झापामा ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’

0
138

बिर्तामोड , झापामा पहिलो पटक स्वास्थ्य सँगै पर्यटन कार्यक्रम ‘हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम’ आयोजना हुने भएको छ ।
नेपाल टुरिजम बोर्डको आयोजना र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स संघ ( नाटा ) कोशी प्रदेश र होटल व्यवसायी संघ झापाको सहआयोजना र बिर्तामोड नगरपालिका सँगको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
आगामी असार १६ गते शनिबार बिर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा आयोजना हुने एक दिवसीय कार्यक्रमका लागि झापाका स्वास्थ्य, होटल र पर्यटन सँग सम्बन्धित ३३ वटा स्टलहरू बुकिङ भइसकेको आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रमका लागि हाल सम्म १२ वटा अस्पताल, ८ वटा होटल, ६ वटा आखा अस्पताल तथा क्लिनिक, ५ वटा दन्त क्लिनिक, १ वटा पर्यटन सम्बन्धी मात्र पढाई हुने क्याम्पस, १ वटा स्वास्थ्य सम्बन्धी क्याम्पस गरि ३३ वटा स्टल बुकिङ भइसकेको नाटाका कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।
उनले भने ‘जम्मा ५० वटा स्टलहरू रहने छन् । स्टल निशुल्क बुकिङ गर्न सकिने छ । कार्यक्रममा आउने अवलोकनकर्तालाई स्वास्थ्य सुविधा अन्तरगत विशेषज्ञबाट प्रेस, सुगर, आखाको निशुल्क परिक्षण शिविर सञ्चालन हुने र चस्मा पनि उपलब्ध गराइने छ ।’
स्वास्थ्य सेवा प्रदायक, बिरामी र पर्यटन उद्योगलगायत विभिन्न सरोकारवालाहरूलाई एकै छानामुनीबाट जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना हुने हेल्थ टुरिजम प्रोमोसन प्रोग्रामबाट नेटवर्किङ अवसर, चिकित्सा सेवाहरूको प्रर्दशनको अवसर, बिरामी शिक्षा र सचेतना, व्यापार विकास र साझेदारी, नेपाललाई टुरिजम गन्तव्यको रुपमा प्रवर्द्धन, आर्थिक प्रभाव, देशको चिकित्सक सेवाहरू प्रर्दशनी गर्न सहयोग बढाउने, चेतना जगाउने र भारतीय बिरामीहरूलाई आकर्षित गर्ने मञ्चको रुपमा काम गर्न सकिने, त्यसैगरी नेपालको स्वास्थ्य सेवा उद्योगलाई प्रवर्द्धन गर्न र यसको आर्थिक वृद्धिमा योगदान पुर्याउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने नेपाल टुरिजम बोर्डका प्रबन्धक सूर्य थपलियाले बताए ।
कार्यक्रममा जिल्लाका उत्कृष्ट हस्पिटलहरु, कोशी प्रदेशका ट्राभल्स, होटेल, होमस्टे र पर्यटन व्यवसायीहरूको स्टल रहने र सो दिन भारतको पश्चिम बंगाल र बिहारका पर्यटन व्यवसायी, पत्रकार गरि ४० भन्दा धेरैको सहभागिता रहने नाटाका महासचिव नवीन खरेलले जानकारी दिए ।
होटल व्यवसायी संघको कार्यलयमा भएको पत्रकार भेटघाटमा पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरज कट्टेल, होटल व्यवसायी संघका महासचिव शिवराज पौडेल, साइकिलिङ पर्यटन अभियन्ता आकाश श्रेष्ठलगायतले कार्यक्रमको औचित्यमाथि धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here