अर्जुनधारा ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा नगर समितिले झापाको अर्जुनधारा–७स्थित शनिश्चरे बहुमुखी क्याम्पस प्रशासनलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
पार्टी नगर समिति सदस्य विजय कुँवर नेतृत्वको टोलीले क्याम्पस प्रमुख मोहनप्रसाद ओलीलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा क्याम्पसमा विगत केही महिनादेखि नियमित एवम् प्रभावकारी शिक्षण नभएको, क्याम्पस प्रशासन फितलो रहेको, प्राध्यापक एवम् कर्मचारीहरुलाई नियमित रुपमा तलब भुक्तान नभएको, सम्बन्धित सबै पक्षहरुबिच तालमेल नभएकोलगायतका बुँदाहरु उल्लेख गरेका छन् ।
त्यसैगरी कुनै पनि व्यक्ति, पार्टीबाट अनावश्यक प्रभावमा परेर विद्यार्थीहरुको भविष्यमा खेलबाड हुने खालको कुनै कार्य नगर्न क्याम्पस प्रशासनलाई पत्रमार्फत् पार्टीले अनुरोध गरेको छ ।
पार्टीले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आफूहरु गम्भिर छलफल गरि सचेत भएर कार्य गर्ने क्याम्पस प्रमुख ओलीलाई उद्धरीत गर्दै सदस्य कुँवरले बताए ।






























