लक्ष्मी उप्रेती
मेचीनगर ।

झापा कमल गाउँपालिका -५ का हरिप्रसाद शर्मा ‐नाम परिवर्तन) ले सोहि ठाउँका कमलराज कार्की ‐नाम परिवर्तन) लाई ३ असार २०७९ मा ५ लाख रुपैयाँको कुनै एउटा बैंकको चेक दिनुभयो । कार्कीले शर्मालाई ३ महिनाअघि सापटी स्वरुप ५ लाख रुपैयाँ दिनुभएको थियो । तर, चेक बोकेर कार्की पटक पटक सम्बन्धित बैंक पुगे पनि शर्माको खातामा पैसा नभएपछि कार्की न्यायका लागि प्रहरी कार्यालय पुग्नु भयो र बाउन्स चेक दिएको कसुरमा शर्मालाई प्रहरीले पक्राउ गर्यो ।
मेचीनगर—७ का बशन्तलाल थापा ‐नाम परिवर्तन) पनि बाउन्स चेक कसुरमा पक्राउ परी धरौटी रकम बुझाएर भरखरमात्र छुट्नुभयो । शिवसताक्षीका सुन्दरकुमार लावती ‐नाम परिवर्तन) लाई समेत बाउन्स चेक दिएको अभियोगमा पक्राउ परी धरौटीमा छुट्नुभएको थियो ।
यी त केही प्रतिनिधि घटनामात्र हुन् आर्थिक अपराधका । पछिल्ला वर्षहरूमा आर्थिक अपराधका घटना उच्च दरले बढेको छ । त्यसमा पनि बैंकिङ कसुरका मुद्दा त झण्डै ६० प्रतिशतले बृद्घि भएको छ । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायत गतिविधिमा बढोत्तरी आएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ । बैंकिङ कारोबारसँगै बैंकिङ कसुरका मुद्दा पनि बढेको प्रहरीको अनुमान छ । प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप दोब्बरभन्दा धेरै भएको छ । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशत बढीले बढेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले स्पष्ट पारेको छ ।
कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९÷०८० मा आर्थिक अपराध सम्बन्धिका २ सय ९४ वटा मुद्घा दर्ता भएका थिए । ती मध्ये ५१ वटा ठगीका थिए भने २ सय ४३ वटा सय बैंकिङ कसुरका रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७८/०७९ मा आर्थिक अपराध सम्बन्धिका १ सय ७० वटा मुद्घा दर्ता भएका थिए । कुल दर्ता भएका मुद्घा मध्ये १ सय ४६ वटा बैंकिङ कसुर र बाँकी ठगीका रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजालले बताउँनुभयो । बैंकिङ कसुरका सवे बाउन्स चेकसँग सम्बन्धित रहेको प्रहरीको अभिलेखले देखाएको छ ।
पछिल्लो आर्थिक मन्दीले चेक बाउन्सका घटनासँगै बैंकिङ कसुरका मुद्दा बढेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी अधिकारीका अनुसार बैंकिङ कसुरका मुद्घामध्ये सत प्रतिशत चेक बाउन्ससम्बन्धी छन् । ‘आर्थिक मन्दीको असरले पनि पछिल्लो समय चेक बाउन्सका मुद्घा बढे’ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो ‘ यसरी बढ्दै जाने हो भने चालु आर्थिक वर्ष ०८०/०८१ मा ५ सय बढी पुग्ने अनुमान गर्न सकिन्छ । ’
आर्थिक वर्ष ०७८/०७९ मा ठगीका २४ र बैंकिङ कसुर चेक बाउन्सका १ सय ४६ वटा सवै मुद्घा फछयौँट भएका छन् । गत आर्थिक वर्ष वर्ष ०७९/०८० मा आर्थिक अपराध सम्बन्धिका २ सय ९४ वटा मुद्घा मध्ये ठगीका १८ र बैंकिङ कसुर चेक बाउन्सका ९३ वटामात्र फछयौँट भएका छन् ।
