार्यक्रम घाट समितिका महासचिव नारायण ओलीले सञ्चालन गरेका थिए ।






























