नेपालीको दोस्रो ठूलो र महत्वपूर्ण चाड तिहार आजदेखि घर–घर भित्रिएको छ । धन त्रयोदशीदेखि शुरु हुने भाइटीकासम्मका दिनलाई यमपञ्चक भनिन्छ, जसको शुरुवात आजदेखि भएको हो । यमपञ्चकका हरेक दिनको आ–आफ्नै महत्व छ र अलग–अलग मान्यता रहेका छन् । लौकिक प्रचलन र मान्यता अनुसार तिहारका लागि आवश्यक पर्ने वस्तु खरिद गर्नका लागि यस दिनलाई उत्तम मानिन्छ । काग तिहार भनिने यो दिन अति चतुर पक्षी कागलाई विशेष पूजा गरिन्छ । काग सर्वभक्षी प्राणी हो, जसले मानिसका शत्रुजीवलाई खाइदिएर अन्नबालीलाई जोगाउने काम गर्छ । यमराजको सन्देश बाहक मानिने कागलाई प्रशन्न पार्न सकिए यमराज पनि खुशी हुने र वातावरणको समेत रक्षा हुने लौकिक तथा वैज्ञानिक मान्यता छ ।
यमपञ्चकको दोस्रो दिन यमराजको दूतका रुपमा लिइएको कुकुरको पूजा गर्ने प्रचलन छ । यमराजको प्रियभक्त कुकुर आज्ञापालक, रक्षक तथा अनुसन्धानक समेत मानिन्छ । घरको रेखदेखदेखि प्राकृतिक प्रकोपको पूर्व सूचना दिन सक्ने जीव कुकुरलाई भैरवको बाहन समेत मानिएको छ । त्यहीकारण यमपञ्चकका पाँच दिनमध्ये एक दिन कुकुरप्रति समर्पित छ । त्यसैगरी यमपञ्चकमै वैदिक सनातनी परम्परा र हिन्दू धर्म अनुसार माता सरहकी गाईको विशेष पूजा गरिन्छ । यही परम्परा अनुसार गाईको गहुँत र गोबरलाई स्वच्छता र पवित्रताको प्रतीकका रुपमा लिइन्छ । हाम्रा सनातनी प्रचलन अनुसार लक्ष्मी स्वरुपा गाईलाई मीठो खुवाएर, पूजा आराधना गरेर धन र ऐश्वर्यकी देवी लक्ष्मीको कृपादृष्टिको अपेक्षा गरिन्छ ।
गोरु तिहार र भाइटीका तिहारका अन्य विशेष दिन हुन् । दाजु यमराजलाई बहिनी यमुनाले आमन्त्रण गरेर यी पाँच दिन दाजुको सेवा सत्कार गरेको धार्मिक कथन छ । यमपञ्चकको अन्तिम दिन दाजुको विशेष पूजा गरेर यमुनाले सबै दिदी–बहिनीलाई दाजुभाइप्रति प्रेम श्रद्धासहित सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्न प्रेरित गरेको मानिन्छ । उज्यालोको पर्व समेत भनिने तिहारले हामी सबैको अज्ञानतारुपी अन्धकार मनमा प्रकाश छर्न सकोस् । संसारका सबै दिदीभाइ र दाजुबहिनीका बीच हार्दिक एवम् पवित्र प्रेम सम्बन्धको श्रीवृद्धि होस् सबैको अन्तस्करणमा उज्यालो दीपको आलोक प्रकाशवान होस्, तिहारको पूर्वसन्ध्यामा सबैलाई शुभकामना ।