शिवसताक्षीमा डेंगु नियन्त्रण अभियान शुरु

0
127

शिवसताक्षी ।

बर्खायामको समय भएका कारण लामखुट्टेको टोकाइबाट लाग्ने र सर्ने डेंगु पूर्वका विभिन्न ठाउँमा फैलिन थालेको छ ।

शिवसताक्षी नगरपालिकाले पनि डेंगु नियन्त्रणका लागि डेंगु नियन्त्रण अभियान शुरु गरेको छ । शिवसताक्षी नगरको दूधे बजारमा नगर प्रमुख मेघाहाङ्ग थोप्रासहित स्वास्थ्य शाखाको टिम, वडा नं. ९, वडा नं. ११, दूधे बजार विकास समिति र बजारबासीले दूधे बजार वरपर लामखुट्टेको बासस्थान नष्ट गरेको हो ।

बजार वरपर फोहोर र बट्टा, पानीका बोतल, ड्रम, टायर भएका ठाउँहरु पहिचान गरी त्यस्ता स्थानहरुलाई लामखुट्टेले लार्भा पार्न नसक्ने गरी नष्ट गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबारबाट नगरका सबै वडाका बजारहरुमा लामखुट्टेको बासस्थान नष्ट गर्ने बताए । नगरपालिकाले सामाजिक सञ्जाल र माइकिङ्ग गरी नागरिकहरुलाई आफ्नो घर वरपर लामखुट्टे बासस्थान पहिचान गरी नष्ट गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रणका लागि विषादी र विषादीयुक्त धुँवा छर्किने भन्दा लामखुट्टेको बासस्थान नै नष्ट गरे मात्र प्रभावकारी हुने देखिएपछि नगरले यो अभियान शुरु गरेको नगर प्रमुख थोप्राले जानकारी दिए । उनले डेंगु विरामी गाउँमा भन्दा सहर बजारमा बढी देखिने भएकाले पनि पहिले बजार क्षेत्रलाई प्राथमिकतामा राखेर अभियान चलाएको बताए ।

दूधे बजार विकास समितिका अध्यक्ष सन्तोषकुमार थोप्राका अनुसार अभियान चलाएरभन्दा पनि आम नागरिक सचेत भएर आफ्नो वरपरको भागमा पानी जम्न नदिने र सरसफाईमा ध्यान दिने हो भने न्यूनीकरण गर्न सक्ने बताएका छन् । झापामा डेंगुको संक्रमण बढ्न थालेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here