बैंकिङ कसुर चेक बाउन्सका १ सय ५० र ठगीका ३३ गरी कुल १ सय ८३ वटा चालु आर्थिक वर्षमा सरी आएका छन् । जिल्लामा मुद्घा संख्या बढेपछि फछौँटको अवस्था निकै कमजोर रहेको देखिन्छ । प्रहरीले पीडितले दिएको जाहेरीका आधारमा आर्थिक वर्ष ०७८/०७९ मा ठगीका एकजना विदेशी पुरुषहित ८ र बैंकिङ कसुर चेक बाउन्समा एकमहिलासहित १६ गरी कुल २४ जनालाई पक्राउ गरेको थियो ।
गत आर्थिक वर्ष वर्ष ०७९/०८० मा बैंकिङ कसुर चेक बाउन्समा चारजना पुरुषलाई ठगीमा २३ गरी २७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको अभिलेख अनुसार आर्थिक वर्ष ०७८÷०७९ र ०७९÷०८० को दुईवर्षमा ठगी र बैंकिङ कसुर चेक बाउन्सका ४ सय ६४ वटा मुद्घा दर्ता भएकोमा २ सय ८१ वटा फछयौँट भएर १ सय ८३ वटा चालु आवमा सरी आएका छन् । सो घटनाको अभियोगमा ३ विदेशी पुरुष, ४२ स्वदेशी पुरुष र ६ महिलासहित ५१ जना पक्राउ परेका थिए ।
पीडितको उजुरीका आधारमा यसमा संलग्नलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान पश्चात अदालतमा पठउाने र अदालतले धरौटी खुलाएर माग गरेपछि माग अनुसारको धरौटी बुझाएर अधिकाँश छुट्ने गरेको प्रहरीको भनाई छ । अदालतले खुलाएको धरौटी रकम बुझाउँन नसक्ने थोरै मात्र कारागार जाने गरेको प्रहरीले जनाएको छ ।
कतिपय चेक बाउन्सका मुद्घा आर्थिक अपराधसँग जोडिने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिनेलगायत नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका पनि पर्ने गरेका छन् । वैदेशिक रोजगार ठगीसँगै चेक बाउन्स बढेको एकजना प्रहरी अनुसनधान अधिकृतको भनाई छ । कतिपयलाई चेक बाउन्ससम्बन्धी मुद्घामाहुने सजाय थाहा नपाएर थोरै पैसा लिएर खाली चेक दिने र त्यसमा वास्तविकभन्दा धेरै भरेर पनि प्रहरीमा पुग्ने गरेको अनुभव प्रहरीसँग छ ।
सामान तथा सेवाको भुक्तानी नदिने, व्यावसायिक साझेदारीका नाममा धोका दिनेजस्ता घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्घा पनि प्रहरीमा पुग्ने गरेका छन् । फिल्म बनाउन पैसा हाल्न लगाएर निर्माताले नै ठगी गरी खातामा पैसा नभई दिएका चेकसम्बन्धी घटनासमेत जिल्लाका पालिका स्तरीय न्यायिक समितिमा पुग्ने गरेका छन् ।
विगतमा चेक बाउन्सका घटनामा सीधै सर्वसाधारण चेक अनादार मुद्घा दायर लिएर अदालत जान्थे । अदालत जाँदा अदालतको शुल्क तथा कानुन व्यवसायीमा खर्च हुने भएकाले अहिले सीधै प्रहरीमा जाने प्रवृत्ति बढेको प्रहरीको भनाई । अर्काेतर्फ आरोपीलाई थुनामा राखेर पैसा तिराउने प्रवृत्ति पनि छ । केही वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा बैंकिङ कसुरका घटना बढ्दो छ । विगतका तुलनामा कसुरको प्रकृति भने बदलिएको प्रहरीको बुझाई छ ।
विगतमा बैंक सञ्चालकलगायत उच्चपदस्थ अधिकारीहरूकै कारणले हिनामिनाका घटना धेरै हुन्थे । अचेल अधिकांश घटनाहरू प्रविधिसँग सम्बन्धित रहेको विज्ञहरू बताउँछन् । पछिल्लो समयमा भएका अधिकांश बैंकिङ कसुरहरू एटीएम कार्ड, इन्टरनेट बैंकिङ, स्विफ्टसँग सम्बन्धित भए पनि जिल्लमा यस्ता घटना नभएको प्रहरीको भनाई छ ।






























