रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

0
114

झापा ।

दक्षिणी झापाको कचनकवल–७ बालुवाडीस्थित साना किसान कृषि सहकारी संस्थाको रकम हिनामिना गर्नेलाई कानून बमोजिम कडा कारबाहीको माग गर्दै नेकपा (माओवादी केन्द्र) कचनकवलले ज्ञापन–पत्र बुझाएको छ ।

सहकारी संस्थाका प्रबन्धक युवराज खत्रीले करिब दुई करोड रकम हिनामिना गरी फरार रहेकोले उनलाई तत्काल पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राख्दै नेकपा (माओवादी केन्द्र) कचनकवलका अध्यक्ष शुकराज लिम्बू (किरण) र सचिव मोती राजवंशीले गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई मंगलवार सो ज्ञापन–पत्र बुझाएका हुन् ।

ज्ञापन–पत्रमा भनिएको छ– गाउँपालिकाका गरीब, निमुखा किसानहरूले आफ्नो छाक काटेर जम्मा गरेको रकम फिर्ता लिन जाँदा नपाएको भनी पीडितहरूको गुनासो गरेका छन् ।

साथै संस्थाको ठूलो रकम व्यवस्थापन पक्षको चरम लापरबाहीका कारण भ्रष्टाचार तथा हिनामिना गरी समग्र संस्था नै धरापमा परेकोले उक्त संस्था र गरीब किसानहरूको बचत रकम सुरक्षित गर्न अति जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । संस्थाको सत्यतथ्य घटना बाहिर ल्याई पीडितहरुलाईं न्याय र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भनी जोडदार माग गर्दछौँ । अन्यथा हाम्रो पार्टी मुकदर्शक बनेर बस्न नसक्ने र चरणबद्ध आन्दोलनसहित कानूनी उपचारको बाटोमा जाने ज्ञापन–पत्रमा उल्लेख छ ।

यता गाउँपालिकाले हिनामिनामा संलग्नलाई कारबाही गर्न प्रहरीलाई सिफारिस गरिसकेको जनाइएको छ । कचनकवल–७ स्थायी ठेगाना भएका संस्थाका प्रबन्धक खत्री गत चैत ११ गतेदेखि रकम हिनामिना गरी फरार भएका हुन् । सहायक प्रबन्धक निरुमाया राजवंशीसँग मिलेर दुवैले त्यति रकम हिनामिना गरेको खुल्न आएको बताइएको छ । प्रबन्धक खत्री र सहायक प्रबन्धक राजवंशीले करिब दुई करोड रुपैयाँ हिनामिना गरेको स्वीकार गर्दै मञ्जुरीनामा गरेका छन् ।

सहकारी ऐनको दफा १२२ अनुसार कसुरदार देखिएका दुवैलाई कानूनी कारबाही गर्न प्रहरीलाई सिफारिस गरिएको गाउँपालिकाका सहकारी शाखाका गौरव रिजालले जानकारी दिए । दुवैले कृत्रिम ऋणी खडा गरी सदस्यहरूको त्यति धेरै रकम हिनामिना गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here